नेपालगन्ज सेमिफाइनलमा

काठमाडौं, १५ असोज । समूहको अन्तिम खेलमा क्षेत्र नम्बर–१ विराटनगरलाई ६५ रनले पराजित गर्दै साविक विजेता क्षेत्र नम्बर–१ नेपालगन्ज पोखरामा जारी महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
नेपालगन्जले समूहका चारमध्ये तीन खेलमा जित हात पार्‍यो भने एपिएफविरुद्ध हारको सामना गरेको थियो । यु–१९ राष्ट्रिय च्याम्पियन जनकपुरधाम दुई खेल जितेर समूहको तेस्रो स्थानमा रहयो । सबै खेलमा जित हात पारेको एपिएफ समूहविजेता भइसकेको छ ।
टस जिती पहिला ब्याटिङ गर्ने क्रममा नेपालगन्जले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै ११४ रन जोडेको थियो । नेपालगन्जको इनिङमा गीता घोसाईले २९, ममता थापाले २४, नेरी थापाले १७ र सञ्जु चौधरीले १३ रनको योगदान गरे । विराटनगरले भने निर्धारित २० ओभरमा ४९ रन मात्र जोड्न सक्यो ।
पराजित टोलीका लागि रश्मी चौलागार्इंले १८ रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्सवुमनले दोहोरो अंक छुन सकेनन् । बलिङतर्फ नेपालगन्जकी रेखा बिसीले तीन विकेट लिइन् । उनी वुमन अफ द म्याच भइन् । सोही समूहको अर्को खेलमा क्षेत्र नम्बर–१ जनकपुरधामले क्षेत्र नम्बर–८ पोखरालाई ८२ रनले पराजित गर्‍यो । जनकपुरधामले पहिला ब्याटिङ गर्ने क्रममा शोभा आलेको ५६, अनुराधा चौधरीको २७ र ममता चौधरीको १७ रनको योगदानमा १३३ रन जोडेको थियो । जवाफमा पोखराले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै ५३ रन जोडयो । पोखराका लागि तृष्णा देवकोटाले २० रन जोडिन् । अर्धशतकीय इनिङ खेलेकी शोभा वुमन अफ द म्याच घोषित भइन् ।
समूह–एबाट क्षेत्र नम्बर–६ बैतडी र क्षेत्र नम्बर–३ काठमाडौं सेमिफाइनल प्रवेश गरे । वैतडीले समूहका सबै तीन खेलमा जित हात पार्‍यो भने काठमाडौं वैतडीविरुद्धका बाहेक अन्य सबैमा विजयी भयो । समूहको अन्तिम खेलमा वैतडीेले क्षेत्र नम्बर–४ भैरहवालाई २३ रनले पराजित गर्‍यो । रोशनी बोहराको २६ रनको योगदानमा वैतडीले निर्धारित २० ओभरमा ७५ रन जोडेको थियो । भैरहवाले १८ ओभरमा सबै विकेट गुमाउँदै ५३ रन जोडयो । बलिङतर्फ अञ्जली बोहराले तीन तथा अञ्जली चन्द र रेखा रावलले समान दुई विकेट लिए । सेमिफाइनल यात्रा तय गर्ने क्रममा काठमाडौंले क्षेत्र नम्बर–२ वीरगन्जलाई ५२ रनले पराजित गर्‍यो । काठमाडौंले पहिले ब्याटिङ गर्ने क्रममा संगीता गौचनको २१, गीता चुडालले १९ र रोजी राईले १२ रन बनाएपछि निर्धारित २० ओभरमा ११० रन जोडेको थियो । वीरगन्जले भने ५८ रन मात्र जोड्न सक्यो । बलिङतर्फ काठमाडौंकी संगीता गौचन र शीलु रिजालले समान दुई विकेट लिए । संगीता वुमन अफ द म्याच भइन् ।

प्रतिक्रिया