बजारमा दसैँको चहल–पहल

काठमाडौं, २४ असोज । नेपालीको मुख्य चाड दसैँ नजिकिएसँगै बजारमा चहलपहल बढेको छ । विभिन्न कम्पनी तथा सपिङ सेन्टरले उपहार र छुटको अफर ल्याएपछि बजारमा उपभोक्ताको चाप बढेको हो ।
दसैँतिहारलाई लक्षित गरेर दर्जनौँ कम्पनीले उपहार र छुटको अफर ल्याएका छन् । यस्ता अफर ल्याउनेमा अटोमोबाइल बिक्रेता, सपिङ मल, मोबाइल बिक्रेता कम्पनी, दूरसञ्चार कम्पनी, सिमेन्ट, डन्डी, जुत्ताचप्पल निर्माता, होटल, रिसोर्ट, वायुसेवा कम्पनीदेखि लिएर सुनचाँदी व्यापारीसम्म छन् । हरेक वर्ष व्यापारीले दसैँको मौकामा ग्राहकको आकर्षण बढाउन विभिन्न उपहार योजना सार्वजनिक गर्छन् ।
विशेषगरी यो वर्ष सवारीसाधन बिक्रेताबीच प्रतिस्पर्धा देखिएको छ । विभिन्न कम्पनीले दसैँतिहारमा छुटको घोषणा गरेका छन् । भारतीय मोटरसाइकल कम्पनी हिरोको नेपालका लागि आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङले ‘हरेक हिरोले पाउँछ पुरस्कार’ योजना ल्याएको छ । योजनाअनुसार हिरो मोटरसाइकल खरिद गर्ने ग्राहकले ६ हजारसम्मको छुट पाउनेछन् भने साप्ताहिक बम्पर उपहारअन्तर्गत प्रत्येक साता तीनवटा ३२ इन्च फिलिप्स एलसिडी टिभी प्राप्त गर्नेछन् ।
त्यस्तै सुन्धारास्थित सिभिल मलले ‘दसैँतिहारको बम्पर उपहार, न पहिले न कहिले मात्र अहिले’ भन्दै पसल कवल बिक्रीमा छुट दिएको छ । एक करोडको पसल ६५ लाख रुपियाँमा दिने दाबी मलले गरेको छ । सामसुङ मोबाइलले ‘सामसुङ मोबाइलको खरिदमा पाउनुहोस् आफ्नो खुसीको ढोका खोल्ने मौका’ नाराका साथ दसैँ योजना ल्याएको छ । यसअनुसार उपभोक्ताले स्क्रयाच कुपनबाट विभिन्न उपहार पाउने कम्पनीले बताएको छ ।
अटोमोबाइल बिक्रेता टाटाले ‘टाटा कार फाइदाको भण्डार’ उपहार योजना ल्याएको छ । कम्पनी ल्याएको ‘यो दसैँ अझै खास, आँगनमा टाटा कार खल्तीमा क्यास’ योजनाअन्तर्गत टाटा कार किन्ने ग्राहकले एक लाख ५० हजारदेखि तीन लाख रुपियाँसम्मको छुट पाउनेछन् ।
हुन्डाईको कार बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीले ‘दसैँ तिहारको शुभ कार मेनिया’ अफर ल्याएको छ । यसमा ग्राहकले कार खरिदमा तीन लाख रुपियाँसम्मको छुट पाउँछन् । त्यस्तै, लक्की ड्रबाट तीनवटा हुन्डाई इयोन कार दिइने कम्पनीले बताएको छ ।
उता अग्नि इन्कर्पोरेटले डिटिएम मोटरसाइकल खरिदमा २० हजार नगद छुट दिँदै ‘डिटिएममा सरर २० हजार गनौँ खरर’ योजना ल्याएको छ । भिडियोकनले ‘भिडियोकन दसैँतिहार चिटिक्क’ योजना ल्याएको छ । सिजी इलेक्टोनिक्सले ‘दसैँ होस् त यस्तो एलजीले ल्याएजस्तो’ अफरमार्फत् ४० दिनमा ४० जनालाई ३२ इन्चको टिभी र हरेक साता दुईजनालाई दसैँ खर्च दिने घोषणा गरेको छ ।
सोनीको नेपाली बिक्रेताले ‘तपाईंको लगानी विश्वको उत्कृष्ट सोनीमा महान् चाडको बेला सर्वोत्कृष्ट उपहारको साथमा’ योजना ल्याएको छ भने चौधरी ग्रुपले ‘चम्किलो चर्चा टिसिएलले चलायो चाँदीको चस्का’ अफर ल्याएको छ । महिन्द्राले ‘डम्फुमा टयापटयाप सात लाख झ्याप’ योजना ल्याएको छ । महिन्द्राका उत्पादनको खरिदमा सात लाख रुपियाँसम्मको नगद छुट दिने दाबी कम्पनीको छ ।
दसैँमा उपभोक्ताको अतिरिक्त आम्दानी बढी हुने भएकाले व्यापारीले यो मौका छोप्ने गरेको बजार विश्लेषक बताउँछन् । प्रचारप्रसारका कारण उपभोक्ताले गुणस्तरभन्दा उपहार र अफर हेर्न थालेको उनीहरूको निष्कर्ष छ । दसैँतिहारका बेला विज्ञापनको मात्रा पनि ह्वात्तै बढेको देखिन्छ । साढे चार अर्ब रुपियाँको हाराहारीमा रहेको विज्ञापन बजारको करिब एकतिहाइ बजेट दसैँतिहारका अवसरमा खर्च हुने विज्ञापन व्यवसायीको अनुमान छ । सबैले एउटै समयमा स्किम ल्याउने गरेका कारण ठूला छापामाध्यममा चाहेको समय र स्थानमा विज्ञापन गर्न नपाउने अवस्थासमेत आएको बताइएको छ ।
बजारमा विभिन्न अफर आए पनि सबै भरपर्दा भने छैनन् । कतिपय कम्पनी तथा सपिङ सेन्टरले लामो समयसम्म पनि लक्की ड्र खोल्दैनन् भने विजेताको नाम पनि सार्वजनिक गर्दैनन् । यसका कारण उपहार र अफरमा नलोभिने पनि थुपै्र ग्राहक छन् । छुटको नाममा ठगी पनि भएको कतिपय उपभोक्ताको आरोप छ ।
सरकारले उपभोक्ताको हित संरक्षण गर्दै स्वच्छ बजार स्थापना गर्नुपर्ने सरोकारवालाको भनाइ छ । उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योति बानियाँले बजार अनुगमन प्रभावकारी हुनुपर्नेमा जोड दिँदै उपभोक्ता हितविपरीतका क्रियाकलाप गर्नेविरुद्ध शून्य सहनशीलता संस्कृतिको विकास गर्नुपर्ने बताए । अफरका नाममा हुनसक्ने ठगी रोक्न नियमनकारी निकाय सक्रिय हुनुपर्ने र उपभोक्ता आफैँ पनि सचेत हुनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया