अख्तियारमा जलविद्युत्का उजुरी बढ्दै

काठमाडौं, १५ असोज । पछिल्लो समयमा जलविद्युत्सम्बन्धी उजुरीहरू बढ्न थालेका छन् । जलविद्युत् क्षेत्रका योजना, टेन्डर प्रक्रिया, सरुवा, अनियमिततालगायतबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीहरू बढ्न थालेका हुन् । ०६८/६९ मा ६० वटा उजुरी परेको अख्तियारमा साउनयता मात्र २० उजुरी परिसकेका छन् । अख्तियार स्रोतका अनुसार विशेष गरी टेन्डर प्रक्रियामा अनियमितता, धाँधली र बदमासी गरिएको, कर्मचारीको सरुवा, बढुवामा आर्थिक चलखेल भएको, जलविद्युत्का उपकरण गुणस्तरहीन रहेको, विभिन्न आयोजनाको रकम अनियमितता गरेको, लाइसेन्स प्रक्रियामा घुस खाएको, खुवाउनुपरेको, प्राधिकरणका कर्मचारीको शैक्षिक प्रमाणपत्र नक्कली रहेकोलगायत उजुरी पर्ने गरेको छ ।
अख्तियारका अनुसार साउन र भदौ महिनामा मात्र २० उजुरी परेका छन् । पछिल्लो पटक २०६४ सालयता नेपाल विद्युत् प्राधिकरणले गरेका ट्रान्सफर्मर आयातमा अनियमितता र बदमासी भएको, राहुघाटको ठेक्का प्रक्रिया पारदर्शी नभएकोलगायतमा विषयमा उजुरी परेको छ । ‘पछिल्लो दुई महिनामा अख्तियारमा जलविद्युत्का उजुरी ह्वात्तै बढेको छ,’ अख्तियारका एक अधिकारीले थपे, ‘विगत वर्षभरि ६० उजुरी थिए, अहिले त दुई महिनामै २० उजुरी परेका छन् ।’
अख्तियारमा विशेष गरी ऊर्जा मन्त्रालय, विद्युत् विकास विभाग, प्राधिकरणलगायतविरुद्ध उजुरी पर्ने गरेको छ । उजुरी परेपछि अख्तियारले आवश्यक कागजपत्र मागी अनुसन्धान गर्ने गरेको छ । ‘पछिल्लो समयमा जलविद्युत्सम्बन्धी अख्तियारमा उजुरी पर्ने क्रम बढेको छ,’ अख्तियारका प्रवक्ता ईश्वरी पौडेलले भने, ‘उजुरीका आधारमा छानबीन गरी आवश्यक अनुसन्धान र निर्देशनसमेत दिने गरेका छौँ ।’ अख्तियारमा परेको उजुरीका आधारमा अख्तियारले आवश्यक निर्देशनसमेत दिने गरेको छ । निर्देशनका आधारमा प्राधिकरणले पनि धेरै कारबाही प्रक्रिया अगाडि बढाएको छ । ‘अख्तियारका परेको उजुरीको आधारमा त्यसको अनुसन्धान गरी दिएको निर्देशनको कार्यवन्यन भएको छ,’ प्राधिकरण विभागीय कारबाही शाखाका प्रमुख होमनारायण बेलबासेले भने । उनका अनुसार अख्तियारको छानबिनपछि दिएको निर्देशनकै आधारमा कतिपय कर्मचारीहरूविरुद्धको मुद्दा अदालतमा अहिले पनि विचाराधीन छन् । प्राधिकरण स्रोतले भने अख्तियारमा उजुरीकर्ताले साँच्चो उजुरी दिने गरे पनि शक्ति र पहुँच भएका उजुरीमा भने अख्तियारले समेत खासै चासो दिने गरेको छैन । गोप्य रूपमा दिइएका सबै उजुरीबारे विस्तृत रूपमा छानबिन नगरेको प्राधिकरणका एक अधिकारीले बताए । ‘अख्तियारले सबै उजुरीबारे छानबिन गर्दैन तर, जति छानबिन गरेर कारबाहीका लागि सिफारिस गरेको छ, त्यसको कार्यान्वयनले प्राधिकरणभित्रको अनियमितता कम गर्नका लागि भने सहयोग पुगेको छ ।’
पछिल्लो समयमा गुणस्तरहीन ट्रान्सफर्मरहरूबारे प्राधिकरणले छानबिन गरिरहेको छ । प्रहरीभित्रको सुडानभन्दा खतरा प्रकरण हुने संकेत देखिएको गुणस्तरहीन ट्रान्सफर्मर प्रकरणमा प्राधिकरणले अर्बौको घाटा बेहोर्नुपरेको छ । २०६४ सालपछि ल्याइएका पाँच हजारभन्दा बढी ट्रान्सफर्मरहरू गुणस्तरहीन देखिएकाले यसका ठूलो अनियमिताको आशंका गरिएको छ । अख्तियारले ट्रान्सफर्मरबारे सबै प्रतिवेदन र विवरणहरू मागिसकेको छ । प्राधिकरणका सञ्चालक समितिका सदस्य मोहनराज पन्तको संयोजकत्वमा रहेको उपसमितिले दिएको प्रतिवेदनको आधारमा त्यसमा संलग्न देखिएकासँग प्राधिकरणले स्पष्टीकरण प्रक्रिया अघि बढाएको छ । प्राधिकरणको विभागीय कारबाही शाखामार्फत स्पष्टीकरण, कारबाहीलगायत प्रक्रिया अघि बढाउनुपर्ने भए पनि त्यसलाई बेवास्ता गरिएको प्राधिकरण स्रोतले जनाएको छ ।
अख्तियारलाई बुझाएन फाइल

