श्रम ऐन परिमार्जनमा जोड

काठमाडौं, १६ असोज । वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउन विद्यमान ऐन परिमार्जन गनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । ऐनको समयसापेक्ष परिमार्जन नहुँदा वैदेशिक रोजगारीका नाममा ठगी मौलाएको, कामदारले तोकिएको भन्दा बढी रकम बुझाइरहेको तथा व्यवसायिक पारदर्शिता नभएको भन्दै उनीहरूले सो कुरामा जोड दिएका हुन् ।
वैदेशिक रोजगारीका समस्या र चुनौती विषयमा सोमबार नागकि मिडिया क्लबले आयोजना गरेको कार्यक्रममा वैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले विगत एक वर्षयता सरकारले यो क्षेत्रलाई व्यवस्थित बनाउन थुप्रै काम गरेको भए पनि विद्यमान ऐन परिमार्जन पछि व्यवस्थापनमा सहयोग पुग्ने बताए । उनले सरकारले तोकेको लागत खर्चमा कामदार विदेश जान नपाएको भन्दै यसका प्राविधिक विषयमा केही दिनभित्रै सरकारले निर्णय लिने जनाए । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डकी निमित्त कार्यकारी निर्देशक गिरिजा शर्माले प्रवद्र्धन बोर्डको पहलमा दुर्गम गाउँका मानिसमा वैदेशिक रोजगारसम्बन्धी निक्कै सचेतना बढेको दाबी गरिन् । उनले अझै एजेन्ट र दलालको भर पर्दा ग्रामीण क्षेत्रका जनता ठगीमा परेकाले यसको व्यवस्थापनमा व्यवसायीसमेत जिम्मेवार बन्नुपर्ने बताइन् ।
वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बलबहादुर तामाङले यो व्यवसाय व्यवस्थित तथा मर्यादित बनाउन व्यवसायी पनि जिम्मेवार बन्नुपर्ने भएकाले संघले उनीहरूलाई अभिमुखीकरण तालिम दिइरहेको जनाए । उनका अनुसार अहिले सम्म तीन सय ७३ जना व्यवसायीले सो तालिम लिएका छन् ।
सरकारले व्यवसायीलाई मात्र दोष दिएर उम्कन नसक्ने भन्दै तामाङले सेवाशुल्क, कामदारलाई दिइने रसिदका विषयमा तत्काल निर्णय लिनुपर्नेमा जोड दिए । उनले विद्यमान ऐन परिमार्जन गरी केही महत्त्वपूर्ण विषय समावेश गर्नुपर्ने आवश्यकतासमेत औँल्याए ।
कार्यक्रममा पिपुल्स फोरमका अध्यक्ष सोम सुवेदीले वैदेशिक रोजगारीका कारण सामाजिक विचलन बढेको बताए । उनले श्रीमान् वैदेशिक रोजगारीमा हटेकै कारण थुप्रै महिलाले अन्यत्र विवाह गरेको तथा सम्बन्ध विच्छेदका घटना बढ्दै गएको भन्दै यसतर्फ सरकारको ध्याकर्षणसमेत गराए ।
यस्तै, वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष सोमलाल बाटाजुले म्यानपावर कम्पनीका शाखा र एजेन्टका कारण विकृति बढेको दाबी गरे । उनले शाखा एजेन्टको नियन्त्रणमा सरकार जिम्मेवार भएर नलागे यो व्यवसाय बदनाम हुने खतरा बढेको समेत बताए । त्यस्ता शाखा एजेन्टलाई सकारले मापदण्ड बनाएर कारबाही गर्नुपर्नेमा जोड दिए ।
संघका पूर्वअध्यक्ष प्रेम कटुवालले विद्यमान ऐनकै कारण वैदेशिक रोजगारीलाई समयानुकूल बनाउन नसकिएको जनाए । ठगीका घटना बढ्नुमा सरकारसमेत जिम्मेवार रहेको उनको तर्क छ ।

प्रतिक्रिया