सत्तारुढ दलहरु मुलुकमा मुठभेड चाहन्छन्

गुल्मी, १७ असोज । एमाले पोलिटब्युरो सदस्य प्रदीप ज्ञवालीले सत्तारुढ पार्टीहरु र प्रधानमन्त्री बाबुराम भट्टराईले मुलुकलाई मुठभेडतर्फ धकेल्न खोजिरहेको आरोप लगाएका छन् ।
गृह जिल्ला गुल्मीमा आज आयोजित कार्यक्रममा उनले राजनीतिक अन्योलताका बीचमा विभिन्न चलखेलहरु पनि भएको बताए । उनले भने, ‘चलखेलहरु नरोकिए मुलुकमा सम्हाल्न नसक्ने संकट आउँछ ।’
नेता ज्ञवालीले सरकार, एमाओवादी र मधेसवादीहरु लचिलो नभए सम्म मुलुकले निकास नपाउने बताए ।
‘एमाओवादी राष्ट्रिय सहमतिको सरकार बनाउन तयार नहुने,’ उनले भने, ‘दलहरुलाई सहमति र सन्तुलित अवस्थामा ल्याउन तयार नहुने हो भने जतिसुकै वार्ताको नाममा सोफा फटाले पनि सहमति हुन सक्दैन ।’
उनले संविधानसभा पुनःस्थापनाको ढोका लगभग बन्द भइसकेको बताएका छन् । अब नयाँ निर्वाचनको तयारी गर्नुको विकल्प नरहेको ज्ञवालीको भनाई छ ।
राष्ट्रपतिले प्रधानमन्त्री तोक्ने वा हटाउने अधिकार नभएको बताएका उनले सरकार गठनको विषयमा राष्ट्रपतिले केही गर्न नसक्ने बताए । संविधानले राष्ट्रपतिलाई सरकार गठनका विषयमा कुनै अधिकार नदिएको उनको भनाई थियो ।

प्रतिक्रिया