काठमाडौं : गुणस्तरहीन ट्रान्सफर्मरबारे छानबिन गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६४ सालपछिका सबै ट्रान्सफर्मरको अवस्था, ट्रान्सफर्मरबारे प्राधिकरणले गरेका छानबिन र प्रतिवेदन मगाए पनि प्राधिकरणले अझै दिएको छैन ।
गत २ असोजमा तीन दिनभित्र कुनकुन ट्रान्सफर्मर जले, कहाँ–कहाँ जडान गरिएका छन्, कति जडान गर्न बाँकी छन् भन्ने विवरणका साथै ट्रान्सफर्मरबारेका प्रतिवेदनहरू मागिएको छ । तर, प्राधिकरणले बुझाइसक्नुपर्ने मिति सकिएको १० दिन बितिसक्दा पनि सबै फाइल अख्तियारलाई बुझाएको छैन । अख्तियारले ताकेता भने गरिरहेको छ । ‘हामीले प्राधिकरणसँग फाइल मगाइरहेका छौँ, पाएपछि पनि पुन: फेरि फाइल मगाइरहेका छौँ,’ अख्तियार प्रवक्ता ईश्वरी पौडेलले भने, ‘ट्रान्सफर्मरहरूको छानबिन सुरु गरेकाले आवश्यकताअनुसार नै मगाउने कार्य भइरहेको छ, यो छानबिनका लागि जारी रहन्छ ।’
पहिला गुणस्तरयुक्त अहिले गुणस्तरहीन

काठमाडौं : प्राधिकरणका सञ्चालक डा. केपी दुलालको प्रतिवेदनले २०६६ सालमा खरिद गरिएका भारतको एसभिआर कम्पनीबाट ल्याइएका ट्रान्सफर्मरहरू गुणस्तरहीन देखाएको छ । तर, तिनै ट्रान्सफर्मर प्राधिकरणका कर्मचारीहरूले गुणस्तरयुक्त देखाएको रहस्य खुलेको छ । २०६६ सालमा एसभिआरबाट खरिद गरेका ट्रान्सफर्मरहरू गुणस्तरहीन भएको उजुरी अख्तियारमा परेपछि अहिले प्राधिकरणको ठूला विद्युत् उत्पादन विभागका प्रमुख रहेका हितेन्द्रदेव शाक्यको संयोजकत्वमा गठित समितिले सबै ट्रान्सफर्मरहरू गुणस्तरयुक्त भएको जवाफ पठाएको थियो । तर, पछि दुलाल प्रतिवेदनले भने ती सबै गुणस्तरहीन भएको प्रतिवेदन दिएको थियो । पछिल्लो समयमा प्राधिकरणले कर्मचारीको संलग्नताबारे छानबिन गर्न सञ्चालक मोहनराज पन्तको संयोजकत्वमा गठन गरेको उपसमितिको उनै शाक्य सदस्य–सचिव थिए तर, बिरामीको कारण देखाउँदै प्रतिवेदनमा भने उनको हस्ताक्षर छैन । (सौस)

प्रतिक्रिया