बुर्काभित्रका रंगीन टलक

पुरानो विचारले भन्थ्यो– महिला सबै समस्याका मूल हुन् । दार्शनिक भन्छन्– महिला माया र अन्धकार हुन् । सामाजिक कार्यकर्ताले भने– ममता, करुणा र जीवन–रस हुन्…। महिलाका रूपको उपासक भन्छन्– स्त्री सबै सौन्दर्यका सार हुन् । यति धेरै शब्द, यति धेरै विचार । तर, सबैको विचार अधुरो । इतिहासको पर्दालाई हटाउँदै बीसौँ शताब्दीका महिलाले भने– ‘महिला अद्वितीय हुन्, सृष्टिका मुहान हुन् । इतिहासमा महिलालाई पराधीन बनाइयो । इतिहास फेरि लेखिनुपर्छ ।’ मिथक र मिथकहरू, अतिरेक र अतिरञ्जना, अर्धसत्यको विशाल भण्डार र यसका मुनि दमन, दु:ख र पीडाको युगौँदेखिको विराट चक्र । आखिर समयले भन्यो– महिला पनि मनुष्य हुन् – न कम हुन् न ज्यादा, न शक्ति, न बदला, न माया न रूप । यो संसारको ठोस र साँचो कुरा हो । यसपटकको लोकेसनमा ती मुस्लिम महिला जो दु:ख र पीडाको युगौँदेखिको विराट चक्र तोडेर समयको नेतृत्व गर्दर्ै छन् ।
सन्तुलन, सहनशीलता र सिर्जनाको पर्याय– महिला । महिला छन् र त दुनियाँमा शृंगार बाँकी छ, प्रेम–भाव बाँकी छ । अफसोचको कुरा † लिंगपहिचानपछि भ्रूणहत्या बढेर जाँदै छ । प्रश्न यो मात्र हो– हामी कस्तो जीवन चाहँदै छौँ ? कस्तो संसार चाहन्छौँ, जुन महिलाबिना सोच्न सकिन्छ † यस्तो संसार के पुरुषबाट मात्रै सम्भव छ ? यस्तो भीषण अन्धकारको समयबाट पनि मुस्लिम समुदायका (सिया र सुन्नी) महिला जो, बुर्काभित्रका काला टलक भएका दुई आँखाबाट अघि बढेर समयको नेतृत्व गर्दर्ै छन् ।
बुर्काले ढाकिएको अनुहार र त्यसमा झिलमिलाइरहेका दुई आँखा । गाढा रूपले हेर्ने हो भने थाहा लाग्छ, दुनियाँ हेर्ने ती आँखामा जमिन र आकाश खोज्ने सपना भरिएको छ । बदलिँदै गएको समयसँगै सपनाका फुलस्केप पेपरमा थुप्रै रसिला मौसमले प्रवेश पायो । महिलाको युगौँदेखिको दर्दनाक कथा कुनै मिथक वा किस्सा–कहानी होइन, यर्थाथ हो । सदिऔँदेखि मुस्लिम समाजका महिलाको अवस्था, हाम्रो अघिल्तिर उनीहरूको जीवनको जुन तस्बिर आउँथ्यो, त्यसले मानवीय मूल्यलाई व्यापक चुनौती दिएको छ । बदलिइरहेको समयले मुस्लिम महिलाको जीवन–गाडीलाई एउटा नयाँ रफ्तार दिएको छ । तर, रफ्तार यति तेज छैन, यो रफ्तार बदलिइरहेको समयको रंगमा मिल्न सक्छ । तर, रोकिएको समयबाट पनि केही मान्छेले साँच्चै अघि बढ्ने र बाटो खोज्ने काममा सफलताचाहिँ पाएका छन् ।
०००
त्यस दिन म कमलपोखरीको सिटी सेन्टरबाट कफी खाएर फर्कंदा रात निकै गाढा भएको थियो । हार्ड ब्ल्याक कफीले जिब्रो तीतो भएका बेला म सिटी सेन्टरबाट पारिपट्टिको पसलछेउ पेटीमा उभिएको थिएँ । मेरो अगाडिबाटै एउटा सेतो टोयोटा ल्यान्ड क्रुजर रोकियो । ल्यान्ड क्रुजरभित्रको मधुरो उज्यालो मेरो आँखामा ठोक्कियो । त्यो सफ्ट उज्यालोमा मैले देखेँ– टोयोटामा सवार सबै महिला थिए