मैले आन्दोलन रोक्न भनेकै छैनः खनाल

काठमाडौं, १६ असोज । एमाले अध्यक्ष झलनाथ खनालले दशैं अगाडि संघर्ष नगर्ने भन्ने अभिव्यक्ति आफूले नदिएको दाबी गरेका छन् ।
अध्यक्ष खनालले आज विज्ञप्ति जारी गरेर आन्दोलन रोक्ने जस्ता आशय बुझिने समाचार प्रकाशित भएको भन्दै आपत्ति जनाएका छन् । आफू सम्बन्धित आजका समाचार र पत्रपत्रिकाका प्रति अपात्ति जनाउँदै उनले गम्भीर ध्यानाकर्षण भएको जनाए ।
उनले दशैंअगावै राजनीतिक दलहरुले चाढपर्वलाई असर पर्ने गरेर संघर्ष नगर्ने विषयमा छलफल मात्रै गरेको बताए ।
‘विभिन्न पत्रपत्रिकामा मलाई उधृत गर्दै राजनीतिक दलहरुले दशैंअगाडि संघर्षका कार्यक्रमहरु नगर्ने भन्नेजस्तो आशय बुझिने समाचारहरु प्रकाशित भएकोमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ खनालले विज्ञप्तिमा भनेका छन्, ‘सरकारबिरुद्ध प्रतिपक्षी दलहरुले सञ्चालन गर्ने संघर्षका कार्यक्रमले चाढपर्वलाई असर पुराउनु हुँदैन ।’
सहमति निर्माणको प्रक्रियामा चाढपर्वलाई ख्याल गर्नुपर्ने विषयमा कुराकानी भएको जनाएका उनले यसअघि नै निर्धारित आउँदो असोज–१९ गते काठमाडौंमा हुने एमालेको जनप्रदर्शनआदि कार्यक्रम स्थगित नगरिएको उल्लेख गरे ।
एमालेले गर्न लागेका कार्यक्रम पूर्वनिर्धारित समयमा प्रभावकारी र शानदारढंगले सम्पन्न गर्ने व्यापक तयारी भइरहेको उनले उल्लेख गरेका छन् ।
‘वर्तमान सरकारको जनविरोधी र राष्ट्रहितविरोधी क्रियाकलापका बिरुद्ध एमालेको आयोजनामा हुने प्रदर्शनलाई भव्यरुपमा सम्पन्न गर्न आग्रह गर्छु,’ खनालले भनेका छन् ।
विभिन्न पत्रपत्रिकामा खनाललाई उधृत गर्दै आन्दोलनका कार्यक्रम रोक्ने आशयका समाचार प्रकाशित भए पछि उनले खण्डन गरेका हुन् ।

प्रतिक्रिया