काँडामाण्डौको गरिबीसँग लिलामी भावनाहरू

काठमाडौं र काँडामाण्डौ । सुन्दा उस्तै उस्तै लाग्ने नाम । त्यसैले त काँडामाण्डौमा खोपका कारण बालबालिकाको मृत्यु भएको भन्ने खबर सुन्दा कतिपयलाई काठमाडौंमा नै बालबालिकाको मृत्यु भएको हो कि भन्ने भ्रम भएछ । देशको राजधानीमा नै कसरी खोपका कारण यति धेरै बालबालिकाको ज्यान गयो भन्ने कुतूहलता पनि उत्पन्न भयो । तर, देशको राजधानी काठमाडौंमा होइन नेपालको सुदूरपश्चिमको विकट गाउँ काँडामाण्डौमा यो घटना भएको थियो । जहाँ सहरी सभ्यताको नाम निसान थिएन । काँडामाण्डौ पुगी काठमाडौंलाई सम्झँदा यस्तो लाग्थ्यो कि काठमाडौंको सहरी सभ्यताले काँडामाण्डौलाई स्पर्श गर्न अझै अर्को एक शताब्दी लाग्नेछ ।
२०६९ भाद्र ३ गते डोटी जिल्लाको काँडामाण्डौमा जिल्ला जनस्वास्थ्य कार्यालयले बालबालिकाका लागि खोप कार्यक्रम सञ्चालन गर्‍यो । खोप लगाएकै कारण भोलिपल्ट चारजना बालबालिकाको मृत्यु भयो । जतिबेला ती चारजना अबोध बालबालिकाको मृत्यु भयो त्यसबेला म काठमाडौंमा थिएँ । घटनाको अनुगमनका लागि केही दिनको अन्तरालमै काठमाडौंदेखि काँडामाण्डौसम्मको यात्रा तय भयो । काठमाडौंबाट धनगढी हुँदै काँडामाण्डौसम्मको झन्डै आठ सय किमीको यात्रा गर्दा यो देशका सम्पन्नदेखि विपन्नसम्म धेरैका जीवनशैली आँखामा पर्‍यो । देशको एउटै भूभाग भएर पनि कहाँ काठमाडौं कहाँ काँडामाण्डौ । काठमाडौंका भव्य महलदेखि काँडामाण्डौका झुपडीसम्मको दृश्य हेर्दा दुवै ठाउँ एउटै देशका भूभाग हुन् भनेर स्वीकार गर्न पनि गाह्रो भयो । मस्तिष्कले देशकै भूभाग स्वीकार गरे पनि मनले स्वीकारेन् । बालबालिकाको अधिकार बारेमा बुझ्न गएको हुँदा बालबालिका भएतिर आँखा पर्नु स्वाभाविकै थियो । जाँदाजाँदै काँडामाण्डौमै अवस्थित एउटा माध्यमिक विद्यालयमा आँखा पर्‍यो । काँडामाण्डौको विद्यालय र विद्यार्थी देख्नेवित्तिकै काठमाडौंका विद्यालय र विद्यार्थीहरू पनि सम्झनामा आए ।
तर, कहाँको विशाल महलमा लिफ्ट चढेर विद्यालय छिर्ने काठमाडौंका विद्यार्थी कहाँको पानी चुहिने ठाउँमा पढ्ने काँडामाण्डौका विद्यार्थी, कता झोलामा टिफिन बोकेर विद्यालय जाने काठमाडौंका विद्यार्थी कता विहान खाएको ढिँडोको भरमा दिनभरी चिसो भुईंमा लडिबुडी गर्ने विद्यार्थी, कता बच्चालाई कुटेको भनी कुट्ने शिक्षिकलाई कारवाही गर्नुपर्‍यो भनी विद्यालयमा डेलिगेसन जाने काठमाडौंका अभिभावक कता ‘मेरो बच्चालाई कुटी–कुटी पढाइदिनु है सर’ भन्ने काँडामाण्डौका अभिभावक । कताको आइरन गरेका