भारतीय स्वार्थमा संघीयताः अध्यक्ष केसी

बुटवल, १६ असोज । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतले आफ्नो स्वार्थका लागि नेपालमा संघीयताको विषय उचालेको आरोप लगाएका छन् ।
उनले मुलुकलाई संघीयतामा लगिए राष्ट्रियता निकै कमजोर हुने चेतावनी दिए । ‘संघीयतामा जाँदा मुलुक स्वतन्त्र रहँदैन,’ उनले ठोकुवा गरे ।
अखिल नेपाल किसान संघ केन्द्रीय समितिले भू तथा पर्यावरण संरक्षणका लागि आज बुटवलमा आयोजना गरेको राष्ट्रिय भेलामा केसीले संघीयताका कारण राष्ट्रियता माथि खतरा बढेको बताए ।
नेपाली जनताको हित नचाहने राजनीतिक दलहरुले मात्र संघीयताको विषय उचालेको उनको आरोप छ । ‘संघीयताको चाहना नेपालीको पक्षमा छैन,’ उनले भने, ‘मुलुक विदेशीको हातमा सुम्पन संघीयताको विषय उठेको छ ।’
मुलुकलाई विखण्डनबाट जोगाउने भूमिका अब कांग्रेस र एमालेको काँधमा आएको टिप्पणी गर्दै नेता केसीले कांग्रेस र एमालेले पनि जातीय राज्य स्वीकार गरे मुलुक नरहने बताए ।
दुबै माओवादीले ४ वर्षको अवधिमा सबैभन्दा बढि भ्रष्टाचार गरेर कम्युनिष्ट राजनीतिको खिल्ली उडाएको उनको आरोप थियो । उनले विश्वका संघीय प्रणाली भएका मुलुकहरुमा पनि जातीय पहिचानसहितको संघीयताको कुरा नउठेको बताए ।

प्रतिक्रिया