कांग्रेसका तीन नेताका तीनथरी कुरा

कैलाली, २५ असोज । कांग्रेसका तीन शीर्षनेताले संविधानसभा पुन:स्थापना वा चुनाव भन्नेमा एकै कार्यक्रममा फरकफरक अभिव्यक्ति दिएका छन् । टीकापुरमा बुधबार आयोजित सभालाई सम्बोधन गर्ने क्रममा शीर्ष तीन नेताले तीनथरी धारणा व्यक्त गरेका हुन् ।
पार्टी उपसभापति रामचन्द्र पौडेलले ताजा जनादेशका लागि नयाँ चुनावमा जानुपर्ने बताए भने वरिष्ठ नेता शेरबहादुर देउवाले संविधान पुन:स्थापना हुनुपर्ने दोहोर्‍याए । सभापति सुशील कोइरालाले चुनाव वा पुन:स्थापनाको निर्णय गर्ने निकाय भएकाले नेताका कुरा सुनेर निराश नहुन कार्यकर्तालाई आग्रह गरे । चुनाव वा संविधानसभा पुन:स्थापनामा जाने भन्ने निर्णय पार्टीले गर्ने सभापति कोइरालाको भनाइ थियो ।
‘पार्टीले निर्णय गर्नेछ, तपाईंहरू आत्तिनुपर्दैन,’ कोइरालाले भने । संविधानसभा पुन:स्थापना भए अस्थिरता बढ्ने उल्लेख गर्दै उनले चुनावमा जानुपर्ने जनाउ दिएका थिए । लोकतन्त्रमा विचार राख्ने छुट सबैलाई भएकाले व्यक्त विचार नेताहरूका निजी भएको उनको स्पष्टोक्ति थियो ।
वरिष्ठ नेता देउवाले संविधानसभा पुन:स्थापना गरी संविधान जारी हुनुपर्ने र त्यसपछि मात्र चुनावमा जानुपर्ने धारणा राखे । फेरि संविधानसभा चुनावमा जाने कुरा मुलुकको हितमा नहुने देउवाले बताए । ‘संविधानसभा पुन:स्थापना गरेर संविधान बनाऊँ अनि मात्रै निर्वाचनमा जाऔँ,’ उनले भने, ‘यसो गर्दा सबैको हितमा हुन्छ ।’
उपसभापति पौडेलले ताजा जनादेशका लागि चुनाव नै उत्तम विकल्प हुने बताए । पार्टीका युवानेता गगन थापाले ताजा जनादेशमा जान डराउन नहुने बताए । ताजा जनादेशमा जान लाखाँै युवा तयार रहेको उनको भनाइ थियो । ‘एउटै भाषा र बोली बनाएर अघि बढ्नुस्,’ शीर्षनेताहरूलाई उनले भने, ‘भोकभोकै कांग्रेसका पक्षमा जनाधार बनाउन तयार छौँ ।’
कांग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रम उद्घाटनका क्रममा नेताहरूले फरकफरक धारणा व्यक्त गरेका हुन् । कोइरालाले प्रजातन्त्र दिगो हुन नसकेका कारण मुलुकमा अस्थिरता उत्पन्न भएको बताए । उनले प्रजातन्त्रविरुद्ध जानेहरू सबै समाप्त भएर जाने ठोकुवा गरे । कार्यक्रमको संयोजन गरेको कांग्रेस क्षेत्र नम्बर–१ ले तीन शीर्षनेतालाई एउटै माला पहिर्‍याएका थिए । एउटै माला पहिर्‍याएपछि कार्यक्रममा उपस्थित नेता–कार्यकर्ताले एउटै विचारमा अघि बढ्न शीर्षनेताहरूलाई आग्रह गरेका थिए । कार्यक्रममा पार्टी महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालगायत नेताहरूले पनि सम्बोधन गरेका थिए ।

प्रतिक्रिया