वाणिज्य बैंकहरू पनि मर्जरतिर

काठमाडौं, २४ असोज । वित्तीय प्रणालीमा कर्जा प्रवाह हुन नै गार्‍हो भएपछि वाणिज्य बैंकहरू पनि बिस्तारै मर्जरतिर आकर्षित हुन थालेका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभिने विनियमावली पारित गरेपछि विकास बैंक र फाइनान्स कम्पनी धमाधम मर्जरमा गएर एकीकृत रूपमा सञ्चालन भए पनि हालसम्म वाणिज्य बैंकबीच मर्जर भएको उदाहरण छैन ।
हालै कुमारी बैंकले सिद्धार्थ बैंकसँग मर्जर गर्ने प्रक्रिया अगाडि बढाएका छन् । कुमारी बैंकले यसअघि पनि एभरेस्ट बैंकसँग मर्जरमा जाने प्रक्रिया अगाडि बढाएको भए पनि कर्मचारीको अवरोधका कारण मर्ज हुनसकेको थिएन । कुमारी बैंकमा हाल प्रमुख कार्यकारी अधिकृतविहीन अवस्थामा रहेको हुँदा सिद्धार्थ बैंकसँग मर्ज गर्न सजिलो हुने अड्कल काटिन थालेको छ । सिद्धार्थका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृतको पद छोडेर सिद्धार्थ बैंकमा प्रमुख कार्यकारी हुन गएका कारण भण्डारीमा दुवै बैंकको कार्यशैलीबारे स्पष्ट जानकारी रहेका कारण पनि मर्ज हुन सजिलो हुने बताइएको छ । सिद्धार्थको चुक्ता पुँजी एक अर्ब ६१ करोड ९२ लाख ४४ हजार रुपियाँ रहेको छ भने कुमारीको चुक्ता पुँजी एक अर्ब ६० करोड ३८ लाख रुपियाँ रहेको छ । गत आवमा सिद्धार्थले ३३ करोड चार लाख रुपियाँ र कुमारीले २७ करोड ५६ लाख रुपियाँ खुद मुनाफा आर्जन गरेको छ । दुई बैंकको आकारमा पनि खासै ठूलो भिन्नता नरहेका कारण पनि मर्जर प्रक्रियामा अवरोध नआउने बताइएको छ । यसअघि कुमारी बैंक र एभरेस्ट बैंकबीच मर्जर प्रक्रिया अगाडि बढ्दा एभरेस्ट बैंकको स्तर कुमारीको भन्दा स्तरीय रहेका कारण मर्जर प्रक्रिया तुहिएको बताइन्छ । कुमारी बैंकको सेयर नेपाल स्टक एक्सचेन्जमा पछिल्लोपटक प्रतिकित्ता दुई सय ४१ रुपियाँमा र सिद्धार्थ बैंकको दुई सय ९३ रुपियाँमा कारोबार भएको थियो । कुमारी बैंक स्रोतका अनुसार सिद्धार्थ बैंकसँग मर्ज गर्नका लागि कर्मचारीको धमाधम बढुवाको अन्तर्वार्ता भइरहेको र दसैँअघि नै त्यसको नतिजा प्रकाशन गर्ने कार्य भइरहेको छ । स्रोतका अनुसार बैंकहरूबीच पहिलो चरणको वार्ता भइसके पनि मर्जर नै गर्ने अन्तिम निर्णय भने अझै भइसकेको छैन ।
यसअघि ठूला वाणिज्य बैंक एनआइसी बैंक र बैंक अफ एसियाबीच पनि मर्ज हुने समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ । ती बैंकले नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमतिसमेत प्राप्त गरिसकेका छन् । दुई बैंकमध्ये बैंक अफ एसियाका पूर्वप्रमुख कार्यकारी अधिकृत पर्शुराम खत्रीले राजीनामा दिएका कारण सो बैंक प्रमुख कार्यकारीविहीन हुँदा नयाँ बैंकमा कसलाई कार्यकारी प्रमुख बनाउने भन्ने विवाद छैन । नेपालको बैकिङ प्रणालीमा दुई ठूला बैंक मर्जमा जान सार्वजनिक रूपमा प्रतिबद्धता जनाएको यो नै पहिलो
घटना हो ।
यद्यपि, वाणिज्य बैंकमा तल्लो स्तरको विकास बैंक र फाइनान्स कम्पनीलाई गाभ्ने काम भने पहिले नै भइसकेको छ । यसअघि माछापुच्छ्रे बैंकले स्ट्यान्डर्ड फाइनान्सलाई आफूमा गाभेर माछापुच्छ्रे बैंकको नाममा कारोबार सञ्चालन गरिरहेको छ भने ग्लोबल बैंकले पनि आइएमई फाइनान्सियल इन्स्टिच्युसन र लर्ड बुद्ध फाइनान्सलाई आफूमा गाभेर ग्लोबल आइएमई बैंकका रूपमा कारोबार सञ्चालन गरिसकेको छ । राष्ट्र बैंकले मर्जर विनियमावली ल्याएपछि सबैभन्दा बढी फाइनान्स कम्पनी गाभिएका छन् । हालसम्म करिब तीन दर्जन फाइनान्स कम्पनी एक आपसमा गाभिइसकेका छन् । राष्ट्र बैंकको हाल रहेको वित्तीय संस्थालाई मर्जरमार्फत ५० प्रतिशत कम संख्यामा झार्ने नीति रहेको राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले सार्वजनिक कार्यक्रममा समयसमयमा बताउने गरेका छन् ।
वीरगन्ज, शिखर, स्वस्तिक मर्चेन्ट, युनिभर्सल, सूर्यदर्शन, स्टेन्डर्ड, आइएमई र लर्डबुद्ध फाइनान्स मर्जर भएर विकास बैंक तथा वाणिज्य बैंक भइसकेका छन् । त्यसैगरी, बुटवल, एल्पिक एभरेस्ट, सिएमबी, भाजुरत्न, प्रिमियर र इम्पेरियल फाइनान्सले मर्जरका लागि राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति पाइसकेका छन् । काठमाडौं, सिभिल मर्चेन्ट, गोर्खा, प्रुडेन्सियल, रोयल र अपी फाइनान्सले पनि मर्जरको लागि निवेदन दिएका छन् । रिलायन्स, लुम्बिनी, पाटन, रिलायबल, ललितपुरलगायत करिब डेढ दर्जन फाइनान्स कम्पनीले आन्तरिक रूपमा मर्जर तयारी गरेको राष्ट्र बैंक स्रोतले बतायो ।

प्रतिक्रिया