नेपालको स्तब्धपूर्ण हार

काठमाडौं, २१ असोज । कप्तान पारस खड्काको अविजित शतकीय इनिङका बावजुद नेपाल युएईमा जारी एसिसी ट्रफी एलिटकपमा शनिबार कुवेतविरुद्ध चार विकेटले पराजित भएको छ । विस्फोटक ब्याटिङलाई इनिङभर कायम राखेको कुवेतले २८१ रनको लक्ष्य ४६.२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो ।

तीन खेलाडीले अर्धशतक प्रहार गर्दा कुवेती इनिङमा १६ छक्का र २२ चौका भएका थिए । विजयी टोलीका लागि म्यान अफ द म्याच सिब्टेन रजाले ७७, कासिफ सरिफले ५९, आबिद मुस्ताकले ५४ र इरफान भाटीले ४७ रनको योगदान गरे । सुरुको १० ओभरमा विनाविकेट क्षति ९२ रन जोडेको कुवेतले १११ रनको स्थितिमा तीन विकेट गुमाए पनि त्यसपछि रजा र सरिफले सानदार साझेदारी गर्दै टोलीका लागि जितको आधार तयार गरेका थिए । यी दुईले १५.५ ओभरमा ११३ रनको साझेदारी गरे ।
यसअघिका खेलमा प्रभावी देखिएका कुनै पनि नेपाली बलर यस खेलमा छाउन सकेनन् । सन्जम रेग्मीले ५ ओभरमा ५१ रन खर्चिए भने भुवन कार्कीबाहेक नेपालको तर्फबाट बलिङ गरेका अन्य सबै बलरको प्रतिओभर बलिङ औसत पाँचभन्दा बढी रहयो । इनिङको पहिलो ओभरमै पारसलाई १५ रन चुटेर कुवेतले सानदार सुरुआत गरेको थियो । अन्तर्राष्ट्रिय सिनियर क्रिकेटमा डेब्यु गर्ने क्रममा स्पिनर भुवनले पाँच ओभर बलिङ गर्दै २३ रन खर्चिए ।
यसअघि टस जिती पहिला ब्याटिङ गरेको नेपालले पारसको १०६ रनको योगदानमा निर्धारित ५० ओभरमा चार विकेट गुमाएर २८० रन जोडेको थियो । पारसले ७७ बलको सामना गरी सात चौका र चार छक्का प्रहार गरे । एकदिवसीय क्रिकेटमा नेपालका लागि शतक बनाउने उनी छैटौँ खेलाडी हुन पुगे । यसअघि शक्ति गौचन, राजु खड्का, शरद भेषवाकर, सुभाष खकुरेल र अनिल मण्डलले यो उपलब्धि हात पारेका थिए । नेपालले अन्तिम २४.१ ओभरमा १९८ रन जोडेको थियो । अन्तिम आधा इनिङ तेज गतिमा अगाडि बढ्दा ज्ञानेन्द्र मल्लले ५३ रन जोडे । पृथु बास्कोटाले १८ बलमा चार चौका र एक छक्काको सहयोगमा ३७ रन जोडे । प्रारम्भिक ब्याट्सम्यान सुभाषले ८६ बलको सामना गर्दै ४५ रन जोडे भने ४८ बल सामना गरेका अर्का ओपनर अनिल मण्डलले १९ रन जोडे ।
यस हारसँगै साविक उपविजेता नेपालको अघिल्लो चरण प्रवेश सम्भावना संकटमा परेको छ । दुई खेलबाट दुई अंक जोडेको नेपाल समूहको तेस्रो स्थानमा छ । तीन खेलबाट चार–चार अंक जोडेका हङकङ र युएईमध्ये हङकङ नेट रनरेटमा अगाडि रहँदै समूहको शीर्षस्थानमा छ । पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी युएईलाई हराएको नेपाल कुवेतमाथि विजयी हुने धेरैको अडकल थियो । अधिकांश पाकिस्तानी मूलका खेलाडीको उपस्थिति रहने गरेको कुवेत विगत आधा दशकभन्दा बढी समयदेखि एकदिवसीय क्रिकेटमा नेपालविरुद्ध निकै कमजोर रहँदै आएको थियो । खासगरी कुवेतको ब्याटिङ नेपालसामु कमजोर रहेको इतिहास थियो । नेपालले समूहको आफ्नो तेस्रो खेल आइतबार साउदी अरबविरुद्ध खेल्नेछ ।

प्रतिक्रिया