असन्तुष्ट जनजाति नेताद्वारा एमाले परित्याग

काठमाडौं, १९ असोज । एमालेका असन्तुष्ट जनजाति नेताहरूले जातीय र वर्गीय मुक्ति आन्दोलनलाई सँगै लैजाने भन्दै एमाले त्यागेको घोषणा गरेका छन् । एमालेले वर्गीय र जातीय दुवै मुद्दालाई छाडिसकेको आरोप लगाउँदै उनीहरूले वर्गसंघर्षको नेतृत्व पनि नयाँ बन्ने पार्टीले गर्ने दाबी गरे ।
अग्रगामी विचार समूहले बिहीबार राष्ट्रिय सभागृहमा गरेको कार्यक्रममा बोल्ने सबै वक्ताले आफूहरूलाई जातिवादी भनेर प्रचार गरिएको भन्दै तीव्र आक्रोश पोखेका थिए । आफूहरूले जातीय कुरा नउठाएको दाबी गर्दै उनीहरूले एमाले नेतृत्व जातिवादी भएको आरोप लगाए ।
‘हामीले जातीय कुरा गरेका होइनौँ, नेतृत्व जातिवादी भएको हो,’ सबै वक्ताले प्रस्टीकरणको शैलीमा भने, ‘वर्गीय मुक्तिसँगै सबैखाले मुक्तिको आवाजलाई उठाउँछाँै ।’ बोल्ने सबै नेताले अधिकांश समय जातिवादको विरोधमा खर्चेका थिए ।
उपाध्यक्ष राईले जातीय, वर्गीय मुक्ति र सामाजिक न्यायका लागि एमाले छाडेको बताए । ‘एमालेलाई सामन्ती सोच र अवसरवादी चरित्रका साथ अघि बढाइएको छ,’ उनले भने, ‘जातीय, वर्गीय मुक्ति र सामाजिक न्यायका लागि एमाले त्याग्नुपरेको हो ।’ समानताको कुरा गर्दा जातिवादीको आरोप लगाइएको भन्दै उपाध्यक्ष राईले आक्रोश पोखे । ‘हामीले समानताको कुरा गर्दा साँघुरो सोच भएकाहरूले जातिवादी भनेको सुन्दा दया लाग्छ,’ उनले भने, ‘मधेसीहरूले अधिकार माग्यो भने यी साँघुरो सोच भएकाहरूले विखण्डकारी भन्छन् ।’
उपाध्यक्ष राईले एमालेले उत्पीडितहरूको पहिचान र अधिकारलाई अस्वीकार गरेकाले पार्टी छाडेको बताए । उनले भने, ‘जसले मेरो पहिचानलाई स्वीकार गर्दैन, त्यस्तो पार्टीलाई म स्वीकार गर्दिनँ ।’ नेता राजेन्द्र श्रेष्ठले एमालेले गद्दारी गरेर जनतालाई धोका दिएको आरोप लगाए । ‘एमाले नेतृत्वले संघीयताको टोपी लगाएर, एकात्मकताको जनै लगायो,’ उनले भने । नेता विजय सुब्बाले एमालेले उत्पीडितहरूलाई धोका दिएको आरोप लगाउँदै जनतामाथिको धोकाको हिसाब–किताब चुक्ता गर्ने चेतावनी दिए । अर्का नेता रिजवान अन्सारीले एमाले वैचारिक रूपमा पतन भइसकेको आरोप लगाए ।
‘एमालेबाट माक्र्सवाद र जनताको बहुदलीय जनवादको आत्मा उडिसकेको छ, एमाले लास भइसकेको छ,’ उनले भने, ‘हामी लास कुरेर बस्न सक्दैनौँ, हामीले मरेको एमाले छाड्याँै, जलाउने जिम्मा जनतालाई ।’ कार्यक्रममा मीना गुरुङ, डिबी नेपाली, मझीलाल थारू थनेत, रामसिंह यादवलगायतले एमालेले उत्पीडितहरूमाथि गद्दारी गरेको आरोप लगाए ।
नेताहरूले पार्टीभित्रै अन्तरसंघर्ष गर्ने भन्दै एमालेमै बसेका नेताहरूको तीव्र विरोध गरेका थिए । ‘अग्रगामी विचार समूह’मा रहेका १० मध्ये ४ नेता एमालमै बसेका छन् । पोलिटब्युरो सदस्य पृथ्वी सुब्बा गुरुङ, रामचन्द्र झा, किरण गुरुङ र दलबहादुर राना घोषणा गरेर पार्टी काममा फर्किसकेका छन् । उपाध्यक्ष राईले पार्टीभित्र बसेर एमालेलाई सच्याउनु असम्भव भएको बताए । उनले भने, ‘हलेदो भनेर चिनिसकेपछि कोट्याउनुको कुनै अर्थ छैन ।’ अर्का नेता विजय सुब्बाले केही नेता पार्टीमा फर्किएर आफ्नो सन्ततीमाथि अन्तर्घात गरेको आरोप लगाए । ‘एउटा गुरुङ फेरि झलनाथ, माधव र केपीको पछुवा भएर गएको छ,’ नेता पृथ्वी सुब्बा गुरुङप्रति लक्ष्य गर्दै उनले भने, ‘उसले आफ्नो सन्ततीमाथि ठूलो अन्तर्घात गरेको छ ।’

