सरकार एमालेले राम्रोसँग चलाउँछः ओली

काठमाडौं, १७ असोज । एमाले नेता केपी ओलीले एमालेको नेतृत्वमा सरकार बने त्यसले सबै भन्दा राम्रोसँग मुलुक चलाउने दावी गरेका छन् ।
प्रेस चौतारी नेपालले आज राजधानीमा गरेको कार्यक्रममा उनले सरकारको नेतृत्वका लागि वार्गेनिङ नगर्ने वताए । कांग्रेसको नेतृत्वमा सरकार बन्नु पर्ने पक्षमा आफुहरु भए पनि प्रधानमन्त्रीको उम्मेदवारी दिन कांग्रेस सफल हुनेमा आशंका समेत ओलीको थियो ।
‘प्रधानमन्त्री महत्वपूर्ण कुरा होइन,’ उनले भने, ‘एमालेले पायो भने सबैभन्दा राम्रोसँग चलाउँछ ।’
नेता ओलीले एमाले प्रधानमन्त्री पदका लागि वार्गेनिङ गरेर हलो नअड्काउने बताए । उनले भने, ‘प्रधानमन्त्रीको उम्मेदवारमा सहमति होलाजस्तो देखिएन ।’ उनले गैरदलीय ब्यक्ति प्रधानमन्त्री हुन नसक्ने पनि बताए ।
उनले संविधानसभाको अनुपयुक्त बनौट जनमतवाट सच्याउन नयाँ चुनावमा जानु पर्ने वताए । संविधानसभाको अनुपयुक्त बनौटकै कारण नयाँ संविधान नबनेको ओलीको दावी छ ।
‘संख्या नपुगेर संविधान नबनेको होइन,’ उनले भने, ‘संविधानसभाको बनावट नै गलत भएर नयाँ संविधान बनेन ।’
यसैबीच, एमाले निकट अखिल नेपाल महिला संघले शुक्रवार हुने जनप्रदर्शन र सभामा सहभागी हुन आह्वान गरेको छ । अध्यक्ष विद्यादेवी भण्डारीले आज विज्ञप्ति जारी गरेर सभामा सहभागी हुन आव्हान गरेकी हुन् ।

प्रतिक्रिया