छानबिन नहुँदा कर्मचारीलाई उन्मुक्ति

राजविराज, १६ असोज । सिडिओ कार्यालय सप्तरीको बेवास्ताका कारण राजविराज नगरपालिकामा अनियमित काम गर्ने कर्मचारीले उन्मुक्ति पाउने भएका छन् । कार्यकारी अधिकृत निरञ्जन श्रेष्ठलगायतका कर्मचारीको मिलेमतोमा अनियमित काम भएको पुष्टि भए पनि कारबाही गर्ने आधार नभेटिएको भन्दै सिडिओ कार्यालयले छानबिन नगरी हात टक्टक्याएपछि कर्मचारीहरू कारबाहीमुक्त भएका छन् ।

नगरपालिका प्रमुख श्रेष्ठलगायत कार्यालयका उच्चतहका कर्मचारीको मिलेमतोमा गत आर्थिक वर्ष र चालु आर्थिक वर्षका दुवै दर्ता–चलानी किताब अनियमित तरिकाले प्रयोग भएको पुष्टि भइसकेको छ । अनियमित काम गरेको पुष्टिसहित दर्ता–चलानी किताब नियन्त्रणमा लिएको प्रशासनले संलग्न कर्मचारीलाई भने छानबिनको दायरामा ल्याउन सकेन । नगरपालिकाको दर्ता–चलानी प्रकरण सौर्य दैनिकले ६ भदौमा सप्रमाण सार्वजनिक गरेपछि तत्काल दर्ता–चलानी नियन्त्रणमा लिएर दुईपटक स्पष्टीकरण सोधेको प्रशासनले हाल कारबाही गर्ने आधार नभएको भन्दै संलग्न कर्मचारीलाई उन्मुक्ति दिने निर्णय गरेको हो ।
‘नगरपालिकाले पठाएको चिठीमा भूलवश दर्ता–चलानी नम्बर खाली छोडिए पनि गलत मनसाय नभएको भन्ने जवाफ आयो,’ सिडिओ हरिराज पन्तले भने, ‘अब दर्ता–चलानी खाली राखेकै भरमा कसरी कारबाही गर्नु ?’ कारबाही गर्ने आधार नपाएपछि सचेत गराएर छोड्न लागिएको पन्तले लाचारी प्रकट गरे ।
सिडिओ कार्यालय सप्तरीले पहिलोटक सोधेको स्पष्टीकरणमा भूलवश खाली ठाउँ रहेको जवाफ पठाएको नगरपालिकाले दोस्रोपटक आएको स्पष्टीकरणको जवाफमा समेत पहिलेकै कुरालाई दोहोर्‍याउँदै अनियमितता नगरेको जवाफ पठाएको छ । पहिलोपटक पठाएको पत्रको जवाफ चित्तबुझ्दो नभएको भन्दै सिडिओ कार्यालयले १३ भदौमा सात दिनको म्याद दिएर दोस्रोपटक स्पष्टीकरण सोधेको थियो । तोकिएको मितिभन्दा १५ दिनपछि ३ असोजमा जवाफ पठाएको नगरपालिकाले पहिलेकै कुरा दोहोर्‍याएको हो ।
पटकपटक अनियमित काम गरेर चर्चामा आउने गरेका कर्मचारीलाई सिडिओ कार्यालयले उन्मुक्ति दिन खोजेको स्थानीयले आरोप लगाएका छन् । नगरपालिकाका केही कर्मचारीउपर अहिले पनि अख्तियारमा उजुरी रहेको जानकारी दिँदै गलत काम गरेको पुष्टि भएर पनि छानबिन नै नगरी छोडिदिने सिडिओ कार्यालयको निर्णयप्रति उनीहरूले आश्चर्य प्रकट गरेका छन् ।

प्रतिक्रिया