माहोल खेलकुदमय, पूर्वाधार शून्य

कतै फुटबल प्रतियोगिता ! कतै क्रिकेट । कतै हयान्डबल । कतै स्नुकर । कतै आर्चरी । कतै नेटबल । कतै जुडो, कराते, तेक्वान्दो वा उसु । कतै ब्याडमिन्टन । कतै पौडी । कतै भलिबल त धेरै ठाउँ बास्केटबल प्रतियोगिता ††
अचेल टेलिभिजन हेर्दा होस् वा रेडियो सुन्दा अथवा पत्रपत्रिका पढ्दा नै किन नहोस्, यस्तो लाग्छ– देशमा खेलकुदको माहोल छाएको छ । खेलकुदको रौनकले बेग्लै रंग लिएर देशको वातावरणलाई तरंगित तुल्याइरहेको छ । खेलाडीहरू खेलिरहेका छन्, प्रशिक्षकहरू खेलाइरहेका छन्, आयोजकहरू खेलमहोत्सव आयोजनामा रमाइरहेका छन् र दर्शक जता मन लाग्यो उतैतिर आफूलाई पुर्‍याइरहेका छन् । यही कारण हुनसक्छ, एकथरी दर्शक युरोपेली फुटबल वा आइसिसी टी–ट्वान्टी क्रिकेट विश्वकपतिर आफूहरू लठ्ठिइरहेको पाइरहेका छन् ।
कुरा र प्रसंगहरू स्वदेशका हुन् । स्वदेशमा खेलकुदको अवस्थाका सन्दर्भहरूका हुन् । के स्थिति मिडियामा निरन्तर आइरहेजस्तो ‘खेलकुदमय’ नै हो त ? जिज्ञासा एउटा हुनसक्छ तर प्रश्नहरूको भने पहाड नै उभ्याउन सकिन्छ ।
मुलुकमा देखिएका खेलकुद सन्दर्भहरू सीमित मात्र छन्– उही क्रिकेट, उही फुटबल, उही विभिन्न थरी मार्सल आर्ट्स, उही बास्केटबल र यदाकदा अन्य खेलहरू । तर, खासमा यावत् खेलहरूको प्रतियोगिता मात्र नहेरेर त्यसका आयोजक हेर्ने हो भने मात्र हामी वास्तविकताको धरातलमा टेक्न सक्ने सम्भावना रहन्छ । धेरैजसो प्रतियोगिताका आयोजक काठमाडौं केन्द्रित उच्चमाध्यमिक विद्यालय रहने गरेका छन्, र स्वाभाविक छ– त्यस्ता प्रतियोगिताहरू स्कुल र कलेजकेन्द्रित नै हुन्छन् । यस्ता प्रतियोगिताहरू गुणात्मकताभन्दा संख्यात्मकताको हिसाबले बढी आयोजना हुने गरेका छन् । अन्य स्कुलकलेजको दाँजोमा आफूलाई अगाडि देखाउन वा फिजिकल एजुकेसनमा अब्बल देखिन अथवा खेलकुद प्रतियोगिता आयोजनाको माध्यमबाट अधिकतम मिडिया प्रचार बटुल्न पनि यस्ता स्कुले प्रतियोगिताहरू निरन्तर बढ्दो रूपमा हुँदा छन् ।
त्यसो त, मुलुकको सर्वोच्च खेलकुद निकाय राष्ट्रिय खेलकुद परिषद् आपसी खिचातानी र निर्लज्ज राजनीतिमा अल्झिरहेर नियमित खेलकुद प्रतियोगिताहरूको आयोजनाप्रति उदासीन देखिइरहेको बेला निजी विद्यालयहरूले खेलकुद आयोजनालाई आफ्नै तहमा भए पनि अगाडि बढाउनु प्रशंसनीय नै हो, तापनि यसो भनेर राखेपको खेलकुद विकासप्रतिको जिम्मेवारीबारे आँखा चिम्लेर बस्न मिल्दैन । राखेप नेतृत्वको यो जिम्मेवारी भनेको केवल बोर्ड बैठक बस्नु, भइरहेका राष्ट्रिय खेलकुद संघसंस्थाहरूलाई गठन–विघटन–पुनर्गठन गर्नु, राखेपमा पदबहाली गरेलगत्तै येनकेन कुनै पनि राष्ट्रिय संघमा प्रवेश गरिछाड्नु र मिलेसम्म धेरैभन्दा धेरै वर्षसम्मै खेलकुदमा रहेर राइँदलो मच्चाउनु अनि त्यसपछि राजनीतिकर्मीले सांसद र मन्त्री पद ताकेझैँ सित्तैमा ‘नाम, दाम