किशोरकिशोरीका लागि कार्ययोजना बनाइँदै

काठमाडौं, २४ असोज । ५० लाखभन्दा बढी रहेको किशोरकिशोरीको समस्या सम्बोधनका लागि राष्ट्रिय योजना आयोगले कार्ययोजना ल्याउने भएको छ ।

राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा आयोगका सदस्य–सचिव युवराज भुसालले कार्ययोजना ल्याउन लागिएको जानकारी दिए । ‘किशोरकिशोरीको समस्या कसरी सम्बोधन गर्ने भनेर आयोगले साउनदेखि कार्ययोजना बनाउन थालेको हो,’ सदस्य–सचिव भुसालले भने, ‘यसका लागि छलफल चलिरहेको छ ।’
कार्यक्रमका सहभागीले किशोरकिशोरीको समस्या र मुद्दा सञ्चारमाध्यममा ओझेलमा परेको गुनासो गरेका थिए । सञ्चारसचिव सूर्य सिलवालले छापा र विद्युतीय सञ्चारका माध्यम धेरै भए पनि किशोरकिशोरीको मुद्दा उठाउन नसकेको बताए । ‘जनसंख्याको २२ प्रतिशतजति किशोरकिशोरी छन् तर तिनीहरूको मुद्दा सञ्चारमाध्यमले उठाउन सकेको छैन,’ उनले भने । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष शिव गाउँलेले किशोरकिशोरीको मुद्दा सामाजिक र राष्ट्रिय भएकाले सञ्चारमाध्यमले बढीभन्दा बढी उठाउनुपर्ने बताए ।
‘किशोरकिशोरी भए दक्ष, बन्छ देशको भविष्य’ भन्ने नाराका साथ बिहीबार अन्तर्राष्ट्रिय बालिका दिवस मनाउन लागिएको जानकारी कार्यक्रममा गराइएको थियो । १९ जिल्लाका सञ्चारकर्मीको सहभागिता रहेको कार्यशालाबाट आएका सुझाव आयोगलाई बुझाइने मिडिया एड्भोकेसी गु्रपकी कार्यकारी अध्यक्ष बबिता बस्नेतले बताइन् ।

प्रतिक्रिया