अस्पतालको जग्गा एनजिओको कब्जामा

नेपालगन्ज, २१ असोज । एनसार्क नामक गैरसरकारी संस्थाले भेरी अञ्चल अस्पतालको जग्गा कब्जामा लिएर घर बनाई उपभोग गर्दै आएको छ । एचआइभी एड्सको क्षेत्रमा काम गर्ने एनसार्कले अस्पताल हाताभित्रको एक कठ्ठा जग्गा १४ वर्ष अघिदेखि भोगचलन गर्दै आएको हो ।

एनसार्कले अस्पताल र अदालतको आदेशलाई समेत अटेर गर्दै जग्गामा घर बनाएर प्रयोग गरिरहेको छ । पुनरावेदन अदालत नेपालगन्जले कात्तिक ०६८ देखि अस्पतालको जग्गामा एनसार्कको स्वामित्व कामय नहुने फैसला गरेको थियो । तर, अदालतको आदेशको बेवास्ता गर्दै एनसार्कले सरकारी जग्गामाथिको नियन्त्रण यथावत् राखेकै छ । स्थानीय प्रशासन र अस्पतालले जग्गा फिर्ता गराउन अनेकाँै पहल गरे पनि अझै सफल भएको छैन । अस्पताल सुधारका नाममा राजनीतिक नियुक्ति बोकेर आउने अस्पताल विकास समितिको अध्यक्ष र सदस्यहरूसमेत जग्गा फिर्ताको विषयमा सधँै निरीह हुने गरेका छन् ।
एनसार्कले अस्पताल हाताभित्रै औषधि पसल चलाउन घर बनाएको छ । अस्पतालको ४० वाई एक सय फिट जग्गा नियन्त्रणमा लिई उसले व्यापार गर्दै आएको छ । अस्पताल विकास समितिले ०५६ कात्तिक २६ गते ‘एनसार्कले उपभोग गरिरहेको सटर तथा घर आवश्यक प्रक्रिया अपनाई अस्पतालको भोग–चलनमा ल्याउने’ निर्णय गरेको थियो । एनसार्कका अध्यक्ष डा. जीराज शाक्यले अस्पताल समितिले गरेको निर्णयमा एनसार्क मञ्जुर हुने भन्दै सहमति पनि जनाएका थिए । तर, बनाएका घर र जग्गा खाली गर्न बारम्बार भन्दै आए पनि उनले छाड्न मानेका छैनन् । अस्पतालले एनसार्कलाई २० मंसिर ०६५ मा नियन्त्रणमा लिएको जग्गा र त्यसमा बनाएका घर–सटर ७ दिनभित्र खाली गर्न अल्टिमेटम दिएको थियो । तर, अटेर गरेपछि अस्पताल अदालतमा पुगेको हो ।
एनसार्कका अध्यक्ष डा.शाक्यले जमिनमाथि आºनो स्वामित्व रहेको दाबी गर्दै आएका छन् । अस्पताल समितिले एड्स एजुकेसन एन्ड कम्युनिकेसन सेल बनाउन दातृ संस्थाको खोजी गर्ने निर्णय गरेअनुरूप स्वीकृति लिएर कम्युनिकेसन सेल भवन निर्माण गरेको एनसार्कको दाबी छ । २३ मंसिर ०५५ गते जग्गाको स्वामित्व अस्पतालको हुनेगरी भवन बनाउने अनुमति पाएको एनसार्कले जनाएको छ ।

प्रतिक्रिया