युएईविरुद्ध नेपाललाई ऐतिहासिक सफलता

काठमाडौं, १८ असोज । केही सातापहिले आइसिसी लिग क्रिकेट डिभिजन–फोरको उपाधि जित्दा प्रदर्शन गरेको लयलाई निरन्तरता दिँदै नेपालले बुधबारदेखि इमिरेट्समा सुरु भएको एसियाली क्रिकेट काउन्सिल (एसिसी) एलिटकपमा विजयी सुरुआत गरेको छ । प्रतियोगिताको पहिलो खेलमा नेपालले कठिन प्रतिद्वन्द्वी तथा आयोजक टोली युनाइटेड अरब इमिरेट्स (युएई) लाई चार विकेटले पराजित गरेको हो । एकदिवसीय क्रिकेटमा युएईविरुद्ध नेपालको यो पहिलो जित हो । एसिसीस्तरमा सिनियरतर्फ नेपालले उपाधि जित्न नसक्नुमा प्रतिद्वन्द्वीका रूपमा युएई पनि एउटा प्रमुख कारण रहँदै आएको छ ।
चर्चित शारजाह क्रिकेट मैदानमा भएको खेलमा नेपालका लागि बलिङतर्फ शक्ति गौचन र वसन्त रेग्मी तथा ब्याटिङतर्फ अनिल मण्डल नायक बने । पछिल्लो समय राम्रो लयमा रहेका शक्तिले पाँच र वसन्तले तीन विकेट लिएपछि टस जिती पहिला ब्याटिङ गरेको युएई ४०.५ ओभरमा १३३ रनमा सीमित भएको थियो । सुस्त गतिमा ब्याटिङ गर्दै नेपालले ४५.२ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । सुरुका चार ब्याट्सम्यानमध्ये तीन जना दोहोरो अंक छुन नसक्दा प्रारम्भिक ब्याट्सम्यान अनिलले ६३ रनको योगदान गरे । त्यस्तै मध्यक्रमका शरद भेषवाकरले १६, प्रदीप ऐरीले १७ र पृथु बास्कोटाले १५ रन जोडे ।
सुभाष खकुरेल १ तथा ज्ञानेन्द्र मल्ल र पारस खड्का समान चार रनमा आउट भएपछि कुनै समय ११–३ को स्थितिमा रहेको नेपालका लागि अनिलले चौथो विकेटका लागि शरदसँग ३७ र पाँचाँै विकेटका लागि प्रदीपसँग ४६ रनको साझेदारी गरी जितको बलियो आधार तयार गरे । टोलीले ११२ रन जोड्दा छैटाँै विकेटका रूपमा आउट हुनुअघि अनिलले १२९ बलको सामना गर्दै पाँच चौका प्रहार गरेका थिए । पृथु र शक्तिबीच साताँै विकेटका लागि अविजित २२ रनको साझेदारी भयो ।
सुस्त गतिमा रन बनिरहेका बेला छैटाँै नम्बरमा ब्याटिङ गर्न आएका प्रदीपले २४ बल सामना गर्दै दुई छक्का प्रहार गरी विपक्षीलाई दबाब दिएका थिए । चौथो ओभरदेखि नेपालले लगातार पाँच मेडन ओभर सामना गरेको थियो । अनिल म्यान अफ द म्याच भए । केही साताअघि सम्पन्न आइसिसी डिभिजन–फोरमा अनिलले अमेरिकाविरुद्ध शतकीय इनिङ खेलेका थिए ।
यसअघि पहिलो विकेटका लागि २३ रनको साझेदारी गरे पनि युएईको ब्याटिङ कमजोर रहयो । मध्यक्रमका ब्याट्सम्यानले घरेलु इनिङ सम्हाल्ने प्रयास गरे पनि उनीहरू पनि नियमित अन्तरमा आउट भएपछि युएई सम्भावित योगफलसम्म पुग्न सकेन । कुनै समय ५१–४ को स्थितिमा रहेको युएई ८२–६ र ११८–७ को स्थितिमा पुगेको थियो । बलिङतर्फ शक्तिले ८.५ ओभरमा एक मेडन राखेर ३२ रन खर्चिएका थिए । वसन्तले ६ ओभर बलिङ गर्ने क्रममा एक मेडन राखेर १३ रन खर्चिए । पारस र अमृतले
एक–एक विकेट लिए । पाँचौँ विकेटका लागि भएको ३० रनको साझेदारी र साताँै विकेटका लागि भएको ३५ रनको साझेदारी शक्तिले तोडेका थिए । केही साताअघि मलेसियामा सम्पन्न आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन–फोरमा २१ विकेट लिएका वसन्तले सुरुका चार ब्याट्सम्यानमध्ये दुईको विकेट लिएका थिए । सन्जम रेग्मीले नौ ओभर बलिङ गर्ने क्रममा दुई मेडन राख्दै ३० रन खर्चिए भने पाँच ओभर बलिङ गरेका अमृतले एक मेडन राखेर १२ रन मात्र विपक्षीलाई दिएका थिए ।
सन १९९६ देखि हरेक दुई वर्षमा सञ्चालन हुने गरी सुरु भएको एसिसी एलिटकपमा यसअघि नेपाल युएईविरुद्ध विजयी हुन सकेको थिएन ।
सन् १९९८ को संस्करणमा समूहचरणमा भिडेको नेपाल फराकिलो रनअन्तरले पराजित भएको थियो ।
सन् २००० मा समूहचरणमा युएईविरुद्ध एक विकेटले पराजित हुन पुगेको नेपाल सन् २००२ को संस्करणमा समूहचरण र फाइनलमा युएईविरुद्ध भिडे पनि इतिहास फेर्न भने सफल भएन । सन् २००६ र २००८ को संस्करणमा नेपाल र युएईबीच सेमिफाइनलमा प्रतिस्पर्धा भएको थियो जसमा नेपाल दुवैमा पराजित भयो । करिब एक वर्षअघि सञ्चालन भएको एसिसी टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा पनि नेपाल युएईसँग पराजित भएको थियो । युएई अहिले आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन वन
(च्याम्पियनसिप) खेलिरहेको छ । समूह–बीअन्तर्गत दोस्रो खेलमा नेपाल आगामी शनिबार कुवेतसँग भिड्नेछ । त्यसपछि नेपालले हङकङ र साउदी अरबसँग पनि प्रतिस्पर्धा गर्नेछ ।

