उदयपुरलाई यु–२० महिला हयान्डबल उपाधि

काठमाडौं : उदयपुरले प्रथम यु–२० राष्ट्रिय महिला हयान्डबल प्रतियोगिताको उपाधि बिहीबार जितेको छ । महाराजगन्जस्थित नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानमा भएको फाइनलमा उदयपुरले कास्कीलाई १०–१ गोलअन्तरले हरायो । तेस्रो स्थानका लागि भएको खेलमा दोलखाले दाङलाई ६–० ले पराजित गर्‍यो । नेपाल हयान्डबल संघद्वारा आयोजित प्रतियोगितामा उदयपुरकी रञ्जना राई उत्कृष्ट खेलाडी तथा कास्कीकी अलीशा लामिछाने उत्कृष्ट गोलरक्षक चुनिए । प्रतियोगिताभर कुल ३१ गोल गरेकी उदयपुरकी वन्दना राई सर्वाधिक गोलकर्ता बनिन् । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामा, प्रहरी प्रशिक्षण प्रतिष्ठानका डिआइजी टपेन्द्रध्वज हमाल र सशस्त्र प्रहरी बलका एआइजी दुर्जकुमार राईले पुरस्कृत गर्नुभयो । तीनदिने प्रतियोगितामा विभिन्न ८ जिल्लाका ९ टिम सहभागी थिए । (सौस)

प्रतिक्रिया