हङकङलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं, २४ असोज । समूहको अन्तिम खेलमा मंगलबार बलियो प्रतिस्पर्धी हङकङलाई पराजित गर्दै साविक उपविजेता नेपाल युएईमा जारी एसिसी ट्रफी एलिटकपको सेमिफाइनलमा प्रवेश गरेको छ । हङकङलाई १२५ रनले पराजित गर्दै समूहविजेता बनेको नेपाल सेमिफाइनलमा अफगानिस्तानविरुद्ध भिड्नुनपर्ने भएको छ ।
समान ६ अंक भएको युएई हेड–टु–हेडका आधारमा नेपालभन्दा पछि रहयो । नेट रनरेटमा युएई नेपालभन्दा अगाडि रहे पनि समान अंक भएको अवस्थामा हेड–टु–हेडका आधारमा निर्णय लिने एसिसीको नयाँ नियमका आधारमा नेपालले फाइनलमा मात्र अफगानिस्तानसँग भिड्नुपर्ने भएको हो । समूहमा एक–एक हार व्यहोरेका नेपालले कुवेतविरुद्ध र युएईले नेपालविरुद्ध उक्त नतिजाको सामना गरेका थिए ।
हङकङविरुद्ध लामो समयदेखि प्रभावशाली रहँदै आएको नेपाललाई त्यसको निरन्तरता दिलाउने क्रममा कप्तान पारस खड्काले उत्कृष्ट लयलाई कायम राख्दै अलराउन्ड प्रदर्शन गरे भने अमृत भट्टराई र वसन्त रेग्मीले तीन/तीन विकेट लिएर हङकङलाई सस्तैमा सीमित गरे । खड्काको अर्धशतकीय इनिङपछि नेपालले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २२५ रन जोडेको थियो । खड्काले ६१ रन जोडे भने अनिल मण्डलले ३७, ज्ञानेन्द्र मल्लले २८, वसन्त रेग्मीले ३१, प्रदीप ऐरीले २५ रन बनाए ।
नेपालको इनिङ प्रतिस्पर्धात्मक योगफलका रूपमा हेरिए पनि जित्नैपर्ने दबाबमा रहेको हङकङ भने ३७ ओभरमै ढल्यो । हङकङका पाँच खेलाडीले खाता खोल्न सकेनन् भने चार खेलाडीले मात्र दोहोरो अंक छुन सके । नेपालको कसिलो बलिङसामु हङकङ कुनै समय पनि खुलेर खेल्न सकेन । पहिलो खेलमा युएईविरुद्ध खेलेयता पहिलोपटक खेलेका अमृतले पहिलो ओभरमै मेडन विकेट राखेर हङकङलाई दबाब दिन सुरु गरेका थिए । विस्फोटक ब्याट्सम्यान इरफान अहमद पहिलो ओभरको अन्तिम बलमा शरद भेषवाकरबाट क्याचआउट भए ।
त्यसपछि दोस्रो विकेटका लागि ३१ रनको साझेदारी गरे पनि खड्काले लयमा रहेका कप्तान जेमी एटकिन्सन (११) लाई भेषवाकरबाट क्याचआउट गराउँदै उक्त साझेदारी तोडेका थिए । भरपर्दा ब्याट्सम्यान लगातार आउट भएपछि हङकङ ३०.४ ओभरमा ७७–८ को स्थितिमा पुगेको थियो । पारसले ६ ओभरमा एक मेडन राखेर आठ रन खर्चिंदै दुई विकेट लिए । प्रतियोगितामा वसन्त र शक्तिको विकेटसंख्या समान नौ पुगेको छ । यस जितसँगै नेपाल छैटाँैपटक यस प्रतियोगितामा सेमिफाइनल पुगेको छ । यसअघि सन् २००० मा पहिलोपटक सेमिफाइनल पुगेको नेपाल सन् २००२ र सन् २०१० मा फाइनल पुगेको थियो भने सन् २००६ र २००८ मा सेमिफाइनल । पहिलोपटक सेमिफाइनल पुग्ने क्रममा नेपाललाई फाइनल पुग्नबाट हङकङले रोकेको थियो ।
टस जिती पहिला ब्याटिङ गर्ने क्रममा नेपालले आफ्नो स्तरीय ब्याटिङ प्रदर्शनलाई हङकङविरुद्ध पनि कायम राख्यो । इनिङको पहिलो ओभरमै लयमा रहेका विकेटकिपर सुभाष खकुरेल शून्यमै आउट भए पनि त्यसपछि ब्याटिङ गर्न आएका सबै खेलाडीको प्रदर्शन राम्रो रहयो । समूहको तेस्रो खेलमा साउदी अरबविरुद्ध शतक बनाएका खड्काले यसपटक आउट हुनुअघि ५४ बल सामना गर्दै ६ चौका र दुई छक्का प्रहार गरे । अघिल्ला खेलमा तेस्रो नम्बरमा ब्याटिङ गर्ने क्रममा साउदी अरबविरुद्ध १८ बलमा अर्धशतक पूरा गर्दै ६३ रनको योगदान गरेका ज्ञानेन्द्र यस खेलमा ओपनरका रूपमा आएर पनि राम्रो प्रदर्शन गरे । तेस्रो नम्बरमा झरेका अनिलले अर्को राम्रो इनिङ खेले । युएईविरुद्ध अर्धशतक प्रहार गरेका उनले प्राय:जसो खेलमा राम्रो प्रदर्शन गरिरहेका छन् । चार खेलमा १७१ रन जोडेका पारस प्रतियोगितामा सर्वाधिक रन जोड्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन् । तीन खेलमा २४९ रन जोडेका ओमानका जिसान मकसुद शीर्षस्थानमा छन् ।
नेपालले बुधबार सेमिफाइनलमा मलेसियासँग प्रतिस्पर्धा गर्नेछ भने अर्को सेमिफाइनलमा युएई र अफगानिस्तान भिड्नेछन् । गत संस्करणको फाइनलमा नेपाल अफगानिस्तानविरुद्ध पराजित भएको थियो ।

प्रतिक्रिया