काठमाडौं, १८ असोज । सरकारले नेपाली सेनाका दश जना उच्च अधिकृतहरुको बढुवा गरेको छ ।
मन्त्रिपरिषद्को आज सिंहदरबारमा बसेको बैठकले सहायक रथीमा राजु बस्नेत, प्रभुराम शर्मा, बिजयध्वज कार्की, समिर शाही र सुवर्णबहादुर महत लाई बढुवा गरेको सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले जानकारी दिए ।
मानवअधिकार उल्लंघनको आरोप खोप्दै आएका बस्नेतको लामो समय पछि बढुवा भएको छ । उनलाई सशस्त्र द्वन्द्वका समयमा भैरवनाथ गणमा ४५ जना माओवादी समर्थकलाई वेपत्ता बनाएको आरोप छ ।
त्यसै गरेर महासेनानीमा बाबुराम श्रेष्ठ, अरुणकुमार पाल, प्रदीपजंग केसी, निरज पौडेल र सन्तोष ढकालको बढुवा भएको छ ।
सरकारले राष्ट्रपति कार्यालयका सचिव वामन प्रसाद न्यौपाने र उद्योग सचिव उमाकान्त झाले पदबाट दिएको राजीनामा स्वीकृत गरेको सञ्चार मन्त्री यादवले बताए ।
सरकारले देशभर सुपथ मुल्यका पसल सञ्चालन गर्न पनि स्वीकृति प्रदान गरेको छ । दशैं, तिहार र छठ पर्वमा चिनी आपूर्ति कम हुन नदिन तथा मूल्य घटाउन नेशनल ट्रेडिङ एवम् साल्ट ट्रेडिङलाई सरकारले निर्देशन दिएको छ । त्यसका लागि उनीहरुलाई भन्सार छुटमा २० मेट्रिक टन चिनी आयात गर्न अनुमति दिने निर्णय गरेको यादवले बताए ।
मन्त्रिपरिषदले जलसंशाधन विकास कार्यक्रमका लागि एसियाली विकास बैंकले दिने ९६ करोड रुपियाँ अनुदान स्वीकार गर्ने निर्णय गरेको मन्त्री यादवले बताए ।
प्रतिक्रिया