वेस्ट इन्डिजलाई टी–२० विश्व उपाधि

कोलम्बो, २२ असोज । घरेलु टोली श्रीलंकालाई ३६ रनले पराजित गर्दै वेस्ट इन्डिजले चौथो संस्करणको आइसिसी टी–ट्वान्टी विश्वकप उपाधि जितेको छ । निकै रोचक प्रदर्शन गरेको वेस्ट इन्डिजको यस सफलतामा मार्लन सामुएल्स चर्चाका पात्र बने ।
निकै संकटमा देखिएको वेस्ट इन्डिजको इनिङ सामुएल्सको ७८ रनको योगदानपछि निर्धारित २० ओभरमा १३७ रनमा पुगेको थियो । बलिङमा अघिल्ला खेलमा जस्तै सानदार प्रदर्शन गरेको वेस्ट इन्डिजले श्रीलंकालाई १८.४ ओभरमा १०१ रनमा सीमित गर्‍यो । अहिलेका सर्वाधिक चर्चित स्पिनर सुनील नारायणले ३.४ ओभरमा नौ रन खर्चिएर तीन विकेट लिए । कप्तान डारेन सामीले दुई ओभरमा ६ रन खर्चिएर दुई विकेट लिए । सामुयल बद्री, रवि रम्पाल र सामुयल्सको नाममा एक–एक विकेट लिए ।
नारायणले निकै कठिन स्थितिमा विकेट लिएर टोलीमाथिको दबाब कम गरेका थिए । उनले लयमा रहेका कप्तान महेला जयवद्र्धने (३३) र अन्तिम समयमा विस्फोटक ब्याटिङ गरेका कुलसेकेरा (२६) को विकेट लिएर खेल वेष्ट इन्डिजको पक्षमा मोडेका थिए । पहिलो ओभर वलिङ गर्नेक्रममा तिन रन दिएका उनले दोस्रो स्पेल १३ औ ओभरमा सुरु गर्दा पहिलो वलमै जयवद्र्धनेलाई सामीबाट क्याच आउट गराए जतिवेला श्रीलंका १२ ओभरमा ६०–३ को स्थितिमा थियो ।
१६औँ ओभरमा कुलसेकेराले रम्पालबाट २० रन लिएपछि कप्तान सामीले १७औँ ओभरमा नारायनलाई तेस्रो स्पेलका लागि पठाएका थिए जसमा न्याय गर्दै नारायनले तेस्रो बलमा कुलसेकेरालाई बद्रीबाट क्याच आउट गराएका थिए जतिबेला श्रीलंका ९६–७ को स्थितिमा पुगेर वेस्ट इन्डिजलाई दबाब दिइरहेको थियो । जयवद्र्धने र कुलसेकेराबाहेक कुमार संगकारा(२२) मात्र घरेलु टोलीको इनिङमा दोहोरो अंक छुन सके । मध्यक्रमका जीवन मेन्डिस र थिसरा परेरा समान चार रनमा रन आउट भए । पहिलो विकेटका रुपमा तिलकरत्ने दिल्सानलाई टोलीको छ रनको स्थितिमा रम्पालले बोल्ड आउट गरेपछि संगकारा बद्रीको बलमा पोलार्डबाट क्याच आउट हुनुअघि श्रीलंकाले दोस्रो विकेटका लागि ४२ रनको साझेदारी गरेको थियो तर त्यसपछि भने वेस्ट इन्डिजले विपक्षीलाई सम्हालिने मौका दिएन ।
यस अघि आशा गरिएका विस्फोटक ब्याट्सम्यान क्रिस गेलसहित आन्द्र रसेल, किरोन पोलार्ड, जोनसन चाल्र्स सस्तैमा आउट भएपछि निकै सुस्त गतिमा अगाडि बढेको वेस्ट इन्डिजको इनिङलाई तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका सामुयल्सले छक्काको वर्षा गर्दै चुनौतीपुर्ण स्थितिमा पुर्‍याएका थिए । ५६ बलको सामना गर्ने क्रममा उनले तीन चौका र ६ छक्का प्रहार गरेका थिए । उनले तेस्रो विकेटका लागि ड्वायन ब्राभो (१९) सँग ५९ रनको साझेदारी गरेका थिए ।
कुनै समय ११ ओभरमा दुइ विकेट गुमाउँदै ३८ रन मात्र जोडेको वेस्ट इन्डिजले १२औँ ओभरबाट आकर्शक सट खेल्न सुरु गरेको थियो । ब्राभोको छक्कासहित १२औँ ओभरमा वेस्ट इन्डिजले १० रन जोड्यो भने लगत्तैको ओभरमा सामुएल्सले निकै महंगा सावित भएका लासिथ मालिंगालाई तीन छक्का प्रहार गरेका थिए । सन् १९७९ यता वेस्ट इन्डिजले विश्वकप जित्न सकेको थिएन । सामुयल्स म्यानअफ द म्याच र सेनवाटसन म्यान अफ द सिरिज घोषित भए ।

प्रतिक्रिया