र तीनले कालो बुर्का लगाएका थिए । टोयोटा पछाडिको ढोका खुल्यो र एक बुर्कावाली ओर्लिइन् । त्यसपछि अर्की ओर्लंदै थिइन्, उनको बुर्काको बटन चुँडिएको थियो वा गाडीमा अड्किएर च्यातिएको थियो, मैले ठम्याउन सकिनँ । तर, उनको बुर्का अघिल्तिरबाट तलदेखि माथिसम्म सबै खुल्यो र छ्यांगै देखियो । ओहो † कालो बुर्काभित्रको पहिरन † उनी १८/२० वर्षकी युवती लाग्थिन् । ५/६ इन्च जतिको रातो रंगको प्वाइन्टेड हिल चप्पल उनले लगाएकी थिइन् । शरीरको माथिल्लो भागमा रंगीचंगी पत्थर मात्र देखिने ब्रा थियो र भित्र लगाएको पेन्टीलाई पनि ढाक्न असफल भएको ब्राकै सेटको स्र्कट उनको शरीरमा टाँस्सिएको थियो । मजस्तो गधापच्चिसे उमेरको पुरुषलाई लोभ्याउन सक्ने कामुकता उनको शरीरबाट पोखिइरहेको थियो ।
बुर्का च्यातिएकाले उनले कपालमा भएको कालो रुमालजस्तो कपडा निकालेर आफ्नो शरीर छोप्ने प्रयास गरिन् । पहिले ओलिर्एकी अर्की महिलाले आफ्नो बुर्का खोलेर उनको शरीर ढाकिदिइन् । बुर्का खोल्ने अनि लगाउने काम रातको सडकपेटीमा एकदमै छोटो समयमै सम्पन्न भएको थियो । जसले आफ्नो बुर्का खोलेर ती महिलालाई दिएकी थिइन्, उनको पहिरन पनि कम थिएन । तर, उनी अलि प्रौढ लाग्थिन् । काठमान्डूजस्तो बुर्का लगाएका मुस्लिम महिला बिरलै देखिने व्यस्त सहरमा म नितान्त नौलो अनुभवको साक्षी थिएँ ।
उसबेला मेरो मथिंगलमा यसअघि कहिल्यै नआएको प्रश्नले झड्का हानेको थियो– कालो बुर्काबाहिरबाट केही देखिँदैन । तर, त्यस्तो कपडा लगाउनुको औचित्य के होला ? कालो बुर्काभित्र सधैँ गुम्सिएको पहिरन अनि त्यसबाट चियाइरहेको मिठो जवानी कहाँ, कसलाई देखाउने होला ? आफूले आफैँलाई हेर्नैका लागि त्यस्तो कपडा लगाइन्छ ? काठमान्डूमा जामे मस्जिद वरिपरिबाहेक बुर्का लगाएका महिला बिरलै देखिन्छन् । तराईका जिल्लामा चाहिँ बुर्काभित्र पीडा लुकाएर बाँचिरहेका महिला जति पनि देख्न पाइन्छ ।
प्राय: मुस्लिम परिवारका महिलाको जीवन उत्ति सानदार नहोला । तर, काठमान्डूका केही सम्भ्रान्त, मैले सिटी सेन्टरमा देखेजस्ता महिलाचाहिँ, निकै उच्च जीवन बाँच्छन् । यी मुस्लिम श्रीमतीहरू अरूलाई आफ्नो अनुहार देखाउन पाउँदैनन् । श्रीमान्लाई मात्रै आफ्नो अनुहार र शरीर देखाउन भए पनि ब्युटिपार्लरमा आएर हजारौँ–हजार खर्च गर्न हिच्किचाउँदैनन् । अनुहार र शरीर कालो कपडाले छोपे पनि अरू महिलाको तुलनामा मुस्लिम महिला बढी कामुक देखिन्छन् । यिनीहरूसित गफ गर्दा लाग्छ– यिनीहरू आफ्नो सुकोमल अनुहार सारा समाजलाई देखाउन चाहन्छन् र उनीहरूको चाहना पूरा भएको छैन । अझै उन्मुक्त भएर हिँड्न रुचाउँछन् । यथार्थमा बुर्काभित्र लुकेको त्यो उत्तेजित शरीर चाहनाको प्रतिविम्ब होइन र ? जे होस् † सलाम छ त्यो बुर्काभित्रका एक जोडी आँखालाई, लुकेको चाहनालाई ।
०००
