नेपालद्वारा साउदी अरब पराजित

काठमाडौं, २२ असोज । ज्ञानेन्द्र मल्लको कीर्तिमानी अर्धशतकसँगै नेपालले युएईमा जारी एसिसी ट्रफी एलिटकपमा आइतबार साउदी अरबलाई नौ विकेटले पराजित गर्दै सेमिफाइनल प्रवेशको सम्भावना कायम राखेको छ । ज्ञानेन्द्रले एकै ओभरमा लगातार ६ चौका प्रहार गरे भने १८ बलमा अर्धशतक पूरा गरेर राष्ट्रिय कीर्तिमान बनाए ।
सानदार बलिङ पं्रदर्शनपछि प्राप्त १३२ रनको लक्ष्य नेपालले एक विकेटको क्षतिमा १३.१ ओभरमा पूरा गर्‍यो । विस्फोटक ब्याटिङ गरेका ज्ञानेन्द्रले अविजित ६१ रनको योगदान गरे । त्यस्तै अविजित रहेका विकेटकिपर सुभाष खकुरेलले ३५ रन जोडे । अनिल मण्डलले २९ रन बनाए ।
तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका ज्ञानेन्द्रले २३ बलको सामना गर्दै १३ चौका र एक छक्का प्रहार गरेका थिए । ज्ञानेन्द्रले १०औँ ओभरमा लगातार ६ चौका प्रहार गरेका थिए । मोहम्मद नदिमविरुद्ध उनले सो सफलता हात पारेका हुन् । १०आँै ओभरपछि ज्ञानेन्द्रले सामना गरेको पहिलो बलमा पनि उनले चौका प्रहार गरे । यसअघि कुनै पनि नेपाली ब्याट्सम्यानले लगातार ६ बलमा वाउन्ड्री कटाउन सकेका थिएनन् । उनी एउटै ओभरमा सबैभन्दा धेरै रन लिने नेपाली खेलाडी पनि बने । ज्ञानेन्द्रले १२आँै ओभरमा तीन चौका र एक छक्का प्रहार गरे । १२आँै ओभरको छैटौँ बलमा चौका प्रहार गरी अर्धशतक पूरा गरेर उनले नेपाली क्रिकेट इतिहासमै सम्झनलायक उपलब्धि हात पारे ।
३१ बल सामना गरेका सुभाषले चार चौका प्रहार गरे भने मोहम्मद नदिमको बलमा आउट हुनुअघि २५ बल सामना गरेका अनिलको इनिङमा चार चौका सामेल रहयो । नेपालले पहिलो विकेटका लागि ५२ रनको साझेदारी गरेको थियो । यसअघि ४८.२ ओभरमा समेटिनुअघि साउदी अरबले १०औँ विकेटका लागि २८ रनको साझेदारी गरेको थियो । बलिङतर्फ नेपालका कप्तान पारस खड्का र वसन्त रेग्मीले समान तीन विकेट लिए । त्यस्तै शक्ति गौचन र भुवन कार्कीको नाममा दुई विकेट रहयो । पारसले ८.२ ओभरमा दुई मेडन राख्दै ३५ रन खर्चिए । १० ओभर बलिङ गर्ने क्रममा वसन्तले दुई मेडन राखेर २९ रन खर्चिए । १० ओभर बलिङ गरेका शक्तिले दुई मेडन राख्दै १४ रन खर्चिए भने त्यति नै ओभर बलिङ गरेका भुवनले एक मेडन राखेर २३ रन दिए । ६ ओभरमा तीन मेडन राखेर बलिङ गरेका प्रदीप ऐरीबाट १३ रन मात्र विपक्षीले लिन सक्यो ।
यस जितसँगै नेपाल तीन खेलबाट चार अंक जोड्दै समूह ‘बी’ को तेस्रो स्थानमा छ । तीन खेलबाट चार अंक भएको हङकङ नेट रनरेटमा नेपालभन्दा अगाडि छ । चार खेलबाट ६ अंक जोडेको घरेलु टोली युएई सेमिफाइनल पं्रवेश गरेको छ । हङकङ र नेपालबीच हुने खेलले यस समूहबाट सेमिफाइनल पुग्ने दोस्रो टोलीको टुंगो लाग्नेछ भने समूहविजेता/उपविजेता पनि छुट्टिनेछ । नेपाल र हङकङबीचको उक्त खेल मंगलबार सञ्चालन हुनेछ । यता आइतबार कुवेतलाई १४१ रनले पराजित गर्दै युएईले सेमिफाइनल यात्रा तय गरेको हो । आश्चर्यचकितरूपमा गत संस्करणमा युएईको यात्रा समूहचरणमै सीमित भएको थियो । यसपटक नेपालबाहेक अन्य सबै समूहटोलीविरुद्ध युएईको प्रदर्शन स्तरीय रहयो । ३५४ रनको लक्ष्य पछयाएको कुवेत यस हारसँगै समूहचरणबाटै बाहिरिएको छ ।
सबै चार खेलमा जित हात पार्दै साविक विजेता अफगानिस्तान समूह ‘ए’ बाट सेमिफाइनल प्रवेश गर्‍यो । समूहको अन्तिम खेलमा उसले आइतबार भुटानलाई पराजित गर्‍यो ।

 

प्रतिक्रिया