काठमाडौंमा हिन्दी फिल्म ठप्प

काठमाडौं, १६ असोज । नेकपा–माओवादीले हिन्दी चलचित्र प्रदर्शन गर्न नदिने भनी गरेको घोषणाको प्रभाव देशभर परेको छ । सोमबार काठमाडौं उपत्यकाका कुनै पनि सिनेमा हलमा हिन्दी चलचित्र चलेनन् । काठमाडौंमा हिन्दी चलचित्र पूर्णत: ठप्प भएको सम्भवत: यो पहिलो घटना हो ।

अधिकांश हिन्दी चलचित्र मात्रै चलाउने गरेका काठमाडौंका कतिपय सिनेमा हल बन्द नै भएका छन् । बन्द हुनेमा काठमाडौंैका क्युएफक्स सिभिल मल, सिटी सेन्टर तथा जय नेपाल, कुमारी, गुणलगायत हल छन् । हिन्दी चलचित्र उतार्नुपरेपछि यी हलले नेपाली चलचित्र पनि लगाएनन् । केही हलले भने हिन्दी चलचित्र हटाएर नेपाली चलचित्र लगाएका छन् ।
गोपीकृष्ण हलले मायाज बार, लुट, मायाको बारीमा र के म तिम्रो साथी बन्न सक्छु जस्ता पहिल्यै रिलिज भएका चलचित्र प्रदर्शन गरेको छ । गत शुक्रबारबाट रिलिज भएका चलचित्रले पनि धेरै हलमा प्राथमिकता पाएका छन् । बालाजुको अष्टनारायणले पनि पुरानो चलचित्र चलायो भने गुणले पुरानो नेपाली चलचित्र चलाउनुको साटो हल नै बन्द गरेको छ । यस्तै, क्युएफएक्स सिभिल मल र सिटी सेन्टर पनि हिन्दी चलचित्र चलाउन नपाएपछि बन्द भए । बन्द भएकै मौकामा कतिपय चलचित्र भवनले मर्मत–सम्भारको काम गर्न थालेका छन् ।
नेकपा–माओवादीका नेता देव गुरुङले प्रदर्शकसँग शुक्रबार भएको सहमतिका आधारमा हिन्दी सिनेमा बन्द गरिएको बताए । अहिले २४ गतेसम्म बन्द गर्ने निर्णय भए पनि पछि यसलाई निरन्तरता दिन पनि सकिने उनको भनाई छ । यता, चलचित्र वितरकले भने हिन्दी फिल्म बन्द गर्ने विषयमा नेकपा–माओवादीसित आफूहरूको सहमति नभएको दाबी गरेका छन् ।
‘दबाबका कारण हलहरूले हिन्दी फिल्म उतारेका हुन्, यसमा हाम्रो सहमति छैन,’ चलचित्र संघका एक पदाधिकारीले सौर्यसँग भने, ‘माओवादीको दबाबले गर्दा हल नै बन्द गर्ने अवस्था आएको हो ।’ उनले संघका तर्फबाट हलहरूलाई हिन्दी चलचित्र हटाउने विषयमा कुनै पत्राचार पनि नगरेको बताए । शुक्रबार हिन्दी चलचित्रको विषयमा नेकपा–माओवादीसित बहस मात्र भएको तर चलचित्र बन्द गर्ने कुनै सहमति नभएको पनि उनको भनाइ छ ।
हिन्दी चलचित्र बन्द भएर मात्र नेपाली चलचित्रलाई फाइदा नपुग्ने एक हलवाला बताउँछन् । ‘दर्शक जुन फिल्म हेर्न हलसम्म गएका हुन्छन्, त्यो हेर्न नपाए घर फर्किन्छन्,’ उनले भने, ‘यसले दर्शकलाई अन्याय भएको छ ।’ सस्तो लोकप्रियताका लागि अरूको व्यापारमा हस्तक्षेप गरेर क्षति पुर्‍याउने काम नगर्न उनले नेकपा–माओवादीलाई आग्रह गरे ।
हिन्दी सिनेमा बन्द गर्ने माओवादीको आशय सकारात्मक भए पनि अहिले यस्तो बन्दको औचित्य नभएको नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईले प्रतिक्रिया दिए । ‘अहिले कुनै पनि चलचित्रको व्यवसाय नहुने समय हो,’ उनले सौर्यसँग भने, ‘हिन्दी चलचित्रमा रोक लगाए पनि नेपाली फिल्मको व्यापार अहिले बढ्दैन ।’ हिन्दी चलचित्र रोक्ने कदमलाई कहिलेसम्म निरन्तरता दिन सकिन्छ भन्ने प्रश्न उठेको उनी बताउँछन् । ठप्प पार्नुको साटो उच्च कर लगाएर हिन्दी फिल्ममा नियन्त्रण गर्न सकिने उनको तर्क छ ।
हिन्दी चलचित्रको प्रदर्शनमा लागेको रोकले सिटी सेन्टर र सिभिल मलको अन्य व्यवसायलाई पनि असर गरेको छ । फिल्म हेर्न आउने दर्शकले किनमेल पनि गर्ने भएकाले त्यहाँ रहेका पसलको व्यापार घटेको छ । हल बन्द हँुदा रेस्टुरेन्ट तथा अन्य पसलको व्यवसायमा शून्यता आएको सिभिल मलका वसन्त मानन्धरले बताए ।
नेकपा–माओवादीले गत बुधबार नेपालमा हिन्दी सिनेमा प्रदर्शनमा रोक लगाउने घोषणा गरेको थियो । दुई साताअघि प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई ७० बुँदे मागपत्र बुझाए पनि बेवास्ता गरिएकाले त्यसलाई कार्यान्वयन गराउने क्रममा हिन्दी चलचित्रलाई ठप्प गरिएको उसले जनाएको छ ।
उपत्यकामा हिन्दी चलचित्र ठप्प भए पनि उपत्यकाबाहिर यसको मिश्रित प्रभाव परेको छ । मोफसलका कतिपय स्थानमा हिन्दी चलचित्र उत्रे पनि थुप्रै ठाउँमा निर्वाध चलिरहेको निर्माता संघले जनाएको छ ।

प्रतिक्रिया