बुर्का महिलाको विकासको बाधक हो कि होइन ? यसको अनन्त बहस हुनसक्ला । टाउको, मुखदेखि सबै शरीरका अंग छोपेर आँखा मात्रै देखाएर हिँड्दा आफूलाई कसरी आत्मविश्वासका साथ प्रस्तुत गर्न सकिन्छ ? बुर्कालाई मुस्लिमहरू आफ्नो इज्जत र प्रतिष्ठासँग जोडेर हेर्छन् । यो संस्कृतिलाई लोकतन्त्र, गणतन्त्र र मधेस आन्दोलन, केहीले पनि हटाउन सकेन ।
विशेषत: ०४६ को राजनीतिक परिवर्तनपछि समाजमा शिक्षा र सञ्चारको पहुँच बढेसँगै मुस्लिम समुदायमा पनि सकारात्मक प्रभाव पर्‍यो । नयाँ सोच र मान्यता राख्ने मुस्लिम युवाको संख्या बढ्न थाल्यो । यसले मुस्लिम महिलालाई बुर्काबाहिर ल्याउन उत्प्रेरित गर्‍यो । अहिले नेपाली राजनीति, मोडलिङ, फेसन डिजाइनिङ, एयरहोस्टेस, चिकित्साजस्ता क्षेत्रमा मुस्लिम महिला स्थापित हुँदै छन् । केही वर्षअघिसम्म मुस्लिम महिलाको यस्तो क्षेत्रमा प्रवेशको कल्पना पनि गरिँदैनथ्यो ।
०००
कुरानमा उल्लेख छ– ‘सत्य बोल यदि त्यो तिम्रो विरोधी भए पनि ।’ इस्लाम धर्ममा चार विवाह गर्ने नियम प्रचलित छ । महामानव हजरत मुहम्मदले चौध विवाह गरेका थिए । हजरत मुहम्मदका वाणी हुन्– पतिले आफ्नो पत्नीलाई चार कारणले त्याग्न सक्छ । १. स्त्रीलाई सिँगारिएर आफूसँग आऊ भन्दा सुनेको–नसुन्यै गरी भने, २. सहवासको उद्देश्यले लोग्नेले बोलाउँदा उपेक्षा गरी भने, ३. स्त्रीकर्म र स्तोत्रपाठ छोडी भने, र ४.पतिको अनुमतिविना कसैको घरमा घुम्न गई भने ।
वास्तवमा मुस्लिम समाजले नै कुनै पूर्वाग्रह नराखी यस्ता रुढीग्रस्त अमानवीय आदेशलाई खारेज गर्ने साहस गर्नुपर्ने हो । महिलालाई बुर्काभित्र कैद गर्ने कुरानका यस्ता नियन्त्रित र अन्धविश्वासी मान्यता जिम्मेवार छन्, मुस्लिम समुदाय अघि नबढ्नुमा ।
०००
नेपालमा मुस्लिम समुदायका महिलाको प्रगति उत्ति सुन्न पाइँदैन, जबकि भारतको राष्ट्रिय अल्पसंख्यक आयोगको अनुसन्धानले बताएको छ, भारतका मुस्लिम महिलाको साक्षरता ५०.१ प्रतिशत छ । यो डाटा यस कुराको प्रमाण हो, मुस्लिम समाजमा जस्तो बदलाव आइरहेको छ, त्यसको प्रमुख कारण आधुनिक शिक्षा हो, जसको प्रभाव मुख्य रूपमा शिक्षित र सम्भ्रान्त वर्गमा परेको छ । तर, समाजका निम्न एव मध्यमवर्गीय पनि यसबाट अछुत छैनन् । भोपाल विश्वविद्यालयमा हिन्दी साहित्यमा एमए गरिरहेकी तलतले शुक्रबार बिहान भएको फेसबुक च्याटमा मसँग भनिन्, ‘आज पनि मस्जिदमा विशेष आयोजना हुन्छ, जहाँ यो सम्झाइएको हुन्छ कि, महिलालाई बुर्का लगाउन जरुरी छ के ? जस्तो परिवर्तन देखिइरहेको छ, त्यो उच्चवर्गमा मात्रै सीमित छ । अधिंकाश मान्छेको मानसिकता निकै पिछडिएको छ ।’ तर, तलत आफैँचाहिँ बुर्का या नकाब लगाउँदिनन् । उनी भन्छिन्, ‘म आफ्नो अनुहार किन बाँधूँ ? यदि कसैले गलत नियतले हेर्छ भने म के गर्नसक्छु ? उसको गल्तीको सजाय मैले भोग्ने ?’
