नगरपालिका माग्दै चक्काजाम

विराटनगर : नगरपालिका घोषित मोरङको उर्लाबारीलाई तत्काल कार्यान्वयनको माग गर्दै ६ राजनीतिक दलका कार्यकर्ताले मंगलबार आधा घन्टा यातायात अवरुद्ध गरेका छन् । सरकारले गत वर्षको १ साउनदेखि लागू हुने गरी उर्लाबारी गाविसलाई नगरपालिका घोषणा गरे पनि हालसम्म कार्यान्वयन नगरेको भन्दै उनीहरूले सोमबार बिहानदेखि चक्काजाम गरेका हुन् । सोमबार पनि उनीहरूले आधा घन्टा चक्काजाम गरेका थिए । नगरपालिका घोषणा भएपछि नगरपालिकाकै हैसियतमा राजस्व संकलन हँुदै आए पनि कार्यान्वयनमा सरकारले बेवास्ता गरेको भन्दै दलका कार्यकर्ताले सडक अवरुद्ध गरेका हुन् ।
नगरपालिका घोषणा भएपछि उर्लाबारीबाट एक करोड १७ लाख ६१ हजार ६ सय ७४ रुपियाँ मालपोत कार्यालय बेलबारीमा जम्मा भएको नेपाली कांग्रेसका उर्लाबारी सभापति वीरबल थापाले बताए । नगरपालिका कार्यान्वयनका लागि जिल्ला विकास समिति मोरङदेखि स्थानीय विकास मन्त्रालयसम्म डेलिगेसन जाँदासमेत बेवास्ता गरिएको भन्दै नेपाली कांग्रेस, एकीकृत नेकपा (माओवादी), राप्रपा नेपाल, मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्, जनशक्ति पार्टी र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का कार्यकर्ताले यातायात अवरुद्ध गरेका हुन् । (सौस)

प्रतिक्रिया