पर्यटक आगमनमा वृद्धि

काठमाडौं, १६ असोज । पर्यटकीय सिजन सुरु भएसँगै नेपाल आउने विदेशी पर्यटकको संख्या बढेको छ । सन् २०१२ को पहिलो महिनादेखि नै बढिरहेको पर्यटक आगमन सेप्टेम्बरमा पनि जारी छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अनुसार यो महिनामा पर्यटक ७.२ प्रतिशतले बढेका छन् । सेप्टेम्बर महिनामा हवाई मार्गबाट ४९ हजार पर्यटक नेपाल भित्रिएको कार्यलयको तथ्यांक छ । सेप्टेम्बर महिनामा सबै एसिया, युरोप तथा अमेरिका सबै क्षेत्रबाट आउने पर्यटक बढेका छन् । दक्षिण एसियाली मुलुकका पर्यटक २ दशमलव ४ प्रतिशतले बढेका छन् । यसमध्ये भारतीय पर्यटक १३ प्रतिशतले बढेका छन् भने श्रीलंकाली २८ दशमलव ५ प्रतिशतले बढेका छन् । बंगलादेशी र पाकिस्तानी भने घटेका छन् ।
दक्षिण एसियाबाहेक अन्य एसिायली मुलुकबाट आउने पर्यटकको वृद्धिदर १९ दशमलव ३ प्रतिशत छ । चिनियाँ पर्यटक १७ प्रतिशतले बढेका छन् भने मलेसियाली शतप्रतिशत भन्दा पनि बढी छन् । त्यस्तै, दक्षिण कोरियाली २६ प्रतिशतले बढेका छन् । जापानी र थाई पर्यटक भने केही घटेका छन् । युरोपियन बजारतर्फ २ दशमलव ६ प्रतिशतले पर्यटक बढेका छन् । युरोपियन मुलुकहरु फ्रान्स, जर्मनी, नेदरल्यान्ड र रसियाबाट आउने पर्यटक बढेका छन् । यद्यपि स्पेनी, स्विस र इटलियन पर्यटक भने केही घटेको देखिएको छ । अस्ट्रेलिया, न्युजिल्यान्ड र अमेरिकाबाट आउने पर्यटक क्रमश: ४०, ४.२ र ३.८ प्रतिशतले बढेका छन् । २०१२ को जनवरीदेखि सेप्टेम्बरसम्मको ९ महिनाको अवधिमा चार लाख २६ हजार एक सय १८ पर्यटक नेपाल आएका छन् यो संख्या गत वर्षको सोही अवधिको तुलनामा १५ दशमलव २ प्रतिशतले बढी हो । गत वर्ष यो अवधिमा तीन लख ६९ हजार आठ सय ४४ पर्यटक आएका थिए ।

प्रतिक्रिया