सर्ट, पाइन्ट, टाई र कपालमा तेल दली पोलिस गरेको जुत्तामा ठाँटिएर गाडी चढी विद्यालय जाने काठमाडौंको ठिटो कताको सर्ट भए प्यान्ट नभएको र प्यान्ट भए सर्ट नभएको, जुत्ता भए तुना नभएको र चप्पल भए तुना चुँडिएको चप्पल लगाएर विद्यालय नामको खण्डहरमा जाने काँडामाण्डौको बच्चो । काठमाडौंका विशाल महलहरूमा पढ्ने र काँडामाण्डौको होचा जस्तापाते विद्यालयका पानी चुहिने कोठामा पढ्ने विद्यार्थी दुवै यो देशका उत्तिकै अधिकार बोकेका नागरिक हुन् । दुवै ठाउँका जनताका लागि राष्ट्रपति डा. रामवरण यादव नै हुन् र प्रधानमन्त्री डा. बाबुराम भट्टराई नै हुन् । दुवै ठाउँका विद्यार्थीका आदिकवि भानुभक्त नै हुन् र महाकवि देवकोटा नै हुन् । दुवै ठाउँका विद्यार्थीप्रति राज्यको जिम्मेवारी पनि बराबर हो । यो दुवै ठाउँका शिक्षक, अभिभावक र बच्चाका लागि देशको शैक्षिक ऐन, नियम र कानुन एउटै हो । एउटै शिक्षा प्रणालीमा यी दुवै ठाउँमा विद्यालय सञ्चालन भएका हुन् । तर, यत्रो खाडल किन ?
बालअधिकारको कुरा गर्ने हो भने अधिकार कुन चरीको नाम हो त्यो काँडामाण्डौको ग्रामीण बस्तीलाई केही थाहा थिएन । विद्यालयमा बालबालिकाको हविगत देखेरै थाहा हुन्थ्यो कि बालअधिकारको वकालत गर्नेहरू र गाउँगाउँमा गरिबी निवारणका कार्यक्रम गर्नेहरूलाई यहाँका बच्चा र यहाँको गरिबीको बारेमा सरोकार नै छैन । सरोकार छ भने मात्र भाषणमा र प्रतिवेदनमा सीमित छ । झोले गैरसरकारी संस्थाले दाताबाट ठूलो रकम लिएपछि दातालाई पेश गर्न गरिबको भोको पेटको फोटो खिच्न काँडामाण्डौ पुगेका भए पनि काँडामाण्डौमा अवोध बालबालिका अकालमा मर्दा त्यस्ता संस्थाबाट कुनै राहतका कार्यक्रम ल्याएको पाइएन । एकातिर राज्य उदासिन अर्कातिर गैरसरकारी संस्थाको गैरजिम्मेवारीपना भएपछि देशको दुर्गमले मुहार फेर्न अझै कति समय पर्खन पर्ने हो ? भन्न सकिने अवस्था छैन । दुर्गममा सधैँ दुर्दशा छ, सुगममा सधैँ सुखसयल छ । दुर्गमका दलित बस्तीको हालत त झनै बेहाल छ । काँडामाण्डौमा खोपका कारण जति बालबालिकाहरूको मृत्यु भयो ती सबै दलित परिवारका थिए । लाग्थ्यो नियतिले छानी छानी दलितका घरका बालबालिकालाई लग्यो । तर, नियतिले दलितका बालबालिका छानेको किन हुन्थ्यो, गरिबीले छानेको थियो । पोषणयुक्त खाना खान पाएको भए सायद ती बालबालिकासँग त्यो खोपको असर (खोप खराब नै भए पनि) विरुद्ध लड्न सक्ने क्षमता हुन्थ्यो होला । तर, सामान्य खोपको असर पनि धान्ने क्षमता भएन । पैसा भए उपचार हुन्थ्यो होला, चेतना भए अस्पतालसम्म ती बालबालिका पुग्न पाउँथे होला । तर, केही भएन अकालमै मृत्युवरण गर्नुपर्‍यो ।