ओमान र हङकङको फराकिलो जित
बुधबार भएका अन्य खेलमा ओमानले भुटानलाई ३१२ र हङकङले साउदी अरबलाई २०९ रनले पराजित गरे । समूह–एमा ओमानले जिसाद मकसुदको १९९ रनको मद्दतमा पहिला ब्याटिङ गर्ने क्रममा ४१५ रन जोडेको थियो । ओमानका लागि अन्य दुई ब्याट्सम्यानले पनि अर्धशतकीय इनिङ खेले । बलिङतर्फ ओमानका अदनान इलियासले ६ विकेट लिए । सोही समूहको अर्को खेलमा अफगानिस्तानले मलेसियालाई ३६ रनले पराजित गर्‍यो । टस जिती पहिला ब्याटिङ गरेको अफगानिस्तानले समिउल्लाह सेनवारीको ५६ र मोहम्मद नाबीको ४७ रनको योगदानमा २३४ रन जोडेको थियो । मलेसियाले भने निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १९६ रन मात्र जोड्न सक्यो । विकेटकिपर सफिक सरिफले अविजित रहँदै ७५ रन जोडे पनि मलेसियाको हार टार्न सकेनन् ।
समूह–बीअन्तर्गत हङकङले इरफान अहमदको ६०, निजाकत खानको ६० र जेमी एटकिन्सनको ४९ रनको योगदानपछि ४८ ओभरमा अलआउट हुनुअघि २७८ रन जोडेको थियो । हङकङका नदिम अहमदले चार विकेट लिएपछि साउदी अरब २२.१ ओभरमा ६९ रनमा सीमित भयो ।

प्रतिक्रिया