वास्तवमा मुस्लिम समाजमा एउटा यस्तो तस्बिर उभिएको छ, जसको धड्कन विरोधाभासी रंगमा बसेको छ । जहाँ एकातर्फ आफ्नो जीवनको मुकाम खोज्ने हौसला छ भने अर्कोतर्फ मुकामसम्म पुग्ने बाटोमा बिच्छयाइएको काँडाको चुनौती । यद्यपि, यो हौसलाले बाटोमा भएका काँडाको साथमा फूल पनि देखिन्छ । केही शिक्षित महिला यस्ता पनि छन्, जसको मनमा ‘स्वतन्त्रता’ छ । तर, आफ्नो परिवार, संस्कृति र समाजको विरोध झेल्ने साहस उसमा छैन । यही कारण ऊ चुप रहन्छे ।
तराईतिरको पिछडिएको वा नपढेको मुस्लिम महिलाको हालत आज पनि त्यही हो, जुन सदिऔँदेखि नै थियो । तर, आज सहरी मुस्लिम महिलाको जिन्दगीको फैसला उसको समाज या परिवारले लिँदैन । तमाम साँध–सिमानाका बाबजुद उनीहरू करियरदेखि लिएर जीवनसाथी छान्नसम्मको फैसला आफैँ लिइरहेका छन् । परिवारले साथ नदिएको स्थितिमा उनीहरू मानसिक रूपले तयार छन् । उनीहरूको नजरको दायरा घरको सिमानासम्म मात्र छैन, बाहिरको दुनियाँमा पनि उनीहरूको मन रम्न थालेको छ ।
०००
साँच्चै हो, सदिऔँदेखिको बन्द हात खुलेको छ । यसमा कैयौँ सुरिला सपना थिए, बिस्तारै–बिस्तारै बज्ने मायालु मीठो धुन थियो, जहाँ जिन्दगी गुनगुनाइरहेको थियो, हल्लिरहेको थियो । सप्तरंगी किरणको आशा, हौसला जमाना बदल्ने, सपना हरेक खालीपनलाई खुसीको रंगले भर्ने । एउटा लामो उडान, जसले लैजान्छ, दुनियाँलाई आकाशभन्दा माथि, जहाँ मान्छे एकअर्कालाई साँच्चै माया गर्छ । मुस्लिम महिलाको खुलेको मुठ्ठीले अब थाम्छ, एकअर्काको हात ।
संसारभरको साहित्यमा स्त्रीबारे यति लेखिएको छ कि अब लेख्न शब्द नै नहुने भयो । दुनियाँको प्रत्येक सभ्यता र संस्कृतिले स्त्रीलाई अगाध सिर्जनशील मानेको छ । स्त्रीको यति प्रतिरूप, यति छवि रचिएको छ, यसको मायामा स्त्रीजातिको वास्तविक आकार धमिलो हुँदै गयो । फेरि थुप्रै वर्षपछि पुरुषको चिन्तन, सिर्जना, लेखनभन्दा अलग महिलाले आफ्नै बारेमा लेखे, सोचे र रचे, धेरैपटक दु:ख र प्रतिक्रियामा । यो इतिहासको अँध्यारो युगमा हराएको महिलाको अस्तित्व खोज्ने प्रयत्न थियो ताकि जिन्दगी खुसी–सुखी हुन सकोस्, सही दिशामा हिँड्न सकोस्, पृथ्वीमा महिला हुनु सहज र स्वाभाविक हुन सकोस् । समयको, बर्बर युगको गुफा–कन्दरा, मध्यकालको सामन्ती र अँध्यारोको लामो यात्रा तय गरेर आएका महिलाको स्वागत बीसौँ शताब्दीले गर्‍यो र भन्यो– ‘म तिम्रो प्रतीक्षा गरिरहेको थिएँ । म समय, स्वयं तिम्रो सामुन्ने छु ।’
लाखौँ सालको इतिहासमा यस्तो पहिलोपटक भएको थियो– समय धरतीमा एउटा यात्रा बनेर महिला जातिका लागि आएको थियो । एउटा यस्तो यात्रा, जुन अहिले पनि सुरु मात्र भएको छ । चार पाइलाको मात्र दूरी तय भएको छ । तर, यतिमै धेरै जन्जिरहरू चुँडिइसके, धेरै अँध्यारो मेटिइसक्यो ।
महिला आउने हरेक जीवनको एक नयाँ सम्भावना हो । लाखौँ सालको इतिहासमा मानव नश्लको प्रजनन, संस्कार, परिवार निर्माण–पोषण, संस्कृतिको रचना उसको मुख्य दायित्व रहयो । आउने सदिमा जीवनलाई स्टयान्डर्ड र अर्थपूर्ण बनाउन महिलाको कर्मको उत्तिकै जरुरत हुन्छ । मनुष्यलाई आधार दिन उसको मानसिक ऊर्जा जरुरत हुन्छ । यो समयमा हामीले मात्र त्यसको आरम्भिक झलक देखेका छौँ । नयाँ स्वरूपको नयाँ अन्दाजले जीवनको एउटा नयाँ गीत लेख्नेछ । यो समय महिला आउँदै गरेको पदचाप सुन्दै छ ।

प्रतिक्रिया