प्रेम चबौधरीद्वारा सुदेश पराजित

काठमाडौं, १९ असोज । नेपाल आर्मी क्लबका प्रेम चौधरी र एपिएफका कवीन्द्र महर्जन हयापी डिल्स राष्ट्रव्यापी सिनियर पुरुष तथा महिला बक्सिङ प्रतियोगिताको पुरुष ५२ केजी तौलसमूहमा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको खेलमा प्रेमले विश्व च्याम्पियनसिपको अनुभवसमेत बटुलिसकेका एवम् आफ्नो तौलसमूहका विजेता नेपाल प्रहरीका सुदेश मानन्धरलाई ६–३ ले पराजित गरे । अर्को सेमिफाइनलमा कवीन्द्रले दाङका चन्द्रज्योति थापाको चुनौती ८–६ ले पन्छाए ।
पुरुषको ४९ केजीमा कैलालीका लक्ष्मण साउदले काठमाडौंका कमल खड्का तथा एपिएफका विक्रम परियारले आर्मीका रेशम शाहीलाई पाखा लगाउँदै उपाधि भिडन्त पक्का गरे ।
पुरुषको ५६ केजीमा एपिएफका युकेश नगरकोटीले सुनसरीका महेश आलेमगर र प्रहरीका दिनेश श्रेष्ठले आर्मीका ओमबहादुर पुन, ६० केजीमा एपिएफका पूर्णबहादुर लामाले आर्मीका गोपाल सुनुवार र प्रहरीका सुरेन्द्रबहादुर कठायतले काठमाडौंका राधे मगर तथा ६४ केजीमा प्रहरीका भूपेन्द्र थापाले भक्तपुरका प्रवीण मगाजु र आर्मीका एकबहादुर घलले एपिएफका विकास लामालाई पाखा लगाउँदै फाइनलयात्रा तय गरे ।
नेपाल बक्सिङ संघद्वारा आयोजित प्रतियोगिताको महिला ५७ केजीमा दाङकी विमला चौधरीले सुनसरीकी प्रमिला राईलाई २५–११ ले पन्छयाउँदै एपिएफकी सञ्जु लामासँग फाइनल भेट पक्का गरिन् । ५७ केजीमा प्रहरीकी नीशा तामाङले एपिएफकी मुगामाया पाख्रिनलाई
१४–४ तथा आर्मीकी मीना गुरुङले मेघदूतकी सिर्जना लामालाई आरएससीका आधारमा हराएर फाइनलमा पुगे । ५१ केजीमा एपिएफकी माया चौधरी र थानकोटकी प्ररुषा श्रेष्ठ फाइनलमा पुगे । मायाले बोसिगाउँकी सुनीता महर्जन तथा प्ररुषाले थानकोटकै कबुना श्रेष्ठको चुनौती समाप्त पारे ।
महिलाको ४८ केजीमा एपिएफकी प्रमिला पाण्डेले रोल्पाकी नान्जा बुढामगर तथा बोसिगाउँकी ललिता महर्जनले युएनडिसी, दाङकी गीता थापामगरलाई पराजित गरी फाइनलमा पुगे । ४५ केजीमा भक्तपुरकी शर्मिला लामा तथा प्रहरीकी दिवाना शेर्मा फाइनल प्रवेश गरे । प्रतियोगिता शुक्रबार सम्पन्न हुनेछ ।

प्रतिक्रिया