विमानस्थलमा ‘कम्ब्याक्ट ड्रेस’ प्रतिबन्ध

काठमाडौं, २३ असोज । ‘कम्ब्याक्ट ड्रेस’को दुरुपयोग गर्दै प्रहरी नै तस्करीमा संलग्न भएको भेटिएपछि अन्तर्राष्ट्रिय विमानस्थलमा ‘कम्ब्याक्ट ड्रेस’ माथि प्रतिबन्ध लगाइएको छ । विमानस्थलका सुरक्षा विभागले आइतबारबाट लागू हुने गरी विमानस्थलमा खटिने प्रहरी कर्मचारीलाई ‘कम्ब्याक्ट ड्रेस’ नलगाउन निर्देशन दिएको हो ।
शुक्रबार भारतीय नागरिक विनोदकुमार सोनीलाई विमानस्थलकै हवल्दार सोवित कार्कीले ‘कम्ब्याक्ट ड्रेस’ भित्र लुकाई झन्डै एक करोड २४ लाख रुपियाँ उपलब्ध गराएर तस्कर गर्न सघाएको भेटिएपछि यस्तो निर्णय गरिएको हो । सुरक्षा गार्ड प्रमुख नारायण बस्ताकोटीले प्रहरीबाट ‘कम्ब्याक्ट ड्रेस’ को दुरुपयोग भएकाले यस्तो निर्णय गरिएको बताए । उनले भने, ‘दुरुपयोग भएको पाइयो, त्यसैले हामीले आइतबारबाट लागू हुने गरी कोही पनि प्रहरी कर्मचारीले ‘कम्ब्याक्ट ड्रेस’ नलगाउन निर्देशन दिएका छौँ ।’
‘कम्ब्याक्ट ड्रेस’ फराकिलो र खल्ती पनि धेरै हुने भएकाले यसको गलत प्रयोग रोक्न प्रतिबन्ध लगाइएको डिआइजी बस्ताकोटीले बताए । उनले भने, ‘ड्रेस फराकिलो हुने भएकाले हवल्दार कार्कीले खल्तीभित्र ठूलो परिमाणमा रकम लुकाई तस्कर सोनीलाई दिएको भेटियो, अबका दिनमा यस्तो गतिविधि रोक्न यस्तो गरिएको हो ।’ हवल्दार कार्कीले ड्रेसको खल्तीभित्र लुकाइराखेको रकम चेकजाँचमा खटिएका प्रहरीले समेत सुइँको पाएका थिएनन् । उनले प्रहरीकै सामुन्ने रकम लुकाई विमानस्थलस्थित ‘स्टेराइल’ हलभित्रको ट्वाइलेटमा पुगेर ठूलो परिमाणको रकम सोनीलाई दिएका थिए ।
विमानस्थलको अन्तर्राष्ट्रिय र ‘डोमेस्टिक’ उडानतर्फको सुरक्षाका लागि नेपाल प्रहरीका मात्रै ४ सयभन्दा धरै प्रहरी कर्मचारी तैनाथ छन् । आइतबार निर्णयपछि उनीहरूले मात्रै होइन, बाहिरबाट आउने प्रहरी कर्मचारीले पनि ‘कम्ब्याक्ट ड्रेस’ लगाई विमानस्थल हाताभित्र प्रवेश गर्न पाउने छैनन् । विमानस्थल सुरक्षार्थ प्रहरी कर्मचारी कसैले पनि ड्युटी अवधिभर ‘कम्ब्याक्ट ड्रेस’ लगाइएको पाइए स्पष्टीकरणदेखि पद घटुवासम्मको कारबाही गरिने डिआइजी बस्ताकोटीले बताए । उनले भने, ‘सोमबारदेखि विमानस्थलमा कोही पनि कर्मचारी ‘कम्ब्याक्ट ड्रेस’ मा देखिने छैनन्, भेटिए सख्त कारबाही गरिनेछ ।’ सुरक्षा गार्डमातहतभन्दा बाहिरका प्रहरी कर्मचारीको हकमा चाहिँ यो नियम अनिवार्य नहुने बताए । ‘पहिलो कुरा त मातहतभन्दा बाहिरका प्रहरी कर्मचारी विमानस्थल हाताभित्र आउँदै आउँदैनन्, आइहाले भने पनि कडा चेकजाँचपछि मात्रै प्रवेश गर्न दिइनेछ, उनीहरूको हकमा निर्णय अनिवार्य हुने छैन,’ उनले भने ।
प्रहरी अहिले गाढा नीलो पाइन्टमा आकाशे रंगको सर्टसहित ‘फिटिङ’ पोसाक र गाढा नीलोमा टाटेपाटे ‘कम्ब्याक्ट ड्रेस’ लगाउँदै आएका छन् । विशेष गरी बेलुका र जाडो समयमा प्रहरीले ‘कम्ब्याक्ट ड्रेस’ बढी प्रयोग गर्छन् । अन्तर्राष्ट्रिय विमानस्थलको हकमा भने प्रहरीले बेलुका ६ बजेदेखि यस्तो पोसाक लगाउँदै आएका थिए ।

प्रतिक्रिया