कुखुराको मूल्य घटयो

काठमाडौं : ब्रोइलर कुखुराको मासुको मूल्य प्रतिकेजी १५ रुपियाँले घटेको छ । प्रतिकेजी दुई सय ७५ मा बिक्रीवितरण हँदै आएको ब्रोइलर कुखुराको मासुको खुद्रा मूल्य प्रतिकेजी दुई सय ६० रुपियाँमा बिक्रीवितरण गर्नुपर्ने भएको छ ।

दानाको मूल्यमा आकस्मिक वृद्धि भएको भन्दै संघले यसअघि ब्रोइलर कुखुराको मासु प्रतिकेजी दुई सय ७५ रुपियाँमा बिक्रीवितरण गर्दै आएको थियो । विजयादशमी र शुभदीपावलीसम्म ब्रोइलर कुखुराको मासुको मूल्य नबढाउने गरी सो मूल्य कायम गरिएको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीले बताए ।
उपभोक्ताको समस्यालाई ध्यानमा राखी काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक र आसपासका जिल्लामा मासु पसल खोलेर बिक्रीवितरण गर्दै आएका कोल्डस्टोरलाई सो दरमा मासु बिक्रीवितरण गर्न संघले निर्देशन दिएको बिसीले बताए । विगत चार वर्षदेखि नेपाल कुखुराको मासु उत्पादनमा आत्मनिर्भर हुँदै आएको छ ।
नेपालमा काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रे जिल्लामा दैनिक कुल दुई लाख ५० हजार केजी मासु खपत हुने गरेको छ । उपत्यकाबाहिर दैनिक एक लाख केजी मासु खपत हुने गर्छ । हालसम्म मुलुकभर करिब २ सय बिक्री केन्द्रबाट दैनिक तीन लाख ५० हजार केजी मासु बिक्रीवितरण हुँदै आएको संघले जनाएको छ । (सौस)

प्रतिक्रिया