ड्र खेल्दै एपिएफ क्वार्टरमा

काठमाडौं, १५ असोज । थ्री–स्टारसँग १–१ ले बराबरी खेल्दै सशस्त्र प्रहरी बल (एपिएफ) एनसेलकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । यसअघि नै समूहचरणबाटै बाहिरिने निश्चित भएको थ्री–स्टारविरुद्धको नतिजापछि एपिएफ समूहको उपविजेताका रूपमा अघिल्लो चरण प्रवेश गर्न सफल भएको हो ।
समान अंक भएको फ्रेन्ड्सलाई एपिएफले हेड टु हेडका आधारमा पछि पार्‍यो । मध्यपुर युथ एसोसिएसन पाँच अंकसहित समूहविजेता बन्यो । एपिएफ र फ्रेन्ड्सको समान चार अंक रहयो । थ्री–स्टार दुई अंक जोडेर समूहको पुछारमा रहयो । आपसको भिडन्तमा एपिएफले फ्रेन्ड्स क्लबलाई ३–२ ले निराश पारेको थियो । थ्री–स्टारविरुद्ध एपिएफले सुरुआती अग्रता लिएको थियो । खेल सुरु भएको १०आँै मिनेटमा गणेश लावतीले एपिएफलाई अगाडि बढाए । निरज श्रेष्ठको प्रहार थ्री–स्टारका गोलकिपर किरण चेमजोङले नियन्त्रणमा लिन नसक्दा डिफेन्डरलाई जिल्याउँदै गणेशले गोल गरेका थिए । त्यसो त सातौँ मिनेटमै एपिएफले गोल गर्ने अवसर पाएको थियो तर रिबाउन्डमा निरजले डी–बक्सबाहिरबाट गरेको प्रहार कमजोर रहयो । खेलमा अग्रता लिए पनि विपक्षीको दबाब सामना गरेको एपिएफले पाँच खेलाडीलाई डिफेन्समा राखेको थियो ।
३१आँै मिनेटमा थ्री–स्टारका विजय धिमालको प्रहार क्रसबारको नजिकैबाट गयो । पहिलो हाफको इन्जुरी समयमा एपिएफका श्याम नेपालीको प्रहारलाई किरणले राम्रोसँग विफल तुल्याए । पहिलो हाफमा थ्री–स्टारको अग्रपंक्ति कमजोर देखिएको थियो । ८५आँै मिनेटमा विजय गुरुङले डी–बक्सबाहिरबाट गोल गर्दै थ्री–स्टारको सम्भावित हार टारेका थिए । सन्तोष साहुखल, विजय गुरुङ, सन्दीप राई, विराज महर्जन, किरण चेमजोङलगायत राष्ट्रिय टिमका सदस्यहरूको आकर्षक उपस्थिति रहेको थ्री–स्टारले प्रतियोगिताभर कमजोर प्रदर्शन गर्‍यो । समूहको पहिलो खेलमा ए–डिभिजन नवप्रवेशी मध्यपुर युथ एसोसिएसनसँग १–१ को बराबरीमा रोकिएको थ्री–स्टारले दोस्रो खेलमा फ्रेन्ड्सविरुद्ध १–० ले पराजय सामना गरेको थियो ।
गणेश लावतीबाहेक अधिकांश सामान्य र राष्ट्रिय फुटबलमा कम परिचित खेलाडी भएको एपिएफले निकै राम्रो प्रदर्शन गर्‍यो । सागर थापा, नीराजन खड्का, दीपक भुसाल र जगजित श्रेष्ठलगायत राष्ट्रिय टिमका सदस्यको उपस्थिति भएको फ्रेन्ड्स एपिएफविरुद्ध हार सुम्पिन बाध्य भएको थियो । सागर, नीराजन, दीपक र जगजितलाई भित्र्याएयता फ्रेन्ड्स पहिलो प्रतियोगिताका रूपमा यसमा सहभागी भएको थियो । एपिएफ मध्यपुरविरुद्ध पराजित भएको थियो ।
सोमबार मनाङ–मस्र्यांदी र न्युरोड टिम
(एआरटी) बीच प्रतिस्पर्धा हुनेछ । मनाङ क्वार्टरफाइनल प्रवेश गरिसकेको छ भने एनआरटी समूहचरणबाटै बाहिरिने निश्चित भइसकेको छ । यस खेलले समूहविजेताको टुंगो लगाउनेछ । मनाङ र नेपाल आर्मीको समान ६ अंक रहेको छ ।

प्रतिक्रिया