जिविस जाजरकोटको बेरुजु ६ करोड

 जाजरकोट, २२ असोज । जिल्ला विकास समिति, जाजरकोटको बेरुजु रकम ६ करोड देखिएको छ । यो रकम आर्थिक वर्ष २०६८/०६९ सम्मको हो । रकम तिर्नुपर्ने व्यक्तिको खराब मानसिकता र कार्यालयको उदासीनताका कारण ठूलो रकम बेरुजु अवस्थामा रहेको हो । विभिन्न शीर्षकमा पेस्की स्वरूप दिएको रकमको हिसाब मिलान गर्न नसकेको र खर्चमा मितव्ययिता नभएको ठहर महालेखाले गरेको छ ।
सरकारी कर्मचारी, केही सर्वसाधारण, उपभोक्ता समितिका पदाधिकारी तथा मुख्य दलका व्यक्तिहरूको नाममा बेरुजु देखिएको जिविस कार्यालयले जनाएको छ  । हिसाब मिलान र बेरुजु रकम फछ्र्योटका लागि सम्बन्धित व्यक्तिलाई ताकेता गर्ने काम भइरहेको स्थानीय विकास अधिकारी चक्रबहादुर बुढाले बताए ।
गत आवको अन्तिममा महालेखा परीक्षकको कार्यालयले जिविस जाजरकोटमा ६ करोड रकम बेरुजु रहेको भन्दै तुरुन्त असुलउपर गर्न ताकेता पत्र पठाएको बुढाले जानकारी दिए । गत आवमा ४० प्रतिशत मात्र पेस्की फछ्र्योट भएको र बाँकी रकम समयमै फछ्र्योट नगरे विभागले कारबाहीको चेतावनीसमेत दिएको बुढाले बताए ।
बेरुजु देखिएको रकममध्ये कर्मचारीको तलबबाहेकको विभिन्न प्रयोजनको भत्ता, उपभोक्ता समितिले योजना निर्माणका लागि लिएको पेस्की, सामाजिक सुरुक्षा भत्ताको पेस्की, राजनीतिक दलका नेताले डेलिगेसन जाँदा लिएको रकम, विनाशीर्षकमा दलका नेताकर्मचारी र सर्वसाधारणले लिएका पेस्कीलगायत रकमहरू रहेको कार्यालयले जनाएको छ । ‘गाविसको कार्यालय, कर्मचारी र उपभोक्ता समितिबाट बेरुजु देखिएको रकम असुल्न सजिलो छ,’ स्थानीय विकास अधिकारी बुढाले भने, ‘राजनीतिक दलका नेताबाट रकम असुल गर्न समस्या परेको छ ।’
‘अहिले नै कसको कति बेरुजु भन्ने हिसाब आउन बाँकी रहेको छ, एकमुष्ट रूपमा ६ करोड रकम बेरुजु देखिएको हो । बेरुजुको पूर्णविवरण दिन सकिँदैन,’ बुढाले भने । स्रोतका अनुसार राजनीतिक दलका नेताहरूको १० लाख, सामाजिक सुरक्षा भत्ताको २७ लाख, कर्मचारीको विभिन्न भत्ताको एक लाख रकम बेरुजु देखिएको छ ।
पहिले पनि बेरुजु रकम असुल गर्न खोज्दा विभिन्न पक्षले कार्यालय घेराउ गरेका थिए । पहिलेको कुराले चिन्ता थपेको बुढा बताउँछन् । आर्थिक वर्ष २०५९ सालदेखि पेस्की फछ्र्योट नहुँदा यति धेरै रकम बेरुजु देखिएको स्रोतले बतायो । कार्यालयमा हिसाबमिलानको काम भइरहेको र केही दिनभित्रै बेरुजु रकम असुलीका लागि सम्बन्धित व्यक्तिलाई पत्र पठाइने कार्यालयले जनाएको छ । कतिपय कर्मचारीले आफ्ना नाममा अनावश्यक बेरुजु देखाएको आरोप लगाएका छन् ।

प्रतिक्रिया