फोन उठाउन छाडे व्यापारीले

वीरगन्ज, २३ असोज । पर्सामा फोनबाट धम्कीको आतंक बढेको छ । तराईमा सशस्त्र संघर्षरत भूमिगत समूह र आपराधिक व्यक्तिले चन्दा असुलीका ठूला घरानाका उद्योगी, व्यापारी, सरकारी कार्यालय र वित्तीय संस्थाका कर्मचारीलाई टेलिफोन गरेर धम्की दिने क्रम बढेको हो ।

दसैँ–तिहार नजिकिँदै जाँदा फोनमा धम्की दिने क्रम बढेको हो । एक साता अघिदेखि वीरगन्जका ठूला उद्योगीलाई विभिन्न समूहका नाममा फोन धम्की आइरहेको वीरगन्ज उद्योग वाणिज्य संघका एक पदाधिकारीले बताए । सबैभन्दा बढी ज्वाला समूहले नेतृत्व गरेको भूमिगत समूह जनतान्त्रिक तराई मुक्ति मोर्चाको नामबाट अवैध चन्दा असुलीका लागि फोनमा धम्की आइरहेको छ । ज्वाला सिंह समूहको कार्यकर्ता बताउने विशाल सिंह र अर्जुन सिंहले एनसेलको ९८१६२४७१६४ नम्बरबाट चन्दाका लागि धम्की दिइरहेको ती पदाधिकारीले बताए । उनले भने, ‘अधिकांश फोनमा धम्की एनसेलकै नम्बरबाट आइरहेको छ ।’
फोनमा धम्की आउन थालेपछि उद्योगी, व्यापारी, सरकारी कर्मचारी र वित्तीय संस्थाका कर्मचारीले एनसेलको अपरिचित नम्बरबाट आउने फोन रिसिभ गर्न छाडेका छन् । व्यापारी र उद्योगीलाई उनीहरूको कारोबारको हैसियतका आधारमा ५० हजारदेखि पाँच लाख रुपियाँसम्मका र सरकारी कर्मचारीलाई २० देखि ३५ हजार रुपियाँसम्मको माग भइरहेको छ । सरकारी कर्मचारीमा अधिकांश गाविस सचिवलाई फोनमा धम्की आउने गरेको छ । तराईका भूमिगत समूहले मात्र नभई सीमावर्ती भारतीय सहरका आपराधिक गिरोहको नामबाट भारतीय अपराधीले पनि वीरगन्जका उद्योगी, व्यापारीलाई अवैध चन्दा असुलीका लागि फोनमा धम्की दिइरहेका छन् ।
भारतीय अपराधीले पनि फोनमा धम्की दिनका लागि एनसेल मोबाइलकै नम्बर प्रयोग गरिरहेका छन् । केही समूहले त मोबाइलबाट एसएमएसमार्फत पनि असुलीका धम्की दिइरहेका छन् । माग जतिको रकम नदिए गोली हान्ने र ज्यानैसमेत लिने धम्की दिएका छन् । वीरगन्जस्थित नाम चलेको एक वित्तीय संस्थाका एक अधिकृतलाई केही दिनअघि भूमिगत समूहकै नामबाट फोनमा धम्की आएको थियो र उनले २० हजार रुपियाँ दिएका थिए । फोन धम्कीका कारण ती अधिकृतले आफ्नो सबै मोबाइल नम्बर बन्द गरेपछि भूमिगत समूहका कार्यकर्ताले उनको कार्यालयकै टेलिफोनमा फोन गरेर धम्क्याउन थालेपछि उनले २० हजार रुपियाँ दिएर छुट्कारा पाएको उनकै आफन्तले बताए ।
अधिकांश धम्कीका घटना प्रहरीसमक्ष पुग्ने गरेको छैन । ‘प्रहरीलाइ धम्कीबारे सूचना दिँदा आपराधिक समूहबाट अझै बढी खतराको सम्भावना हुन्छ,’ एक उद्योगीले भने, ‘त्यसैले मोलतोल गरेर जे–जति हुन्छ, धम्की दिनेलाई नै रकम दिएर जीवन बचाउनुपर्ने बाध्यता छ ।’ पर्साका निमित्त एसपी रवीन्द्र केसीले पनि केही समयदेखि उद्योगी, व्यापारीलाई फोनमा धम्की आइरहेको कुरा अनौपचारिक रूपमा थाहा पाएको बताए । तर, फोन धम्कीका पीडितहरूले प्रहरीमा उजुरी नगरेको उनले बताए ।

प्रतिक्रिया