सरकारको नेतृत्वमा हानथाप

काठमाडौं, २० असोज । डा. बाबुराम भट्टराईपछि सरकारको नेतृत्व कसले गर्नेे भन्नेमा राजनीतिक दलका नेताहरूबीच हानथापको क्रम जारी छ । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा पनि एमाओवादी, कांग्रेसलगायत दलका नेताहरूले सरकारको नेतृत्व आ–आºनो दलले पाउनुपर्ने अडान दोहोर्‍याए ।
कांग्रेस नेता दीपकुमार उपाध्यायले सहमतिको सरकारको नेतृत्व गर्ने अवसर आफूहरूले पाए पार्टी सभापति सुशील कोइराला सर्वसम्मत उम्मेदवार हुने दाबी गरे । सरकारको नेतृत्वमा वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले दाबी गरिरहेका बेला नेता उपाध्यायले निर्वाचित सभापतिको विकल्प नभएको बताए ।
‘महाधिवेशनबाट निर्वाचित सभापतिको जत्ति उचाई अन्य नेताको हुँदैन,’ उनले भने, ‘निर्वाचित सभापतिको नाममा विमति राख्नु नैतिक मूल्य–मान्यताविपरीत हुन्छ ।’ एमाओवादी नेता हरिबोल गजुरेलले अहिलेको अवस्थामा कांग्रेसले सरकारको नेतृत्व दाबी गर्न नमिल्ने बताए । ‘संविधान बन्ने अवस्थामा मात्र पाँचबुँदे सहमतिअनुसार कांग्रेसको नेतृत्व स्वीकार गर्छौं
भनेका थियौँ,’ नेता गजुरेलले भने, ‘तर, सहमति भत्किएर संविधान नबनेपछि सरकारमा कांग्रेसको दाबी स्वीकार्य हुँदैन ।’
सामान्य अवस्थामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री नबन्ने भए पनि शान्तिप्रक्रियामा स्वर्गीय गिरिजाप्रसाद कोइरालापछिको शीर्ष नेता दाहाल भएकाले सहमतिको सरकार उनकै नेतृत्वमा बनाउन उपयुक्त हुने बताए । तत्काल दलहरूबीच सहमति जुट्ने
अवस्था नदेखिएकाले अहिलेकै सरकारलाई सहमतीय सरकारको रूप दिएर जानुपर्ने धारणासमेत उनले व्यक्त गरे ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाले तत्काल सरकारको नेतृत्व कसले गर्ने भन्नेमा प्रमुख दलको दाबी रहेकाले स्वतन्त्र व्यक्तिको नेतृत्वमा निष्पक्ष चुनावी सरकार उपयुक्त हुने बताए ।

प्रतिक्रिया