र सम्मान’ पाइने लोभमा ओलम्पिक कमिटीको सत्र सदस्यीय कार्यकारिणीभित्र पर्ने अभियानमा जुट्नुजस्ता कार्यहरूमा अल्झिनु हुँदै होइन । पौडी पोखरीको आम्दानी र राखेप परिसरवरिपरि रहेका विभिन्न व्यापारिक होर्डिङ बोर्डहरूबाट प्राप्त हुने आयबारे पारदर्शिता देखाउन आवश्यक नठान्ने राखेपले जहिल्यै सरकारी रकम निकासा भए प्रतियोगिताहरूको आयोजना गर्ने, नभए सबै कुरा ठप्प रहने स्थितिको अन्त्य गर्ने सम्भावनाको खोजी गर्नु पनि राखेप नेतृत्वको जिम्मेवारी हुनुपर्ने हो, जुन हालसम्म देख्न पाइएको छैन । खेलकुद (वा खेलक्षेत्र) लाई बोझ होइन, सिर्जनाका सबै ढोकाहरू खुल्नसक्ने र क्षमताका फूलहरू निर्बाध फक्रिने वातावरण निर्माण गरिनु पर्छ ।
खेलकुद त्यस्तो क्षेत्र हो जहाँ पुगेर सारा धर्म, वर्ग, जात, जाति, वर्ण, लिंग, भाषा, भेष सबै एकाकार हुन पुग्छन् र जहाँ पुगेर राजनीति, समाज, संस्कृति र भूगोलका सारा सिमाना एकै ठाउँमा विलय हुन्छन् । राष्ट्र र राष्ट्रियताको अघोषित सम्प्रभू हो खेलकुद क्षेत्र जहाँ एकजुट भएर आबालवृद्ध सबैले समवेत् भाकामा देशभक्तिको सरगम गुन्जाउँछन् । यही अवस्थालाई दृष्टिगत गरी हालै नेपाल सरकारले ओलम्पिक कमिटीमा स्वर्ण पदक जित्ने खेलाडीलाई एक करोड रुपियाँ नगद पुरस्कार दिइने घोषणा गरेको छ । ओलम्पिकमा रजत जित्नेलाई ७५ लाख र काँस्य जित्नेलाई ५० लाख रुपियाँ दिइने जनाएको छ । यो त व्यक्तिगत इभेन्टतर्फ हो । टिम इभेन्टतर्फ पनि स्वर्ण जित्नेहरूलाई सरकारले ४० लाख, रजत जित्नेहरूलाई ३५ लाख र काँस्य जित्नेहरूलाई २० लाख रुपियाँ नगद पुरस्कार दिइने निर्णय गरेको छ ।
यति मात्र होइन, एसियाली खेलकुदमा एकल इभेन्टतर्फ स्वर्ण जित्नेलाई ४० लाख, रजत जित्नेलाई ३५ लाख र काँस्य जित्नेलाई २० लाख रुपियाँ नगद पुरस्कार दिइने सरकारी निर्णय भएको छ । टिम इभेन्टतर्फ यो पुरस्कार राशि क्रमश: २५, १५ र १० लाख रुपियाँ पुर्‍याइएको छ । त्यस्तै, दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) जसमा नेपाली खेलाडीहरू कहिल्यै स्वर्ण पदकविहीन हुनुपरेको छैन– मा स्वर्ण पदक जित्नेलाई अब उप्रान्त पाँच लाख, रजत जित्नेलाई तीन र काँस्य पदक जित्नेलाई दुई लाख रुपियाँ नगद पुरस्कार दिइने भएको छ । यसैगरी, अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडीले सक्रिय खेलाडी जीवनबाट सन्न्यास लिँदा एकमुष्ट २ लाख ५० हजार रुपियाँ नगद ‘पेन्सन पुरस्कार’ पाउने भएका छन् । यसबाहेक अन्य कतिपय खेलकुद संघहरूले प्रतियोगिताअनुसार विजेता खेलाडीलाई धेरथोर नगद पुरस्कार दिने चलन सुरु भएको निकै भइसकेको छ ।
