‘मेरो छोरा जिउँदो त छ ?’

नेपालगन्ज, १८ असोज । ‘मेरो छोरोलाई कतै देख्नुभयो कि †’ बाँके बिनौना–८ की ५० वर्षीया वृद्ध पातली सुनारले घरमा आउने नयाँ मान्छेलाई यसरी सोध्न थालेको दुई साता भयो । घर र बाटोमा हिँड्नेलाई यी वृद्धा केहीबेर बटुवालाई रोकाउँछिन् अनि छोराका बारे सोधखोज गर्छिन् ।

तर, कसैबाट पनि छोराका बारे जानकारी नपाएपछि उनी टाउकोमा हात राखेर छोरो सम्झँदै भक्कानिन्छन् । उनी भन्छिन्, ‘मेरो छोरो बाँचेको त होला है ?’ इलाका प्रहरी कार्यालय बैजापुरको हिरासतबाट २३ भदौमा बेपत्ता भएका दीपक परियारका बारे बुझ्न गाउँ पुगेका दलित अधिकारकर्मीसँग उनकी आमा पातलीले भनिन्, ‘हजुरहरूले देख्नुभयो भने घर पठाइदिनुहोला ।’
प्रहरी हिरासतबाट बेपत्ता दीपक घर फर्कने आशामा बसेकी छन् उनकी आमा । तर, बेपत्ता भएको २४ दिनसम्म पनि उनी बेखबर छिन् । न प्रहरीले उनलाई भेटाउन सकेको छ न त परिवारका सम्पर्कमा आएका छन् । दीपकका बारे केही पत्ता लाग्न नसकेपछि गाउँका छिमेकी दसैँको तयारीमा जुटे पनि उनको परिवारमा रुवावासी छाएको छ ।
‘दसँैको मुखमा के दशा आइलाग्यो मलाई ।’ पातलीले भनिन्– ‘छोरोले आमा यसपटक राम्रोसँग दसँै मनाउनुपर्छ भनेको थियो ।’ गाउँकै युवतीलाई जवर्जस्ती करणी गर्न खोजेको आरोपमा पक्राउ परेका २० वर्षीय दीपक प्रहरी हिरासतबाटै रहस्यमय तरिकाले बेपत्ता भएका थिए ।
प्रहरीले परियार भागेर राप्ती नदीमा हामफाली बेपत्ता भएको बताएपछि युवकका परिवार झन् मर्माहत बनेका छन् । उनी परिवारको एक्लो छोरा हुन् । आफ्नो नियन्त्रणमा रहेका व्यक्तिलाई सुरक्षा गर्नुको साटो बेपत्ता पारेको भन्दै उनको परिवारले प्रहरीसँग जीवित वा मृत जे भए पनि वास्तविकता बताइदिन हारगुहार गरिरहेका छन् ।
दीपक घरको सहारा हुन् । आमा, पत्नी र छोरालाई उनैले पालनपोषण गर्दै आएका थिए । ‘छोरालाई केही भयो भने त हामी मरेसरह हुन्छौँ,’ पातलीले भनिन्, ‘छोराले गल्ती नै गरेको भए कानुनअनुसार दण्ड दिनुपथ्र्यो । तर, उसलाई बेपत्ता बनाइयो ।’
दीपक बेपत्ता हुँदा चौकीमा कार्यरत प्रहरीलाई जिल्ला प्रहरी कार्यालय बाँकेले कारबाही गरिसकेको छ । प्रहरीले दीपकको खोजी भइरहेको समेत जानकारी दिएको छ । घटनाबारे बुझ्न बाँकेका दलित अधिकारकर्मी बिनौना पुगेका थिए । उनीहरूले बेपत्ता युवकको अवस्था सार्वजनिक गर्न माग
गरेका छन् ।

प्रतिक्रिया