दसैँमा काभ्रेस्तरीय कराते

काभ्रे : जिल्ला कराते संघको व्यवस्थापनमा काभ्रेमा रहेका नेपाल सितोरियो कराते संघ शाखा डोजोहरूले ६/६ महिनामा जिल्लास्तरीय प्रतियोगिता आयोजना गर्ने भएका छन् । बनेपामा पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला कराते संघका पदाधिकारीहरूले खेलाडीहरूको हौसला बढाउन विगत १३ वर्षदेखि स्थगन रहेको कराते प्रतियोगिता निरन्तर सञ्चालन हुने जानकारी दिएका हुन् ।
विजयादशमीको अवसरमा साँगा डोजोले आउँदो ३ र ४ कात्तिकमा नवौँ जिल्लास्तरीय सितोरियो कराते प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगितामा २०, २५, ३०, ३५, ४०, ४५, ५०, ५५, ६० र फ्री–वेट पुरुषतर्फ तथा २५, ३०, ३५, ४०, ४५, ५० र फ्री–वेट महिलातर्फका खेलाडी सहभागी हुनेछन् । किक बक्सिङ पुरुषतर्फ ५०, ५५ र ६० केजी तौलसमूहमा प्रतिस्पर्धा हुनेछ भने कातातर्फ समूहगत प्रतिस्पर्धा हुनेछ । जिल्लामा रहेका २२ डोजोका करिब सात सय खेलाडीबाट २ सय ८० खेलाडी प्रतियोगितामा सहभागी हुनेछन् । पत्रकार सम्मेलनमा साँगा डोजोका प्रमुख प्रकाश श्रेष्ठ, जिल्ला प्रमुख शाखा डोजोका प्रशिक्षक ओमप्रकाश नकर्मी, प्रशिक्षक तथा हेलम्बु यातायात सेवा समितिका अध्यक्ष राजेश श्रेष्ठलगायतका व्यक्तिको सहभागिता थियो । एउटा प्रतियोगिताको समापनमा अर्काे खेल आयोजना गर्ने डोजो र स्थान छनोट गरिसक्ने गरी सबै डोजोलाई क्रियाशील गराउन लागिएको श्रेष्ठले जानकारी गराए ।
प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको यही २५ असोजमा तौल लिने र २७ गते टाइसिट प्रकाशन गर्ने तयारी गरिएको छ । केही महिनाअघि मात्रै काभ्रेको महादेवस्थान डोजोले उक्त प्रतियोगिताको आयोजना गरेको थियो । (सौस)

प्रतिक्रिया