ओलम्पियन सिलवाललाई श्रद्धाञ्जली

काठमाडौं, १७ असोज । नेपालको प्रथम ओलम्पियन टोलीका एक सदस्य म्याराथनधावक स्व. भूपेन्द्र सिलवालको स्वर्गारोहण भएको १३ दिनको पुण्यतिथिमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल एमेच्योर एथलेटिक्स संघको आयोजनामा मंगलबार श्रद्धाञ्जली सभाको आयोजना गरियो ।
राखेप परिसरमा भएको उक्त कार्यक्रममा राखेप उपाध्यक्ष पीताम्बर तिम्सिना, सदस्य–सचिव युवराज लामा, कोषाध्यक्ष इन्द्रबहादुर थिङलगायतका पदाधिकारी, विभिन्न संघका प्रतिनिधि, पूर्वसभासद्, खेलाडी, प्रशिक्षक, कर्मचारी, खेलप्रेमीसमेतले स्व. सिलवालको तस्बिरमा पुष्पगुच्छा चढाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए । त्यसअघि स्व. सिलवालको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरिएको थियो ।
कार्यक्रममा राखेप सदस्य–सचिव लामाले विगतमा आफूसँगको भेटमा स्व. सिलवालले गरेको कुराकानी स्मरण गर्दै भने, ‘उहाँ खेलाडीका लागि केही भएन भनेर निरन्तर चिन्ता व्यक्त गर्नुहुन्थ्यो । हामीले त दु:ख पायौँ, अबका खेलाडीले दु:ख नपाऊन् भन्ने भावना उहाँमा थियो ।’
एथलेटिक्स संघका अध्यक्ष नीलेन्द्रराज श्रेष्ठले ओलम्पिकको विवाद चाँडै नै अन्त्य हुनुपर्छ भन्ने उहाँको इच्छा भएको बताउँदै लन्डन ओलम्पिकको अवलोकनले उहाँलाई खुसी तुल्याएको बताउनुभयो । त्यस अवसरमा स्व. सिलवालका भतिजा कृष्णकाजीले स्व. सिलवालको कोट, दौरा, सुरुवाल र टोपी नेपाल ओलम्पिक संग्रहालयका अध्यक्ष क्षितिजअरुण श्रेष्ठलाई हस्तान्तरण गरेका थिए । सिलवालको गत ४ असोजमा ७८ वर्षको उमेरमा निधन भएको थियो ।

प्रतिक्रिया