महाविधेशनका लागि एमाओवादी गृहकार्यमा

काठमाडौं : एमाओवादीले महाधिवेशनको कार्यविधि तय गर्न गृहकार्य थालेको छ । कार्यविधिका लागि सुझाव लिन उसले बुधबार जिल्ला संयोजक, राज्य समिति इन्चार्ज र जनवर्गीय संगठनका संयोजकहरू सम्मिलित दुईदिने कार्यशाला सुरु गरेको छ ।
कार्यशालाले जिल्ला, राज्य र केन्द्रका सम्मेलन कसरी गर्ने तथा प्रतिनिधि छनोट कसरी गराउने भन्ने टुंगो लगाउने एमाओवादीले जनाएको छ । कार्यशालाबाट प्राप्त सुझावका आधारमा पार्टी केन्द्रीय कार्यालयले कार्यविधिको मस्यौदा बनाउनेछ ।
कार्यशालाको पहिलो दिन जिल्ला इन्चार्जहरूले महाधिवेशनका लागि गाउँ तहमा भएका गतिविधि, जिल्ला र राज्य सम्मेलनको तयारीलगायत विषयमा रिपोर्टिङ गरेको केन्द्रीय सदस्य रामप्रसाद बन्जाडेले बताए । उनीहरूले सदस्यता नवीकरणलगायतका लागि समय अपुग भएको गुनासो गर्दै थप्न माग गरेका थिए ।
केन्द्रीय कार्यालयबाट मस्यौदा बनेपछि महाधिवेशन आयोजक समिति बैठक बोलाई कार्यविधि अनुमोदन गराउने एमाओवादी तयारी छ । कार्यविधि पारित भएपछि त्यसैका आधारमा जिल्ला र राज्यस्तरका सम्मेलन तथा केन्द्रको महाधिवेशन हुनेछ । (सौस)

प्रतिक्रिया