नयाँ नोट वितरण सुरु

काठमाडौं, १६ असोज । नेपाल राष्ट्र बैंकले सोमबारदेखि नयाँ नोटको वितरण सुरु गरेको छ । राष्ट्र बैंकले दसैँका लागि ५, १०, २०, ५० र १ सय रुपियाँका नोट यथेस्ट मात्रामा उपलब्ध गराइने राष्ट्र बैंकका प्रवक्ता भास्करमणि ज्ञवालीले बताए ।
उनका अनुसार आमनागरिकले नजिकका राष्ट्र बैंकका काउन्टरबाट आफूलाई चाहेअनुसारको नयाँ नोट पाउन सक्नेछन् । काठमाडौं उपत्यकाको हकमा राष्ट्र बैंकको कार्यालय थापाथलीमा नयाँ नोट सटहीको व्यवस्था मिलाइएको छ भने अरू बैंक तथा वित्तीय संस्थालाई पनि सहजै नयाँ नोट सटहीका लागि निर्देशन दिइएको प्रवक्ता ज्ञवालीले बताए ।
राष्ट्र बैंकले दसैँका लागि नयाँ नोट वितरणका लागि थापाथलीमा रहेको कार्यालयमा तीनवटा काउन्टर राखेको छ । प्रवक्ता ज्ञवालीले भने, ‘मागअनुसारका नोट उपलब्ध गराउनका लागि हामीले नेपाल राष्ट्र बैंक तथा अरू सबै वित्तीय संस्था र बैंकलाई निर्देशन दिइसकेका छौँ ।’ निर्देशन अटेर गरेर जसले नयाँ नोट वितरण गर्दैनन् त्यस्ता संस्थामाथि बैंकले कारबाहीको प्रक्रियासमेत अगाडि बढाउन सक्ने उनले बताए ।
राष्ट्र बैंकले दसैँमा नयाँ नोटको अभाव हुन नदिन २५ अर्ब बराबरका नयाँ नोट बजारमा ल्याउने जानकारी दिए । सर्वसाधारणले आवश्यकताअनुसार सर्वसुलभ रूपमा नोट पाऊन् भन्ने उद्देश्यले राष्ट्र बैंकले सबै जिल्ला तथा क्षेत्रका बैंक तथा वित्तीय संस्थामार्फत नयाँ नोट बजारमा लैजान लागेको हो ।
जिल्लामा भने नेपाल बैंक लि. र राष्ट्रिय वाणिज्य बंैकका जिल्लास्तरीय शाखामार्फत नयाँ नोट वितरण हुने बैंकले जनाएको छ ।यसैगरी, विराटनगरबाट प्राप्त समाचारअनुसार दसैँका लागि नेपाल राष्ट्र बैंक, विराटनगरले साना दरका नयाँ नोट आउँदो आइतबारदेखि वितरण गर्न लागेको छ ।
दसैँ आउन केही समय मात्र बाँकी रहेकाले र उपभोक्ताको मागले गर्दा बैंकले चाँडै रकम दिन लागेको बताएको छ । पूर्वक्षेत्रका लागि बैंकले करिब दुई अर्ब वितरण गर्ने लक्ष्य लिएको र सो रकम आ–आफ्ना जिल्लाका वाणिज्य बैंकबाट सजिलै लिन सकिने व्यवस्था मिलाइएको राष्ट्र बैंक, विराटनगरका व्यवस्थापक नरबहादुर थापाले जानकारी दिए ।
पूर्वाञ्चल क्षेत्रका तीन सय ८७ वटा वाणिज्य बैंकले भोलिसम्म नयाँ नोट लिइसक्ने बताएको छ । विराटनगर क्षेत्रका बैंकले एक अर्ब पाँच करोड बराबरको नयाँ नोट माग गरेको छ । पूर्वक्षेत्रमा साना दरका नयाँ नोट दुई अर्ब रुपियाँसम्म माग भएको छ । गत वर्षमा बैंकले एक अर्ब ४० करोड बराबरको नयाँ नोट वितरण गरेको थियो ।

प्रतिक्रिया