विनाइजाजत ढुंगा–गिट्टी झिक्न नपाइने

इलाम : मेची राजमार्ग आसपासका खानीबाट ढुंगा तथा गिट्टी झिक्न नपाइने भएको छ । जिल्ला दैवीप्रकोप उद्धार समितिको बुधबार भएको बैठकले राजमार्गका किनारामा रहेका खानीबाट जथाभावी गिट्टी तथा ढुंगा निकाल्दा पहिरो गएको निष्कर्ष निकाल्दै यस्ता सामग्री निकाल्न प्रतिबन्ध लगाउने निर्णय गरेको हो । प्रशासनले मेची राजमार्गअन्तर्गत झापाको सुनमाईदेखि पाँचथरको राँके सडकखण्डको राजमार्ग आसपासका विनाइजाजत ढुंगा निकाल्न रोक लगाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
त्यस्तै, जिल्लाका सार्वजनिक तथा निजी जग्गाबाट ढुंगा निकाल्नुपर्दा समेत सम्बन्धित निकायको अनुमति अनिवार्य लिनुपर्नेछ । सहायक सिडिओ पुरुषोत्तम घिमिरेले विनाइजाजत खानीबाट जथाभावी ढुंगा निकाल्नेलाई कारबाही गरिने बताए । इलामको कोल्बुङ–२ स्थित हर्कटे–हाँसपोखरी क्षेत्रमा सडक डिभिजन कार्यालय तथा स्थानीयले जथाभावी ढुंगा निकाल्ने गरेका कारण एक साताअघि विनाशकारी पहिरो गएको हुन सक्ने पनि बैठकले निष्कर्ष निकालेको छ ।
पछिल्लो समयमा मेची राजमार्गको माईखोला, गोलाखर्क, चुरेघाँटी, गोदकको मालबाँसे भीरलगायत क्षेत्रमा ढुंगा, गिट्टी झिक्ने क्रम बढेकाले सडकमा समस्या देखिन थालेको बताइएको छ । (सौस)

प्रतिक्रिया