‘सुँगुर मार्नेलाई आधा मासु पुरस्कार’

उदयपुर, १५ असोज । अन्य ठाउँमा सार्वजनिक स्थानमा भेटिएका सुँगुर मारे सजाय हुन सक्छ तर उदयपुर घुर्मीबजारमा भेटिएका सुँगुर मार्नेले पुरस्कार पाउँदै आएका छन् । विगत एक वर्षदेखि स्थानीय बासिन्दाले सुँगुर मार्नेलाई पुरस्कारबापत मारेको सुँगुरको आधा मासु दिँदै आएका छन् ।

छाडा छोडिएको सुँगुर, बंगुरको मलमूत्रले बजारक्षेत्रमा दुर्गन्ध फैलिएपछि व्यापारी र बासिन्दाले सुँगुर नियन्त्रणका लागि यस्तो नियम लगाएका हुन् । ‘पटक–पटक आफूले पालेको सुँगुर, बंगुर खोरबाहिर नछाड्न आग्रह गर्दासमेत बेवास्ता गरेपछि सबैको सहमतिबाट यस्तो नियम लगाउन हामी बाध्य भयौँ,’ घुर्मीबजार व्यवस्थापन तथा सुधार समितिका अध्यक्ष भीमबहादुर मगरले भने । यस्तो व्यवस्था गरिएपछि सहर सफा हँुदै गएको अध्यक्ष मगरको भनाइ छ । ‘छाडा छाडिएका सुँगुर मार्ने अभियानले धेरै हदसम्म सुधार आएको उनको दाबी छ, अहिले बजारमा छाडा पशु–चौपाया कम मात्रैमा देखिने गर्छ,’ उनले भने, ‘अभियान चलाएपछि बजार, सार्वजनिक स्थल निकै सफा देखिन्छ ।’ सँुगुर मारेर ल्याउने व्यक्तिले मारेको सुँगुरको आधा मासु पाउने गरेको छ । बाँकी मासु व्यवस्थापन समितिको भागमा पर्ने गरेको छ । समितिले आफ्नो भागको मासु बिक्री गरेर आएको रकम कोषमा जम्मा गर्ने गरेको अध्यक्ष मगरले बताए ।
छाडा छोडिएका सुँगुर मार्न स्थानीयको होडबाजी नै चल्ने गरेको अध्यक्ष मगरले बताए । ‘पुरस्कारबापत मासु नै पाउने भएपछि छाडा छोडिएका सुँगुर मार्न स्थानीयको होडबाजी नै चल्ने गर्छ तर नियमदेखि डराएर पालकहरूले सुँगुर नै छाड्दैनन्,’ उनले भने, ‘सुरुसुरुमा नियमलाई बेवास्ता गर्दै कसैले छाडा पनि छाडे तर एक–दुईवटा मार्नासाथै पालकहरू आफै सतर्क भए ।’ कारबाहीबाट जम्मा भएको कोषको रकमले बजार सरसफाइ र कल्याणकारी काममा खर्च गरिँदै आएको उनले बताए ।
जम्मा भएको रकमबाट यो वर्ष बजारछेउमा ढल, नाला र केही संरचना निर्माण गर्ने तयारीमा रहेको उनले जानकारी दिए । घुर्मीबजारलाई सरसफाइयुक्त राख्न नेपाल रेडक्रस सोसाइटी, जिल्ला विकास समिति, केयर नेपाल, युनिसेफ, गाविसलगायतका सरकारी तथा गैरसरकारी संस्थाहरूले सहयोग पुर्‍याउँदै आएका छन् । यी संस्थाहरूकै सक्रियतामा लेखानी गाविसलाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्नुअघि नै घुर्मीबजारका २ सय ५० घरपरिवारले शौचालय निर्माण गरिसकेका छन् । उनीहरूलाई शौचालय बनाउनको लागि आर्थिक सहयोग पनि गरिएको रेडक्रस उदयपुरका सभापति विनोद बस्नेतले बताए । ‘हामीले सरसफाइ र खानेपानीको कार्यक्रम सुरु गरेपछि घुर्मीबजारले रूप फेरेको छ,’ उनले भने, ‘पहिले बजारमा जथाभावी मलमूत्र त्याग गर्नेको ताँती लाग्ने गथ्र्यो तर अहिले सार्वजनिक र निजी शौचालय घरैपिच्छे बनेका छन् ।’

प्रतिक्रिया