५ सय १७ ले छाडे एमाले
केन्द्रीय कमिटीका ६ नेतासहित ६१ जिल्लाका ५ सय १७ नेताले पार्टी परित्याग गरेका छन् । उपाध्यक्ष अशोक राईसहित केन्द्रीय समितिका विजय सुब्बा, राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ, वीरबहादुर लामा र अजम्बर राई काङवाङले पार्टी परित्याग गरेका हुन् ।
पार्टी परित्याग गर्ने ५ सय १७ मध्ये केन्द्रीय निकाय र विभागमा रहेका ४६ जनाको नाम उपाध्यक्ष राईले पढेर सुनाएका थिए । कार्यक्रम सुरु हुनुअघि पार्टी छाड्ने नेताहरूलाई परित्यागका लागि फारम भर्न लगाइएको थियो । फारम राखेका स्थान चाल नपाएर केही नेताको नाम छुटेको थियो ।
पार्टी छाड्नेमा जनजाति, मधेसी र मुस्लिम समुदायका छन् । ६१ वटै जिल्ला कमिटीबाट पार्टी छाड्ने जिल्ला नेताहरूको नाम आएको नेता अजम्बर राई काङमाङले बताए । उनका अनुसार ७५ मध्ये दार्चुला, बैतडी, डडेल्धुरा, मनाङ, रुकुम, डोटी, जुम्ला, हुम्ला, कालिकोट, मुस्ताङ, बझाङ र बाजुरा जिल्ला कमिटीबाट भने परित्याग गर्नेहरूको लिस्ट आएको छैन ।
एमालेमै बस्ने भनेर प्रचार गरिएका केन्द्रीय सदस्य वीरबहादुर लामा पनि पार्टी परित्याग कार्यक्रममा सामेल भए । बुधबारसम्म पार्टी काममा फर्किएको भनेर प्रचार गरिएका लामा पनि कार्यक्रममा आउँदा कार्यकर्ता उत्साही भएका थिए ।

सभासद्हरूलाई परित्याग गराइएन
कार्यक्रममा ११ जना सभासद्लाई आसनग्रहणका लागि बोलाइए पनि पार्टी परित्यागको घोषणा भने गराइएन । स्रोतका अनुसार संविधानसभा पुन:स्थापनको सम्भावनालाई ध्यानमा राख्दै सभासद्हरूलाई परित्याग नगराइएको हो । सभासद्हरू डा. मंगलसिद्धि मानन्धर, राजकुमार राई, महेश चौधरी, हितकाजी गुरुङ, भगवती चौधरी, उर्मिला शाह, डम्बर सम्बाहाम्फे, लक्की शेर्पा, भोगीलाल यादवलगायतलाई आसन ग्रहण गराइए पनि परित्यागको सूचीमा भने उनीहरूको नाम राखिएन ।
यसैबीच, कार्यक्रमको प्रत्यक्ष प्रसारण गरेको भन्दै रामेछापका एमाले कार्यकर्ता हिरण्ड भट्टराईले विभिन्न सञ्चारमाध्यमलाई धम्की दिएको आयोजकले जनाएको छ । उनले प्रत्यक्ष प्रसारण नरोके सञ्चारमाध्यम नै जलाइदिने धम्की दिएको आयोजकको दाबी छ । परित्याग कार्यक्रमको दुई टेलिभिजन र विभिन्न एफएमले प्रत्यक्ष प्रसारण गरेका थिए ।

प्रतिक्रिया