निर्जीवन बिमा कम्पनीको नाफा ७२ करोड

काठमाडौं, १४ असोज । निर्जीवन बिमा कम्पनीहरूले आर्थिक वर्ष ०६८/६९ मा ७२ करोड ८६ लाख रुपियाँ खुद नाफा आर्जन गरेका छन् ।
यो कुल बिमा शुल्कको ११ प्रतिशत हो । निर्जीवन बिमा कम्पनीले गत आवमा बीमाशुल्कबाट ६ अर्ब ७३ करोड रुपियाँ आर्जन गरेका थिए । कम्पनीले गरेको नाफा प्रचारप्रसार, अभिकर्ता कमिसन, व्यापार प्रवद्र्धन, कर्मचारी तलब, बोनसलगायत व्यवस्थापनसँग सम्बद्ध सबै खर्च कटाएर भएको हो ।
गत आथिर्क वर्षमा सबैभन्दा बढी नाफा गर्ने निर्जीवन बिमा कम्पनीमा सगरमाथा इन्स्योरेन्स रहेको छ । सो कम्पनीको नाफा कुल बिमाशुल्कको २० प्रतिशतभन्दा बढी छ । कम्पनीले गत आवमा ६४ करोड १९ लाख रुपियाँ बिमाशुल्क आर्जन गरेको थियो । कम्पनीको नाफा भने १३ करोड १७ लाख रहेको छ ।
प्रतिशतका हिसाबले सबैभन्दा कम नाफा हिमालयन जनरल इन्स्योरेन्सको रहेको छ । सो कम्पनीले कुल बिमाशुल्कको ६ दशमलव २१ प्रतिशत नाफा गरेको छ । कम्पनीले गत आवमा बिमाशुल्कबाट ५९ करोड ५१ लाख रुपियाँ आर्जन गरेको थियो । दाबी रकममध्ये पुन:बिमा कम्पनीबाट कम्पनीले ३२ प्रतिशत दाबीको भुक्तानी लिएको पनि समितिको विवरणमा उल्लेख छ । हिमालयनको व्यवस्थापन खर्च ८ दशमलव २१ प्रतिशत रहेको छ ।
दि ओरेन्टल इन्स्योरेन्स कम्पनीको व्यवस्थापन खर्च आर्जन गरेको कुल बिमाशुल्कको १ दशमलव ३७ प्रतिशत मात्र रहेको छ । यो भारतीय बिमा कम्पनी हो र नेपालमा यसले शाखामार्फत कारोबार गरिरहेको छ । यस कम्पनीले गत आवमा कुल बिमाशुल्क ४५ करोड ४३ लाख आर्जन गरेको थियो । कम्पनीको नाफा भने कुल बिमाशुल्कको करिब २० प्रतिशत रहेको छ ।
हवाई बिमा गर्ने कम्पनीको नाफा भने बिमाशुल्कको कम प्रतिशत देखिएको छ । नेपालमा सातओटा कम्पनीले हवाई बिमा गर्दै आएका छन् । तीमध्ये ओरेन्टल र नेसनल इन्स्योरेन्स भारतीय बिमा कम्पनीका शाखा मात्र हुन् । हवाई बिमा गर्ने नेपाली कम्पनीमा शिखर, एभरेस्ट, हिमालयन, नेको र एनएलजी रहेका छन् । हवाई बिमा कम्पनीले आर्जन गरेको बिमाशुल्क बढी भए पनि दाबी बढी पर्ने गरेका कारण नाफा कम हुने गरेको कम्पनीले बताए ।
बिमा समितिको तथ्यांकमा एनबी इन्स्योरेन्स र राष्ट्रिय बिमा समितिको तथ्यांक उपलब्ध छैन । तथ्यांकअनुसार निर्जीवन बिमा कम्पनीको नाफा गत दुई वर्षयता वृद्धि हुँदै गएको छ । आव ०६७/६८ मा ती कम्पनीको नाफा अघिल्लो आवको तुलनामा १६ प्रतिशतले बढेकामा गत आवमा आव ०६७/६८ को तुलनामा ३३ प्रतिशतले बढेको हो । तथ्यांकअनुसार आव ०६७/६८ मा ५४ करोड ७५ लाख रुपियाँ, ०६८/६९ मा ७२ करोड ८६ लाख रुपियाँ खुद मुनाफा गरेका छन् ।

प्रतिक्रिया