कुवेतमा पनि बेचिन थाले महिला

नेपालगन्ज, २३ असोज । फ्री भिसा दिलाएर खाडी मुलुकमा पुर्‍याई महिलालाई जोखिमपूर्ण काममा लगाउने गिरोह बाँकेमा सक्रिय भएको पाइएको छ । कुवेत र नेपालगन्जमा बसेर गिरोहले बाँके, बर्दिया, सुर्खेतलगायत पहाडी जिल्लाका ग्रामीण महिलालाई राम्रो कमाइ हुने प्रलोभन देखाई खाडी मुलुकमा पुर्‍याएपछि अलपत्र र बेवारिसे छाड्ने गरेको छ । गिरोहको प्रलोभनमा परेर कुवेत पुगेकी बाँके रनियारपुर–१ सोल्टीपुरकी कमला खत्री घरमालिक र स्वयं विदेश पुर्‍याउने व्यक्तिको शारीरिक र मानसिक यातना खेपेर घर फर्किएपछि यस्तो रहस्य खुलेको हो ।

स्थानीय बालकृष्ण पौडेलमार्फत फ्री भिसा र फ्री हवाई टिकटमा गत वैशाखमा कुवेत पुगेकी खत्रीले आफूले कमाएको पैसा ल्याउन त पाइनन् नै उल्टो शारीरिक र मानसिक यातना भोगेर घर फर्कनुपरेको छ । अहिले उनी राम्रोसँग बोल्न र हिँड्नसमेत सक्दिनन् । पटक–पटक विदेश गइरहने गाउँकै महिलाले पौडेलसँग सम्पर्क गराएपछि खत्री विदेश पुगेकी हुन् । ‘गाउँकै दिदीले पौडेल दाइले फ्री भिसा र फ्री टिकटमा विदेश जान पाइन्छ । त्यहाँ गएपछि आरामको काम र धेरै पैसा कमाइन्छ भनिन्,’ खत्रीले भनिन्, ‘गाउँकै मान्छेले भनेपछि होला त भनेर काठमाडौं गएर राहदानी बनाएँ ।’
काठमाडौंमा आफूसँगै एक दर्जन महिलालाई विदेशमा कस्तो काम गर्नुपर्छ भनेर ११ दिनसम्म प्रशिक्षण दिइएको उनले बताइन् । ‘विदेश गएपछि नराम्रो काम पनि गर्नुपर्ने अवस्था आउँछ भनेपछि म जान्नँ भनेर घर फर्किएँ,’ कमलाले भनिन्, ‘म घर आउँदा बालकृष्णले मेरो राहदानी र नागरिकता लिए । नागरिकता त दिए तर राहदानी भने दिएनन् ।’ राहादानी खोसेका बालकृष्णले आफ्ना साथीमार्फत हाम्रो धेरै खर्च भइसकेको छ । जसरी पनि विदेश जानुपर्छ भनेर खबर पठाएको कमलाले जानकारी दिइन् । उनले भनिन्, ‘धेरै दबाब दिएपछि म जान राजी भएँ । हवाईजहाजबाट नेपालगन्जदेखि काठमाडौंसम्म ल्याए । अनि एक्लै कुवेत पुर्‍याए ।’
कुवेत पुर्‍याएपछि उनलाई घरको काममा लगाइएको थियो । ‘त्यो घरमा बस्दा मलाई नर्कमा बसेजस्तै लाग्यो । रातभर काममा लगाउँथे । उनीहरूले भनेको नमानेपछि सबैजना मिलेर कुट्थे,’ उनले भनिन् । कुटपिटकै कारण बेहोस भएपछि घरमालिकले उनलाई कुवेतमै कार्यालय खोलेर बसेका बालकृष्णका छोरा विनोदकहाँ पुर्‍याएका थिए । ‘विनोदले सहयोग गर्नुको सट्टा मैले तँलाई पाँच सय दिनारमा बिक्री गरेको छु । कि त तैँले पैसा तिर् होइन भने जस्तो भए पनि काम गर् भनेर मार्ने धम्की दियो,’ कमलाले भनिन् । कमलालाई घर फर्काउन तयार नभएका विनोद गाउँमा बाबुलाई कमलाको परिवारले दबाब दिएपछि केही दिनअघि मात्र घर फर्काइदिएका छन् । तर, उनले कमलाले कमाएको एक सय ७० दिनार आफूसँगै राखेका छन् ।
सुरक्षित बसाइँ–सराइ सञ्जाल बाँकेको सहयोगमा कमला आफूले कमाएको पैसा फिर्ता गर्न र विदेश पठाउनेलाई कारबाही गराउन पहल गरिरहेकी छन् । ‘मैलेजस्तै अझै धेरै दिदी–बहिनीले त्यहाँ दु:ख पाइरहेका छन् । उनीहरूलाई विदेश पुर्‍याउनेलाई त कारबाही हुनै पर्छ,’ उनले भनिन् ।

प्रतिक्रिया