कांग्रेस/एमालेको सत्ताकेन्द्रित राजनीति बाधक

काठमाडौं, २२ असोज । एकीकृत माओवादीले कांग्रेस र एमालेको सत्ताकेन्द्रित राजनीतिका कारण मुलुकले निकास पाउन नसकेको आरोप लगाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पदाधिकार र प्रभावशाली नेताहरुको बैठकले कांग्रेस/एमाले राजनीतिक निकासका लागि भन्दा पनि सरकारलाई केन्द्रबिन्दुमा राखेर अगाडि बढेकाले समस्या आएको ठहर गरेको हो । एमाओवादीका प्रवक्ता अग्नि सापकोटाका अनुसार कांग्रेस/एमालेको सत्ताकेन्द्रित राजनीति मुलुकको सबै भन्दा ठूलो बाधा भएको छ ।
‘कांग्रेस/एमालेको सत्ता केन्द्रित राजनीतिकले निकास निस्कन सकेन,’ प्रवक्ता सापकोटाले भने, ‘सहमतिका लागि एमाओवादीले एकपटक वार्ता र संवादलाई पुनः निरन्तरता दिने छ ।’
एमाओवादीले मुलुकको निकासका लागि दलहरुका बीच प्याकेजमा सहमति गर्नुपर्ने समेत जनाएको छ । ‘प्याकेजमा सहमति नगरी एकोहोरोरुपमा सरकारको मात्र कुरा उठाउने प्रवृत्ति नै सहमतिको बाधक भएको छ,’ उनले भने, ‘एमाओवादीले दलहरुलाई सहमतिका लागि तयार रहन आग्रह गरेको छ ।’
एमाओवादीले वर्तमान राजनीतिक संकटको निकासका लागि हदैसम्मको लचकता प्रदर्शन गर्ने निष्कर्ष पनि निकालेको छ । राजनीतिक निकासका लागि उसले हदैसम्मको लचकता अपनाउने र अरु राजनीतिक दललाई पनि इमान्दार भएर प्रस्तुत हुन आग्रह गर्ने निर्णय गरेको प्रवक्ता सापकोटाले बताए ।
एमाओवादीले माघमा घोषणा गरेको महाधिवेशन, त्यसको तयारी र संगठनात्मक विषयमा पनि छलफल गरेको छ । सो विषयमा छलफल गरेको एमाओवादीले ठोस निर्णय भने गरेको छैन ।

प्रतिक्रिया