जनजाति नेताहरुद्वारा कांग्रेस परित्याग

काठमाडौं, १७ असोज । जातीय मुद्दालाई वेवास्ता गरेको आरोप लगाउँदै नेपाली कांग्रेसका पूर्व सभासद् कुमार राईसहितका दुई दर्जन नेता/कार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।
काठमाडौंमा आज पत्रकार सम्मेलन गरेर राईलगायत करिब २० जनाले कांग्रेस परित्याग गरेको घोषणा गरेका हुन् । कांग्रेस परित्याग गर्नेमा पूर्व जिल्ला सभापति पनि छन् ।
यस अघि केन्द्रीय सदस्य जिपछिरिङ शेर्पालगायतका नेताहरुले पनि पार्टी परित्याग गर्ने प्रचार–प्रसार गरिए पनि प्रभावशाली जनजाति नेताहरुको कार्यक्रममा सहभागिता थिए ।
आदिवासी जनजातिहरुले अघि सारेका मुद्दा र मागलाई कांग्रेसले वेवास्ता गरेको आरोप लगाएका राईले आफूहरु कांग्रेसमा बसिरहनुको कुनै अर्थ नहुने बताए । उनले कांग्रेस आदिवासी जनजातिहरुको माग र अधिकारका बारेमा खासै गम्भीर नरहेको आरोप पनि लगाए ।
कांग्रेसले आदिवासी जनजातिका मागलाई सम्बोधन गर्ने जनाए पनि जातीयताका आधारमा अगाडि बढ्न नसक्ने जनाउँदै आएको छ ।
कांग्रेस, एमालेलगायतका विभिन्न राजनीतिक दलमा आवद्ध जनजाति नेताहरुले बिहीबार राजधानीमा कार्यक्रम गरेर अलग पार्टी घोषणा गर्दै छन् ।

प्रतिक्रिया