अझ विवशता त यस्तो थियो कि जो जो बच्चाहरू मृत्युको मुखमा पुगेका थिए तिनीहरूका बाबु घरमा थिएनन् । परिवारको पेट भर्ने आहार खोज्न भारतमा गएका थिए । बच्चाहरू मृत्युवरण गर्दै थिए । तर, आफ्नो सन्तानको शोक मनाउन भारतबाट बाबुहरू आफ्नो घर आउन सकिरहेका थिएनन् । कारण उनीहरू ऋण काढेर विदेश गएका थिए । ऋण तिर्ने पैसा नकमाई घर आउँदा ऋण माथि ऋण थपिने निश्चित थियो । ‘मर्ने मरिहाले, अब विदेश गएका मान्छे किन फर्केर आउनु ? एउटा त मर्‍यो–मर्‍यो, कमाउने मान्छे बिना कमाइ फर्केर आए भने त अर्को बच्चाको पेट पनि भोकै हुन्छ र मर्छ ।’ स्वयं मृतक बच्चाका आमाहरू काखको अर्को बच्चा देखाउँदै यसो भनिरहेका थिए । आफ्नो बच्चाको अकाल मृत्यु हुँदा एउटी नारीले पतिको रिक्तता कति महसुस गरिन् होला, त्यो भोग्नेलाई मात्र थाहा हुन्छ । तर, लाग्थ्यो उनीहरू आफ्नो गरिबीसँग आफ्ना भावना र पीडाहरूको सम्झौता गरिरहेका थिए । गरिबीको पहाड अगाडि तिनीहरूको भावनाको कुनै मूल्य थिएन । हरेक मिनेट मिनेटमा उनीहरूका भावनाहरू गरिबीसँगै लिलामी भैरहेका थिए ।
काँडामाण्डौको त्यो दलित बस्तीमा अशिक्षा, अन्धकार, अविश्वासले जरा गाडेको थियो । आधुनिक विज्ञान, प्रविधि र चिकित्सापद्धतिप्रति पूरै गाउँ अनभिज्ञ थियो । एकैपटक चार–चार जना बच्चाको मृत्यु हुँदा पनि उनीहरूलाई बच्चाको शवको पोस्टमार्टम गर्नुपर्छ भन्ने समेत थाहा थिएन । बिना पोस्टमार्टम एक घण्टाको अवधिमा ४/४ जना बच्चाको दाहसंस्कार गरेका थिए । खोपका कारण बच्चाको मृत्यु भएको र त्यो पुष्टि हुन पोस्टमार्टम गर्नुपर्ने भन्ने कुरा सुनेपछि मृतक बच्चाका परिवार भनिरहेका थिए– ‘हामीलाई त पोस्टमार्टम गर्नुपर्छ भन्ने नै थाहा भएन, त्यही त गल्ती भयो नि, अब के गर्नु ? हुने कुरा भै हाल्यो ।’
देशको भूभाग काठमाडौं मात्र होइन काँडामाण्डौ पनि हो । नेपाल पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको भूभागमा काँडामाण्डौ पनि पर्छ । काँडामाण्डौबासीहरूले पनि चुनावमा भोट दिएका छन् । राज्यले तोकेको नागरिक दायित्व काँडामाण्डौबासी पनि पूरा गर्छन् । नागरिकले पूरा गर्नुपर्ने जिम्मेवारी पूरा गरिरहेका छन् भने उनीहरूमाथि भेदभाव र असमानता किन ? यसको जिम्मेवार भनेको राज्य नै होइन र ? यस्ता चेतनाशून्य दलित बस्तीलाई माथि नउठाई काठमाडौंमा ५० तले भवन बनाउँदैमा के देश विकास हुन सक्ला र ? राज्यले गम्भीर भएर सोच्ने बेला भएन र ?

प्रतिक्रिया