बिजुली बाल्ने बेलामा शिलान्याश

मंगलटार (काभ्रे), १७ असोज । गाउँमा विद्युत् बाल्नका लागि आयोजना सुरु भएका आधारमा दुई वर्षदेखि नै गाउँ बिजुलीले झिलीमिलि हुनुपर्ने थियो । अझ ठेकेदारसँग भएको सम्झौताको आधारमा पनि गत जेठमै काभ्रेको मंगलटार गाविसको घरघरमा बिजुली बल्नुपर्ने हो । तर, बिजुली बाल्नेमा बेलामा बल्ल ग्रामीण विद्युतीकरण निर्माणको शिलान्याश भएको छ ।
०६६ मा नेपाल विद्युत् प्राधिकरणको सहयोगमा मंगलटार गाविसबासीलाई केन्द्रीय प्रसारणमार्फत बिजुली बाल्नका लागि आयोजना सुरु भएको थियो । तर, प्राधिकरणको ढिलासुस्तीका कारणले मंगलबार आयोजना शिलान्याश भएको हो । उनीहरूले भूमेचुली मंगलटार विद्युत् सहकारी संस्था लिमिटेड गठन गरेर ०६६ सालदेखि नै ग्रामीण विद्युतीकरण सुरु गरेका थिए । ‘आयोजना त ०६६ सालदेखि नै सुरु भएको हो, पहिला ठेक्कामा ढिलाइ भयो, पछि ठेकेदारसँग सम्झौता भएपछि पोललगायतमा ढिलाइ भयो,’ सहकारीका अध्यक्ष इन्द्रकुमार श्रेष्ठले भने, ‘बिजुली बाल्ने बेलामा शिलान्याश भएको छ, अब बल्ला भन्ने आशा छ ।’ विद्युतीकरणको पोल गाडेर स्थानीय विकास अधिकारी गोविन्दबहादुर कार्की र प्राधिकरण काठमाडौं क्षेत्रीय कार्यालयका निर्देशक जुजुभाइ रञ्जितले शिलान्याश गरेका हुन् ।
२३ जुन ०११ म एक वर्षभित्र आयोजना निर्माण पूरा गर्नेगरी रेणु निर्माण सेवा प्रालिसँग सम्झौता भएको थियो । प्राधिकरणले सामान उपलब्ध गराउनुपर्ने भए पनि एक महिनाअघि मात्र काठको पोल उपलब्ध गराएको र फलामे पोल, ट्रान्सफर्मर, तारलगायत सामान अझै उपलब्ध गराउन बाँकी रहेको प्रालिले जनाएको छ । ‘एक महिनाअघि मात्र हामीले पोल पायौँ, फलामे पोल पाउन बाँकी छन्, सबै सामान प्राधिकरणले उपलब्ध गराइदिए, आगामी चैतभित्र निर्माण पूरा गरिदिन्छौँ,’ रेणु सेवाका प्रतिनिधि राजुकुमार श्रेष्ठले भने । स्थानीयबासीले प्राधिकरणलाई ढिलासुस्ती नगरी तुरुन्तै सबै प्रक्रिया अघि बढाएर सर्वसाधारणको आकांक्षाअनुसार छिटो बिजुली बालिदिन आग्रह गरेका छन् ।
छिमेकी गाविसमा बत्ती बलेको हेरेर चित्त बुझाउने मंगलटार क्षेत्रका बासिन्दाले तीन वर्षअघि नै बिजुली बलिसक्ने आशा गरेका थिए तर तीन वर्षसम्म पोल गाडेको समेत देख्न नपाएपछि निराश बनेका थिए । शिलान्याशले उनीहरूमा झिनो आशा जगाएको छ । ‘चाँडै बिजुली बल्ला भन्ने आशा निराशामा परिणत भएको थियो, शिलान्याश भएपछि बल्लाकि भन्ने आशा छ, प्राधिकरणका प्रतिनिधिले समेत बालिदिने भनी गरेको प्रतिबद्धताले खुसी छाँै,’ स्थानीय समाजसेवी बज्रध्वज लामाले भने । बिपी राजमार्गबाट धेरै वर्ष पहिले मोटरबाटो पुगेको र सञ्चार सुविधाका कारण धेरैले मोबाइल चलाउने गरे पनि बिजुली नहुँदा यहाँका बासिन्दालाई समस्या परेको छ । ‘मोटरबाटोसँगै बिजुली पनि पुगेको भए गाउँको धेरै विकास भइसक्थ्यो तर अझै ढिलाइ भइरहेको छ, अब प्राधिकरणले ढिलो गर्नुहुन्न,’ स्थानीय मंगल जनविजय मावि व्यवस्थापन समितिका अध्यक्ष शंखबुद्ध लामाले भने ।
पाँच सय ११ वटा काठेपोल उपलब्ध गराइसकेको प्राधिकरणले दुई सय ३५ वटा फलामे पोल, ट्रान्सफर्मर, तारलगायत उपलब्ध गराउन बाँकी छ । फलामे पोलको त टेन्डरसमेत भइनसकेको प्राधिकरणले जनाएको छ । ‘टेन्डर प्रक्रियामा ढिलाइ, पोल अभावले आयोजना निर्माणमा केही ढिलाइ भएको हो, अब छिट्टै प्राधिकरणले पहल गर्छ, समयमै बनाउन प्राधिकरण प्रतिबद्ध छ,’ प्राधिकरणका क्षेत्रीय निर्देशक रञ्जितले भने, ‘यो मेरो विद्युतको पहिलो शिलान्याश हो, मैले आयोजनामा सबै किसिमको सहयोग गर्छु र कुनै समस्या आएमा समाधानका लागि तत्पर छु ।’
मंगलटार गाविसका सात सय ५० घरधुरी लाभान्वित हुने ग्रामीण विद्युतीकरणका लागि करिब एक करोड ९१ लाख ६२ हजार रुपियाँ खर्चको अनुमान गरिएको छ । त्यसमध्ये ३८ लाख स्थानीयले श्रमदान गर्नुपर्छ । उनीहरूले आयोजना अघि बढाउनका लागि ग्रामीण सामुदायिक विद्युत् उपभोक्ता महासंघबाट १३ लाख ४७ हजार ऋणसमेत लिएका छन् । आयोजनामा ढिलाइ भएकाले ऋणको ब्याज तिर्नुपर्दा स्थानीयले थप व्ययभारसमेत बेहोर्नु परेको छ । ‘प्राधिकरणले तत्काल टेन्डर आह्वान नगर्ने, आवश्यक सामान तत्काल उपलब्ध नराउने हो भने ऋणको ब्याजले त डुब्छौँ नै, विद्युत् बाल्ने सपना पनि टाढिन्छ,’ एक स्थानीयले गुनासो पोखे, ‘सरकारी निकायजस्तो ढिलासुस्ती प्राधिकरणमा देखियो, समुदाय ताते पनि प्राधिकरण कम तातेको हो किजस्तो देखिएको छ ।’

प्रतिक्रिया