नेपाल उपाधिनजिक, फाइनलमा युएईविरूद्ध भिड्ने

काठमाडौं, २५ असोज । कठिन भिडन्तमा मलेसियालाई २१ रनले पराजित गर्दै नेपाल लगातार दोस्रो र समग्रमा तेस्रोपटक एसिसी ट्रफी एलिटकपको फाइनलमा प्रवेश गरेको छ । सिनियरतर्फ एसिसीका मेजर प्रतियोगिताको उपाधि हालसम्म नजिते पनि यसबीचमा पटकपटक नजिक पुगेको नेपाल बुधबार प्राप्त उक्त नतिजासँगै पुन: ऐतिहासिक खडेरी चिर्ने अवसरको नजिक भएको हो ।
नेपालले अब शुक्रबार हुने फाइनलमा युएईसँग प्रतिस्पर्धा गर्नेछ । बुधबार भएको अर्को सेमिफाइनलमा भरखरै टी–ट्वान्टी विश्वकप खेलेको अफगानिस्तान युएईविरुद्ध आठ विकेटले पराजित भएको थियो । पहिला ब्याटिङ गरेको अफगानिस्तान केवल ७० रनमै समेटिएको थियो ।
युएईमा सञ्चालन भइरहेको यस प्रतियोगितामा वर्षाका कारण ४५ ओभरमा घटाइएको इनिङमा नेपालले कप्तान पारस खड्काको सानदार प्रदर्शनपछि २४२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । बलियो जवाफ फर्काए पनि लयमा रहेका मलेसियाली ब्याट्सम्यान एकपछि अर्को गरी आउट भएपछि टोलीले नौ विकेट गुमाउँदै २२० रन मात्र जोडयो । मलेसियाले १७० रन जोडेको अवस्थामा वसन्त रेग्मीले ४३ रनमा खेलिरहेका कप्तान सुहान कुमारलाई पाँचाँै विकेटका रूपमा आउट गरेपछि ४५ रनको साझेदारी तोडिएको थियो र त्यससँगै बीचमा विपक्षीतर्फ ढल्किएको खेल नेपालको पक्षमा ढल्न सुरु भएको थियो । लगत्तैको ओभर ३९आँै ओभरमा दोस्रो स्पेल सुरु गरेका शक्ति गौचनले नयाँ ब्याट्सम्यान अमिनुद्दिन राम्लीलाई एलबिडब्लु आउट गरी पहिलो बलमै सफलता हात पारे । लयमा रहेका अर्का ब्याट्सम्यान–विकेटकिपर सफिक सरिफ ४२ रनको निजी स्कोरमा खड्काद्वारा आउट भएपछि ४१.२ ओभरमा २०१–७ को स्थितिमा पुगेको मलेसिया लगभग जितबाट टाढिएको थियो ।
यसअघि प्रारम्भिक ब्याट्सम्यान अनवर अरुद्दिन ६ रनको निजी स्कोरमा अमृत भट्टराईद्वारा आउट भए पनि मलेसियाले सम्हालिएर ब्याटिङ गर्‍यो । अर्का ओपनर फैजल अबु हसन (३३) र अहमद फैज (२९) बीच दोस्रो विकेटका लागि ६० रनको साझेदारी भए पनि यी दुवै ब्याट्सम्यान आठ रनको अन्तरमा आउट भए । हसन, स्पिनर भुवन कार्की र फैज, गौचनको सिकार बनेका थिए । चौथो विकेटका लागि भएको ४६ रनको साझेदारी पृथु बास्कोटाले खिजार हायात
(२३) लाई आउट गरी तोडेका थिए ।
बलिङतर्फ नेपालका बास्कोटाले तीन तथा गौचनले दुई विकेट लिए । त्यस्तै भट्टराई, खड्का, रेग्मी र कार्कीको नाममा पनि समान एक विकेट रहयो । प्रतियोगितामा गौचनको विकेटसंख्या ११ र रेग्मीको १० पुगेको छ । ६ ओभरमा ४५ रन खर्चिएका खड्का नेपालका लागि सबैभन्दा महंगा बलर भए ।
टस हारी ब्याटिङको निम्ता पाएको नेपालका दुवै प्रारम्भिक ब्याट्सम्यानले दोहोरो अंक छुन नसके पनि पारससहित भरपर्दा अन्य सबै ब्याट्सम्यानले जमेर खेले । अघिल्ला तीन खेलमा एक शतक र एक अर्धशतक बनाएका खड्काले यस खेलमा ८९ रनको इनिङ खेले । लयमा रहेका अन्य खेलाडीमा ज्ञानेन्द्र मल्लले ३४ रन जोडे । सुधारिएको प्रदर्शन गर्दै शरद भेषवाकरले ३७ रन बनाए । लगातार दोस्रो खेलमा आक्रामक इनिङ खेलेका बास्कोटाले मलेसियाविरुद्ध २१ बल सामना गर्दै तीन चौका र दुई छक्काको मद्दतमा ३४ रन जोडे । तेस्रो विकेटका लागि मल्लसँग ११२ रनको साझेदारी गरेका खड्का अनवर रहमानको बलमा लङअनमा क्याचआउट भएका थिए । उनले ९६ बलको सामना गर्दै १० चौका र एक छक्का प्रहार गरे । समूहचरणको दोस्रो खेलमा कुवेतविरुद्ध १०६ रन जोडेका उनले मंगलबार हङकङविरुद्ध ६१ रन जोड्नुअघि खेलिएको साउदी अरबविरुद्ध भने ब्याटिङ नै गर्न आउनुपरेको थिएन । लगातारको सानदार प्रदर्शनकै यात्रामा पारस मलेसियाविरुद्ध पनि म्यान अफ द म्याच भए ।
गत संस्करणमा फाइनलमा अफगानिस्तानसँग पराजित हुनुअघि नेपाल सन् २००२ को संस्करणमा पनि फाइनलमा पुगेको थियो तर युएईको फाइनल चुनौती भने पन्छाउन सकेको थिएन । जारी संस्करणको समूहचरणमा युएईलाई हराएको नेपाल पहिलोपटक सिनियर एकदिवसीय क्रिकेटमा युएईविरुद्ध जित हात पार्न सफल भएको थियो ।

प्रतिक्रिया