पुरस्कारकै सेरोफेरो हेर्दा, गत माघमा एसिसी यु–१९ महिला टी–ट्वान्टी क्रिकेटमा हयाट्रिक जित दर्ज गरेको नेपाली टोलीका सदस्यले जनही दुई लाख रुपियाँ नगद पुरस्कार पाए । त्यसअघि दोस्रो संस्करण जित्दा उनीहरूले एक–एक लाख नगद पुरस्कार पाएका थिए । आइसिसी वल्र्ड लिग क्रिकेट डिभिजन फोर विजेता नेपाली पुरुष क्रिकेट टोलीका सदस्यले प्रत्येकले तीन–तीन लाख रुपियाँ नगद परस्कार पाए । दीपक बिष्टले लगातार चौथोपटक साग खेलको स्वर्ण पदक जित्दा उनले विशेष कदरस्वरूप सरकारबाट दस लाख र खुट्टाको उपचार गर्न थप दस लाख गरी एकमुष्ट बीस लाख रुपियाँ नगद पाएका थिए । संगीना वैद्य, दीपक श्रेष्ठ, उपेन्द्रमान सिंह, हरि खड्का आदि खेलाडीले कार वा भ्यान पाए । मोटरसाइकल र स्कुटी पाउने खेलाडीहरूको संख्या त दर्जनौँ छ ।
खेलाडीहरू पनि अचेल ‘आइडोल’ बन्न थालेका छन् । बैकुण्ठ मानन्धर, दलबहादुर राना, विधान लामा, गणेश थापा, राजु शाक्य, जगत गौचन, संगीना, दीपक, सविता राजभण्डारी, शक्ति गौचन, शिवराम श्रेष्ठ, सरोज मुल्मी, दीपक महर्जन, हरिबहादुर रोकायाजस्ता दर्जनौँ खेलाडी नयाँ पुस्ताका लागि ‘आइकोन’ बन्न थालेका छन् । मिडियाको बढ्दो सञ्जालले खेलाडीलाई निरन्तर नयाँ पहिचान दिइरहेको छ, उनीहरूलाई आमखेलप्रेमी माझ लोकप्रिय गराउँदै लगिरहेको छ । मिडियाको क्रेजसँगै खेल र खेलाडीको क्रेज पनि उत्तिकै बढ्दो छ । यसरी माहोल खेलकुद अनुकूल छ तर यो अनुकूलता नानाभाँती प्रतिकूलता, समस्या, अप्ठेरा र दुरुहताहरूले भरिएको छ ।
यहाँ एकपछि अर्को प्रतियोगिताहरू मात्र छन्, त्यसका लागि चाहिने आवश्यक पूर्वाधार र योजनाबद्ध प्रशिक्षण छँदै छैन भने हुन्छ । विकसित देशहरूमा चार वर्षपछिको प्रतियोगितालाई दृष्टिगत गरी विशेष प्रशिक्षण लिइने–दिइने गरिन्छ, नेपालमा मुस्किलले एक वा दुई महिना मात्र । यहाँ विदेशी एक्सपोजर न्यून मात्र हुन्छ, जसका कारण विदेशी प्रतिद्वन्द्वीहरूको तीव्रता र उनीहरूले प्रयोग गर्ने नयाँ प्रविधिको ज्ञान हाम्रा खेलाडीले यथोचित समयमा पाउँदैनन् । आफ्नो खेलस्तर माथि उकास्ने हो भने आफूभन्दा बेहतर प्रतिद्वन्द्वीसित भिड्नुपर्छ । देशभित्र सधैँ एउटै प्रतिद्वन्द्वीसित भिडेर यस्तो अपेक्षा पूरा हुन सक्दैन । नेपालका सबैभन्दा सफल महिला खेलाडीमध्येकी एक संगीना वैद्य भन्छिन्, ‘म सक्रिय खेलाडी हुँदा मेरा समकक्षी महिला खेलाडी नै थिएनन्, त्यसकारण म सधैँ पुरुष खेलाडीहरूसितै स्पेयरिङ गर्ने गर्थें ।’ उनको यही लगनले उनलाई ओलम्पिक खेल्न क्वालिफाई हुने पहिलो नेपाली खेलाडी बनाएको थियो ।
निजी प्रतिभा, लगन र समर्पण जति जरुरी छ खेलकुदको सफलताका भर्‍याङहरू चढ्न, उत्तिकै आवश्यक छ– खेलकुद निकायहरूले ती खेलाडीहरूका लागि चाहिने अनुकूल माहोल बनाइदिनु पनि । खेलकुद र खेलाडीले फस्टाउन पाउने वातावरण निर्माण गर्नु खेलकुद नेतृत्वको चुनौती हो । आफूसित सहमत हुनेलाई उचाल्ने र आफूसित असहमत हुनेलाई पछार्ने गोटीचालमा दत्तचित्त रहने नेतृत्वबाट खेलकुद विकासको आशा राख्न सकिँदैन । र, हुँदैन पनि ।

प्रतिक्रिया