नयाँघरेको ‘हरियो राहदानी’ लोकार्पित

काठमाडौं : जब निबन्धमा कथाका तत्त्वहरू बग्रेल्ती मिसिएर आउँछन् र निबन्ध पढिरहँदा आख्यानजस्तो स्वाद आउन थाल्छ, त्यतिबेला
त्यो रचनालाई के भन्ने ? मदन पुरस्कार गुठीका अध्यक्ष तथा वरिष्ठ निबन्धकार कमलमणि दीक्षितले बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा यो प्रश्न तेस्र्याए, ‘तारानाथ शर्माको पुस्तक ‘बेलाइततिर बरालिँदा’ पढेपछि भाषाविद् बालकृष्ण पोखरेलले ‘नियात्रा’ भनेर
नयाँ शब्द चल्तीमा ल्याए,
त्यसैगरी निबन्ध र कथाको दोसाँधमा उभिएका रचनालाई के ‘निकथा’ भन्ने ?’ उनले यसको जवाफ खोज्ने दायित्व भाषाशास्त्रीहरूतिर हुर्‍र्याए ।
दीक्षितले यो प्रसंग झिकेका थिए, पछिल्ला दुई दशकभन्दा बढी समयदेखि निबन्ध र यात्रा साहित्य सिर्जनामा एकचित्त भएर रमाउँदै आएका युवराज नयाँघरेको दसौँ कृति ‘हरियो राहदानी’ लोकार्पण भएको अवसरमा । दीक्षित र गैरआवासीय नेपाली महासंघका अध्यक्ष जीवा लामिछानेले संयुक्तरूपमा कृति लोकार्पण गरे । पुस्तकमा भूमिका लेखक बनेर उदाएका लामिछानेले कृतिमा पाठक मर्माहत हुने क्षण र प्रसंगहरू निकै रहेको उल्लेख गरे ।
लेखक तथा मधुपर्कका सम्पादक वसन्तप्रकाश उपाध्याय, वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बलबहादुर तामाङ, रोजगार मिडिया प्रालिका प्रबन्ध निर्देशक उद्धव भट्टराई र फेसिलिटेटर पत्रकार जगदीश खरेलसमेतले सम्बोधन गरेको कार्यक्रममा कृतिकार नयाँघरेले आफ्नो नयाँ पुस्तक विदेशमा श्रम र सिप खर्चिरहेका नेपालीहरूका लागि मल्हम होस् भनेर लेखिएकाले उनीहरूप्रति नै समर्पण रहेको बताए । विभिन्न ३५ शीर्षकका साना–साना ललित निबन्धसंग्रह ‘हरियो राहदानी’ १ सय ६० पृष्ठमा समेटिएको छ । (सौस)

प्रतिक्रिया