राजधानीमा झन्डै एक किलो कोकिन बरामद

काठमाडौं, १७ असोज । लागुऔषध तस्करहरूले नयाँ रुट प्रयोग गरी नेपालमा लागुऔषध तस्कर गर्ने गरेको रहस्य खुलेको छ । झन्डै एक किलो लागुऔषध कोकिनसहित तीन भारतीय नागरिक पक्राउ परेपछि तस्करहरूले प्रयोग गर्ने गरेको नयाँ रुटको रहस्य खुलेको हो । उनीहरुसँगै दुईजना नेपाली पनि पक्राउ परेका छन् ।

पक्राउ पर्ने भारतीय नागरिक २३ वर्षीय तोली ओरी, २२ वर्षीय तोगे ओरी र २९ वर्षीय रितेश दत्त हुन् । उनीहरू तीनैजना अरुणाञ्चलका हुन् । उनीहरूसँगै सिन्धुपाल्चोक थकली–१ का४१ वर्षीय केदारबहादुर राउत र संखुवासभा सिद्धकाली–४ का ३४ वर्षीय छत्रबहादुर लिम्बू पक्राउ परेका छन् । उनीहरूमध्ये राउत र लिम्बूलाई महानगरीय प्रहरी परिसर काठमाडौं र बालाजु वृत्तबाट खटिएको विशेष टोलीले काठमाडौं–१६ बोहोराटारबाट पक्राउ गरेको हो । उनीहरूकै सुराकीका आधारमा तीन भारतीय नागरिक भने ठमेलस्थित होटल आगमनको कोठा नं.३०३ बाट पक्राउ परेका छन् । प्रहरीले उनीहरूको साथबाट ९ सय ७५ ग्राम कोकिन बरामद गरेको थियो ।
प्रहरीका अनुसार उनीहरूले उक्त लागुऔषध भारतको मुम्बईबाट कोलकाता हुँदै झापाको काँकडभिट्टा नाकाबाट राजधानी भित्र्याएका थिए । प्रहरीका अनुसार उनीहरूले प्रयोग गरेको यो रुट नयाँ हो । विगतमा हवाईजहाजबाट लागुऔषध तस्कर गर्दा पक्राउ परेपछि उनीहरूले नयाँ रुट प्रयोग गरेको प्रहरीको दाबी छ । यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो कोकिनसहित एक भियतनामी नागरिक पक्राउ परेका थिए ।
प्रहरी वृत्त बलाजुका डिएसपी राजेश बास्तोलाले विमानस्थलबाट तस्करी गर्दा पक्राउ परिने डरले उनीहरूले नयाँ रुटबाट उक्त लागुऔषध भित्र्याएको बताए । उनले भने, ‘यसअघि पनि त्रिभुवन विमानस्थलबाट एक किलो कोकिन पक्राउ परेको थियो, यसपटक पनि पक्राउ परिने डरले उनीहरूले नयाँ रुटबाट उक्त लागुऔषध नेपाल भित्र्याएको देखिन्छ ।’ उनले तस्करले रुट ‘टेस्ट’ गर्न पनि नयाँ रुट चुनेको हुन सक्ने दाबी गरे । बास्तोलाले भने, ‘ठूलो परिमाणमा लागुऔषध बरामद भएको छ, सानातिना तस्करले यस्ता कार्य गर्नै सक्दैनन्, ठूलै गिरोहले नयाँ रुट ‘टेस्ट’ गर्न यस्तो गरेको हुन सक्छ, किनकि यसअघि यो नाकाबाट यति ठूलो परिमाणको लागुऔषध भित्रिएको रेकर्ड छैन ।’
परिसर प्रमुख एसएसपी जयबहादर चन्दले पनि तस्करले नयाँ रुट प्रयोग गरेको बताए । हवाईजहाजबाट तस्कर गर्दा पक्राउ पर्ने सम्भावना धेरै भएकाले उनीहरूले स्थलमार्ग रोजेको एसएसपी चन्दको भनाइ छ । उनले भने, ‘उनीहरूले प्रयोग गरेको यो नयाँ बाटो हो, कोलकाताबाट नजिक पर्ने भएकाले पनि यो नाका प्रयोग गरेको हुन सक्छ ।’ स्थलमार्गबाट प्रहरीलाई झुक्याउन सकिने तर हवाईजहाजबाट तस्कर गर्दा पक्राउ पर्ने सम्भावना धेरै भएकाले तस्करले यो उपाय अपनाएको उनको भनाइ छ ।
प्रहरीका अनुसार राउत र लिम्बू शनिबार दिउँसो ४ सय ८० ग्राम कोकिन ४८ लाख रुपैयाँमा बिक्री गर्न बार्गेनिङ गर्दै थिए । सादा पोसाकमा पुगेका प्रहरीले उनीहरूलाई त्यही मौकामा रंगेहात पक्राउ गरेको थियो । बयान लिने क्रममा उनीहरूले ‘आफू त भरिया मात्रै भएको, ठूलो व्यापारी त ठमेलको गेस्टहाउसमा छन्’ भनेपछि प्रहरी ठमेलस्थित होटल आगमनमा छापा मार्न पुगेका थिए । प्रहरीले तीनैजना भारतीयलाई होटलको कोठा नं.३०३ फेला पार्‍यो । कोठा तलासी लिने क्रममा थप ४ सय ९५ ग्राम कोकिन फेला परेको थियो ।
उनीहरूबाट प्रहरीले लागुऔषधसहित चारवटा मोबाइल, पाँच हजार भारतीय रुपियाँ, सवारीचालक अनुमतिपत्र, भारतीय कम्पनीका सिमकार्ड, बसको टिकट, एटिएम कार्ड र भारतीय निर्वाचन आयोगको कार्ड बरामद गरेको थियो । बरामद लागुऔषध नेपाली बजारमा अवैध मूल्य प्रतिकेजी एक करोड दश लाख रुपियाँ पर्छ ।

प्रतिक्रिया