नेपालगञ्ज, १९ असोज । गृहमन्त्री समेत रहेका विजय गच्छेदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकसँग पार्टी एकताको घोषणा गरेका थरुहट तराई पार्टीका अध्यक्ष लक्ष्मण थारु कारवाहीमा परेका छन् ।
कञ्चपुरको महेन्द्रनगरमा आज विहान बसेको थरुहट तराई पार्टीको केन्द्रीय समितिको बैठकले अध्यक्ष थारुलाई साधारण सदस्य समेत नरहने गरेर कारबाही गरेको हो । फोरम लोकतान्त्रिकसँग पार्टी एकताको घोषणा गर्ने अध्यक्ष थारुलाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको बैठक पछि जारी विज्ञप्तिमा उल्लेख छ ।
बैठकले फोरम लोकतान्त्रिक र थारुहट पार्टीबीच कुनै प्रकारको एकता नभएको स्पष्ट पार्दै भ्रममा नपर्न आफ्ना नेता तथा कार्यकतालाई आह्वान गरेको छ । बैठकले अध्यक्ष थारु मात्र गच्छेदार नेतृत्वको फोरम लोकतान्त्रिकमा प्रवेश गरेको दाबी गरेको छ ।
दाङमा बिहीबार फोरम लोकतान्त्रिकका अध्यक्ष एवम् गृहमन्त्री गच्छेदारका साथ उपस्थित अध्यक्ष थारुले आफू नेतृत्वको पार्टी र फोरम लोकतान्त्रिकबीच एकता भएको घोषणा गरेका थिए ।
‘अध्यक्ष थारु विभिन्न कुलतमा फसेका छन्, सुरा–सुन्दरीमा लिप्तभएर चरित्रहिन भईसकेका छन्,’ बैठक पछि जारी विज्ञप्तिमा भनिएको छ, ‘आफ्नै नेतृत्वका रहेको ५ वटा संगठनलाई थारुले धरासयी बनाईसकेका छन् ।’
अध्यक्ष थारुले यस अघि निर्माण गरेका थारु संयुक्त राष्ट्रिय मोर्चा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी, थरुहट स्वायत्त राज्य परिषद् र थारुहट तराई पार्टी निर्माण गरिसकेका छन् ।
‘थरुहट आन्दोलनको मूल मर्म भावना र पार्टीको समग्र विधी, विधान, घोषणापत्र र केन्द्रीय बिस्तारित बैठकको निर्णय बिपरितका कार्यहरु अध्यक्ष थारुले पटक–पटक गरेका छन्’ विज्ञप्तिमा भनिएको छ, ‘फोरम लोकतान्त्रिकको सदस्यता लिएर अध्यक्ष लक्ष्मण थारुले थरुहट आन्दोलनप्रति ठूलो धोखा गरेका छन् ।’
महेन्द्रनगरमा बसेको बैठकमा ३९ सदस्सीय थरुहट पार्टीको केन्द्रय समितिमा ३८ जना सदस्य सहभागी रहेको सचिव मीनराज चौधरीले जानकारी दिए । बैठकमा अध्यक्ष थारु मात्रै अनुपस्थित रहेको चौधरीको दाबी छ ।
मधेस आन्दोलनको माग ‘एक मधेस एक प्रदेश’को विरोधबाट उच्च राजनीतिक छवि बनाएका थारु पछिल्ला समयमा विवादमा पर्दै आएका छन् । मधेसवादी दलहरुसँगको गठबन्धन होस वा पछिल्लो पटक फोरम लोकतान्त्रिकसँगको पार्टी एकीकरण सबैमा उनी आफ्नै संगठनबाट कारबाहीमा पर्दै आएका छन् । उनैले जन्माएका पाँच वटा संगठनहरु समेत थारुकै कारण आफ्नै अस्तित्वको खोजीमा छन् ।
यस अघि उनलाई प्रहरीले काठमाडौंको बागबजारबाट एक गेष्टहाउसमा महिलाहरुसँग अनुचित कार्यगर्दै गरेको अवस्थामा पक्राउ गरेर कारबाही गरिसकेको पनि छ ।
प्रतिक्रिया